प्रिमियर लिगमा लिभरपुल उपाधि नजिक

 असार ११, २०७७ बिहिबार ६:४९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुल क्रिस्टल प्यालेसमाथि ४ –० को जितसँगै उपाधि नजिक पुगेको छ ।

बुधबार राति घरेलु मैदान एनफिल्डमा लिभरपुलले खेलको सुरुवातदेखि नै प्यालेसमाथि दबाब बनाएको थियो । जसमा उसले २३ औं मिनेटमा नै अग्रता लियो । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । मिडफिल्डर फाबिन्होको पासमा मोहमद सलाहले गोल गरे । यो सिजनमा सलाहको घरेलु मैदानमा १५ औं गोल हो ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५५ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अन्तर तीन शून्यमा पुर्याए ।

६९ औं मिनेटमा लिभरपुलले चौथो गोल थप्यो । यसपटक सलाहले दिएको पासमा मानेले वन भर्सेस वनको स्थितिमा गोल गरे ।

जितपछि लिभरपुल उपाधिको निकै नजिक पुगेको छ । लिभरपुलले अर्को खेल म्यानचेस्टर सिटीसँग खेल्नेछ । त्यसअघि सिटीले चेल्सीको सामना गर्नेछ । सिटीले त्यो खेल हारेमा लिभरपुल च्याम्पियन बन्नेछ ।

अंक तालिकामा लिभरपुलले ३१ खेलमा ८६ अंक जोडेको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया