काठमाण्डौमा कोरोनाको जोखिम बढ्दै गएपछि आवतजावतमा कडाइ

 असार २४, २०७७ बुधबार ७:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ गरेको छ ।

मास्क नलगाउने, मोटरसाइकलमा दुईजना चढ्ने, जोरबिजोर नियम उल्लंघन गर्ने तथा पासको दुरुपयोग गर्नेलाई प्रहरीले निगरानी गर्न थालेको छ । पासको दुरुपयोग गर्नेहरु हरेक दिन १५ सयदेखि २ हजारसम्म कारबाहीमा परिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

अस्पताल जानुपर्ने लगायत अति आवश्यक काममा निस्किएकाहरुलाई भने आवश्यकता अनुसार छाडिएको उहाँले बताउनुभयो । घरबाट बाहिर निस्कँदा मास्क नलगाउनेहरु पनि कारबाहीमा पर्न थालेका छन् । हिजो मात्रै मास्क नलगाई हिँड्ने १२ सय भन्दा धेरै व्यक्तिलाई सम्झाएर छाडिएको प्रहरीले जनाएको छ ।

अबको केही दिन मास्क लगाउन सम्झाईबुझाईको काम गर्ने र अटेरी बढ्दै गए उनीहरुलाई पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ  । कसैले मास्क नलगाई हिँडेको छ भने उसलाई सङ्क्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्न सकिने प्रहरीको भनाई छ । नियम उल्लंघन गर्नेलाई सङ्क्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार एक महिनासम्म कैद अथवा एक सय रुपैयाँ जरिवानाको सजाय हुन सक्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया