धेरै समय मोबाइल चलाउँदा मानसिक समस्या हुन सक्छ

 जेठ ३१, २०७७ शनिबार १७:२९:४९ | डा‍. कपिलदेव उपाध्याय
unn.prixa.net

काठमाण्डौ - लकडाउनको समयमा सबै मानिस घरभित्रै हुँदा महिला, पुरुष, किशोरकिशोरी र बालबालिकासहित सबैलार्ई यसले असर गरेको छ । यस अवधिमा आत्महत्यादेखि महिला हिंसाका घटना पनि उत्तिकै भइरहेका छन् । हामीलाई फोन गरेर परामर्श लिनेहरुमध्ये धेरै महिला नै छन् । 

उनीहरुलाई  निन्द्रा नपर्ने, श्रीमानसँग झगडा पर्दा चिन्ता थपिएको, र पहिलेदेखि यस्तो समस्यामा रहेका महिलालाई समस्या झनै बढ्दै गएको पाइएको छ । 
हामीलाई किशोरकिशोरीले भने मानसिक समस्याबारे फोन गरेर बताएका छैनन् । तर यस्तो बेला मानसिक चिन्ताबाट किशोरकिशोरी पनि अछुतो छैनन् । 

किशोरकिशोरीका समस्या 

किशोरकिशोरीलाई पनि यस्तो बेला मानसिक समस्या देखा पर्छ । १७/१८ वर्षसम्मका किशोरकिशोरीलाई साथीहरुसँग भेटघाट गर्ने, घुम्न जाने, विद्यालय जाने रुचि बढी हुन्छ । यस्तो समयमा रुचिअनुसारको काम गर्न पाएका छैनन् उनीहरुले । घरभित्र बस्दा बस्दा दिक्क भएका छन् । जसले गर्दा उनीहरुमा छटपटी बढ्दै गएको छ । 

त्योभन्दा कम उमेरका बालबालिका स्कुलमा बढी रमाउँथे । लकडाउनमा घरमै हुँदा उनीहरु पनि निराश बनेका छन् । अभिभावकलाई पनि लकडाउनले गर्दा चिन्ता भइरहेको छ । यस्तो अवस्थामा बच्चा अलिकति चल्यो, भनेको मानेन, आफूखुसी गर्यो, समयमा सुतेन वा उठेन भने अभिभावकले बढी नियन्त्रण गर्न खोज्छन् । आफूलाई नियन्त्रण गरेको बच्चाहरुलाई मन पर्दैन । त्यसैले बच्चाहरुलाई भित्र भित्र रिस उठ्छ । जसले गर्दा उनीहरुलाई डिप्रेसन हुने गर्छ ।

के गर्न सकिन्छ ?

बालबालिकामा विभिन्न प्रतिभा हुन्छन् । कसैलार्ई कथा कविता लेख्ने मन होला । कसैलाई ‘आर्ट’ गर्ने मन होला । कसैलाई ‘डान्स’ सिक्न त कसैलाई बाद्यवादनमा मन लागेको हुन सक्छ । यी सबै प्रतिभाको प्रस्फुटन घरमै, कोठामै गर्न सकिन्छ ।

यसमा अभिभावकले ध्यान दिनुपर्छ । मेरो बच्चाका लागि मैले के सिकाउन सक्छु भन्ने सोच्नुपर्छ । यस्तो बेला अभिभावकहरुले पनि प्रेमपूर्वक काम गर्नुपर्छ । झगडा नहुने वातावरण बनाउनेतर्फ उनीहरु लाग्नुपर्छ । जसले गर्दा बच्चाहरुलाई फाइदा हुन्छ । 

आमाबुवाको झगडाले बच्चामा मानसिक असर पर्छ । मेरो कामले मलाई, परिवार र बच्चालाई फाइदा हुन्छ कि हुँदैन भन्नेबारे आमाबुवाले सोच्नुपर्छ ।  
अभिभावक मात्र होइन, हामी सबैले कुनै काम गर्दा आफैँले आफैँलाई प्रश्न गर्नुपर्छ । मैले कुन काम गर्दा उपयुक्त हुन्छ ? मैले गरेको काम सही हो त ? हामीले यस्तो सोचेर काम गर्यो भने सबैको लागि फाइदा हुन्छ ।

मोबाइल धेरै चलाउनु हुँदैन 

लकडाउनमा केटाकेटीले बढी समय मोबाइलमा बिताउने गरेको पाइन्छ । जसले गर्दा निन्द्रा नलाग्ने हुन सक्छ । फेसबुक र युट्युबले बानी नराम्रो पार्न सक्छ ।
किशोरकिशोरीले हेर्न नहुने खालका भिडिओ युट्युबमा धेरैै पाइन्छ । जसले उनीहरुलाई बेफाइदा गर्छ । धेरै मोबाइल चलाउने र ठूलो आवाजमा सुन्दा कानलाई असर पर्ने हुन्छ । १५/१६ वर्षको उमेर भएका केटाकेटीले मोबाइल धेरै हेर्न हुँदैन । 

के गर्न हुँदैन ? 

ल्यापटपलाई काखमा राखेर चलाउनु हुँदैन । सुत्ने बेला मोबाइल नजिक राख्नु हुँदैन । लामो समयसम्म मोबाइल हेर्दा आँखालाई असर पार्छ । 
हामीले गर्ने ससाना कुरा र व्यवहारले पनि मानसिक असर गर्छ । निन्द्रा सधैँको लागि बिग्रन्छ । यसले जस्तोसुकै उमेरका मानिसलाई पनि जोखिममा पार्छ ।

हाम्रो शरीरको घडी

हाम्रो शरीरमा जैविक घडी हुन्छ । त्यो घडीको चक्रसँगै सुताइ, उठाइ र खवाइ मिलाएनौँ भने हामी स्वस्थ हुँदैनौँ । मानव शरीरमा हुने आन्तरिक समय प्रणाली वा घडीलाई ‘सरकेडियन साइकल’ भनिन्छ ।

अहिलेको यो अति महत्त्वाकाङ्क्षी युगमा कम समयमा धेरै इच्छा पूरा गर्न भ्याउनुपर्ने भएकोले मानिसको मस्तिष्कले धेरै भार खेप्नु परेको छ । अझ सामाजिक सञ्जालमा निरन्तर आँखा दौडाउने बानीले हाम्रो मन र मस्तिष्कलाई डामाडोल बनाएको छ । 

मनको विक्षिप्तता, अतिशय तनाब, राति ढिलो सुत्ने या सुत्नुअघि टिभी र इन्टरनेटमा समय बिताउने गर्नाले हाम्रो आन्तरिक जैविक घडीलाई खलबल्याएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

डा‍. कपिलदेव उपाध्याय

डा‍. कपिलदेव उपाध्याय मनाेचिकित्सक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया