प्रदेश सभा २ का ५ मर्यादापालकलाई कोरोना सङ्क्रमण

 जेठ २२, २०७७ बिहिबार १९:२:५४ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – प्रदेश नम्बर २ काे प्रदेश सभाका मर्यादापालक र एक जना राज्यमन्त्रीका सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश सभाको चौथो अधिवेशन अन्तर्गत बुधबारदेखि सुरु भएको संसदमा खटिएका पाँच जना मर्यादापालकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश सभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाण्डाैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणमा पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएको हो ।

बिहीबार आएको परीक्षण रिपोर्ट अनुसार प्रदेश २ काे सप्तरीमा १२, धनुषामा ६, महोत्तरीमा तीन, सर्लाहीमा तीन, रौतहटमा ६५, बारामा १२ र पर्सामा एक जना सङ्क्रमित थपिएका हुन् । 

योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या नाै सय ६१ पुगेको छ । काेराेना सङ्क्रमित हुनेमा नेपाल प्रहरीका कर्मचारी रहेकाे धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयाे । सङ्क्रमित पाँचै जना मर्यादापालकलाई आइसोलेशनमा राखिएको उहाँले बताउनुभयाे ।

बुधबारदेखि सुरु भएको प्रदेश सभाको चौथो अधिवेशन बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब सङ्कलन गरिएको थियो । प्रदेश सभाका मर्यादापालकमा कोरोना पुष्टि भएपछि प्रदेशसभा बैठक भोलि १ बजेसम्मकाे लागि स्थगित भएको छ ।

प्रदेश २ अन्तर्गत अहिलेसम्म सप्तरीमा ६९, सिरहामा ४७, धनुषामा ८८, महोत्तरीमा ४३, सर्लाहीमा एक सय ४९, रौतहटमा तीन सय ८४, बारामा ६७ र पर्सामा एक सय १५ जनामा कोरोना पुष्टि भइसकेकाे छ । 

 

अन्तिम अपडेट: चैत १२, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया