प्रदेश २ सरकारले ल्यायाे ३३ अर्ब ५६ करोडको बजेट, के–के छन् प्राथमिकतामा ?

 असार १, २०७७ सोमबार २०:१५:५४ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ३३ अर्ब ५६ करोड नौ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा प्रस्तु गरेको वार्षिक आय विवरणमा चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् कुल बजेटको ४५ दशमलव ९५ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् कुल बजेटको ५३ दशमलव ६७ प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात् शून्य दशमलव ४८ प्रतिशत विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा निर्माण गर्न ४५ करोड ५३ लाख, क्यान्सर अस्पताल, ट्रमा सेन्टर र सरुवा रोग तथा महामारी अस्पतालको लागि क्रमशः दुई, दुई र एक करोड, अस्पताल स्तरोन्नति र विकासतर्फ सप्तरीको भारदह अस्पताललाई ६ करोड ७९ लाख र पर्साको पोखरिया अस्पताललाई चार करोड चार लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद, पहिचान, उपचार, स्वास्थ्यकर्मीको व्यक्तिगत उपकरणको लागि ७० करोड २७ लाख, सर्पदंश उपचारको लागि एन्टिभेनम उत्पादन गर्न, अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न पाँच करोड ५४ लाख रुपैयाँ छुटयाइएको छ ।

गएको वर्षको उपभोक्ता समितिको बाँकी भुक्तानीको लागि भविष्यमा नजिर नबस्ने गरी पहिलो पटकको लागि ८६ करोड ५० लाख, प्रदेशका आठवटै जिल्लामा सडक निर्माणको लािग ६४ करोड ६७ लाख, मधेशी शहिद राजमार्गको डीपीआरको लागि तीन करोड, गढीमाई र सिमरौनगढ पर्यटकीय विकास कार्यक्रमको लागि एक करोड ५० लाख, प्रदेश सरकारको कार्यक्रम बेटी बचाउ बेटी पढाउ कार्यक्रमको निरन्रता दिँदै ५४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पारिवारिक विवरण राख्ने फ्यामिली फोल्डर निर्माणको लािग एक करोड २० लाख, उद्धार तथा पुनर्उत्थानको लागि जिल्लागत रुपमा विपद् व्यवस्थापनमार्फत कार्यान्वयन हुने गरी पाँच करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी कृषितर्फ कृषि ऋणको ब्याजमा सहुलियत उपलब्ध गराउन दुई करोड, प्रदेश प्रमुख रोजगार कार्यक्रमको लागि आठ करोड, नवप्रवद्र्धन कृषि रोजगार तथा व्यवसाय प्रवद्र्धन कार्यक्रमको लागि १२ करोड, शीत भण्डार निर्माणको लागि २० करोड, कृषि उपज ढुवानीको लागि वाहन खरिद गर्न दुई करोड २५ लाख, डीप ट्युबेल जडान सहयोग कार्यक्रमको लागि तीन करोड २० लाख, दूध सङ्कलन तथा चिस्यान स्थापनाको लािग एक करोड, दूध मसिन खरिदको लागि पाँच करोड, प्रादेशिक एकीकृत कृषि प्रयोगशाला स्थापना गर्न पाँच करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।  

बजेट प्रस्तुत गर्दै मन्त्री यादवले वैश्विक महामारी कोरोना भाइरस र कृषि उत्पादन तथा उत्पादकत्वलाई प्राथमिकतामा राख्दै अन्य विकास कार्यक्रमलाई समेट्ने गरी विनियोजन गरिएको बताउनुभयो ।

बजेटमा स्वास्थ्य सेवा बाहेक कृषि, शिक्षा र रोजगारीसहित नागरिकको स्वास्थ्य सुरक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार र जनशक्ति विकासमा प्रदेश सरकारले जोड दिँदै बजेट विनियोन गरेको समेत उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया