जोखिमकै बीचमा युवा विदेश जान तयार, देशभित्र रोजगारी नपाउँदा वैदेशिक राेजगारीमा आकर्षित

 असार २४, २०७७ बुधबार १६:३०:२२ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – लकडाउन हुनुभन्दा अघि नै मलेसियाबाट बिदामा घर आएका धादिङका रमेश कार्कीले चार महिनासम्म स्वदेशमै काम खोज्नुभयो । तर लकडाउनले धेरैको रोजगारी गुमेको बेला उहाँले खोजेजस्तो काम पाउन सक्नु भएन । त्यसपछि सरकारले खोल्नासाथ उहाँले  मलेसिया जान पुनः श्रम स्वीकृति लिनुभएको छ । 

मलेसियाको रोजगारी गुम्छ कि भन्ने चिन्तामा पर्नुभएका रमेशलाई पुनः श्रम स्वीकृतिको स्टिकर पाएसँगै यो डर सकिएको छ । यो महामारीका बेलामा कोरोनाको डर र जोखिम त संसारभरी नै छ । तर उहाँलाई त्यसको वास्तै छैन । कम्पनीले बोलाइरहेको छ । मलेसिया पुगेपछि काम निश्चित छ । मासिक आम्दानी पनि हुन्छ । रमेश प्रश्न गर्दै भन्नुहुन्छ, ‘यहाँ न काम छ न कमाई किन बस्नु ?’ 

मलेसियाबाट बिदामा घर फर्कनुभएको थियो रमेश । कम्पनीले दिएको बिदा सकिनै लाग्दा कोरोनाको जोखिम बढ्यो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्‍यो । देशमा लकडाउन भयो । उहाँ मलेसिया फर्कन पाउनुभएन । 

बिदामा आएका रमेश लकडाउनमा घरभित्रै बन्द हुँदा उता मलेसियामा काम चलि नै रहयो । 

मलेसियाका पाहाङ राज्यमा सुपरमार्केमा काम गर्नुहुन्छ रमेश । कमाइ महिनाको ६० हजार रुपैयाँ छ । बिदामा फर्किएकाले दुई महिनाको तलब त कम्पनीबाट लिनै बाँकी छ । 

‘यहाँ अहिले काम पाइँदैन, उता त गएपछि काम र कमाइ पक्का छ, किन बस्नु त यहाँ ?’ रमेश कोरोना महामारीकै बीचमा परदेश जान खोज्नुको कारण बताउनुहुन्छ । 

रमेशले जस्तै गुल्मीका मणी ज्ञवालीले पनि पुनः श्रम स्वीकृति खुलेपछि यूएई जाने प्रक्रिया थाल्नुभएको छ । मार्च २ तारिखमा बिदामा घर आउनुभएका मणी कोरोना महामारीका कारण बिदा सकिएपछि फर्कन पाउनुभएन । 

उहाँ घरमै रोकिंदा पनि उता यूएईमा भने उहाँको काम रोकिएन । सुपरमार्केटमा काम गर्ने मणीको कम्पनी चलिरहेकै छ । झण्डै चार वर्षदेखि त्यही कम्पनीमा कार्यरत उहाँलाई सेवासुविधा र तलब पनि राम्रो दिएको छ । यहाँ यतिका महिना बस्दा पनि स्वदेशमै के काम गर्ने भनेर उहाँले मेसो पाउनुभएको छैन । उडान बन्दा हुँदा परदेशबाट कम्पनीले बोलाउँदा पनि जान पाइएन भन्नुहुन्छ मणी । 

सरकारले पुनः श्रम स्वीकृति खोलेको चार दिनको अवधिमा मणी र रमेशजस्तै एक हजार ७९ जनाले विदेश जानका लागि पुन : श्रम स्वीकृति लिएका छन् । 

‘सबै साथीहरुले काम गरिरहेका छन्, कसैलाई पनि केही भएको छैन, मैले पनि गएपछि सुरक्षा सतर्कता अपनाएरै काम गर्ने हो’ मणी भन्नुहुन्छ, ‘हुँदाखाँदाको जागिर छाडेर यहाँ के गर्नु ? न काम पाइन्छ, न अन्य केही कमाइको बाटो नै छ ।’ 

मणीले यूएई जानको लागि प्रक्रिया थाल्नुभएको छ । त्यसका लागि कम्पनीसँग समन्वय पनि भइरहेको छ । उताको प्रक्रिया मिल्नासाथ मणी यूएई उड्ने योजनामा हुनुहुन्छ । 

यहाँ बेरोजगार बस्नुभन्दा सुरक्षा सतर्कता अपनाएर परदेश जान परिवारले पनि अनुमति दिएका छन् । ‘परीक्षण गरेरै जाने हो, उता पनि सुरक्षाका उपायहरु अपनाइन्छ, डर छैन’ मणी भन्नुहुन्छ ।

सरकारले पुनः श्रम स्वीकृति खोलेको चार दिनको अवधिमा मणी र रमेशजस्तै एक हजार ७९ जनाले विदेश जानका लागि पुन : श्रम स्वीकृति लिएका छन् । 

यूएईका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै रहेको वैदेशिक रोजगार कार्यालय ताहाचलको तथ्याँकले देखाउँछ । यूएई जानका लागि मंगलबारसम्ममा ५०३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यूएई पछि कतार जाने नेपालीको सङ्ख्या पनि धेरै नै रहेको छ । पछिल्ला चार दिनमा कतार जानका लागि १०५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । 

त्यसैगरी मलेसिया जानका लागि ८० जनाले पुन: श्रम स्वीकृति लिएका छन् भने कुवेत जानका लागि पनि श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै नै रहेको छ । ३३ जनाले कुवेत जानका लागि पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै बहराइन जान १७ जनाले,  ओमान जान १२ जनाले र माल्टा जानका लागि २९ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै जापान, कोरिया, युगाण्डा लगायत विभिन्न देशमा जानका लागि नेपालीले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । 

थप रोजगारी सृजना भएन, युवा वैदेशिक रोजगारीमै आकर्षित भए

विदेशमा कोरोना महामारीको चपेटामा परेर धेरै जना घर फर्कंदैछन् । २० हजारभन्दा बढी त फर्किसके । फर्कन टिकट समेत काट्न नसक्ने अवस्थामा पुगेका श्रमिकको उद्धारका लागि सरकार जुटिरहेका बेलामा फेरि कतिपय युवाहरु तिनै देश जान तयार छन् । यसले देशमा रोजगारीको अवसर र वातावरण अझै छैन भन्ने पुष्टि हुन्छ ।

महामारीका बेलामा सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर ल्याएका योजनाले आकर्षित नगरेको र पालिका स्तरमा नयाँ रोजगारी सृजना नभएको कारणले पनि युवाहरु वैदेशिक रोजगारीमै आकर्षित भएका आप्रवास विज्ञ डा. गणेश गुरुङ बताउनुहुन्छ । 

अहिले खाडीसहित विभिन्न देशबाट हजारौंको सङ्ख्यामा नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश आइरहेका छन् । टिकट काट्नै नसकेर अलपत्र परेकालाई उद्धार गर्न सरकारले कार्यविधि बनाइरहेको छ । यही जोखिमका बीच युवाहरु विदेश जान तयार भएका छन् ।

नेपालमा मात्र होइन, अहिले नेपाली जाने तयारी गरिरहेका यूएई, कतार, बहराइन, कुवेत लगायतका देशमा कोरोनाको जोखिम दिनहुँ बढिरहेको छ । सङ्क्रमितको सङ्ख्या पनि त्यसैगरी बढिरहेको छ । तर यो महामारीका बीचमा पनि युवाले वैदेशिक रोजगारी नै रोज्नुको कारण देशमा उनीहरुले अवसर नै नपाएको र पाउनेलाई पनि त्यसले बाँध्न नसकेको विज्ञ डा. गुरुङको भनाइ छ । 

टिकट काट्नै नसकेर अलपत्र परेकालाई उद्धार गर्न सरकारले कार्यविधि बनाइरहेको छ । यही जोखिमका बीच युवाहरु विदेश जान तयार भएका छन् ।

‘मानिसले त आफूलाई कहाँ फाइदा छ भनेर तुलना गर्छ नि, अहिले सरकारले जुन विकल्प दिएको थियो, त्योे विकल्पभन्दा उनीहरुलाई विदेश नै ठिक लाग्यो,’ डा. गुरुङ भन्नुहुन्छ, ‘जसले जे भने पनि अहिले प्रदेश, जिल्ला र पालिकास्तरमा युवालाई तान्ने गरी रोजगारी सृजना भएका छैनन्, अवस्था पहिलेकै जस्तो छ ।’

अहिले सार्वजनिक गाडीहरु नचल्दा, लकडाउनकै अवस्थामा हुँदा र सङ्क्रमणको जोखिम दिनहुँ बढिरहँदा पनि पछिल्ला चार दिनमा झण्डै ११ सयले पुनः श्रम स्वीकृति लिनुले अवस्था केही सहज भएमा या गाडीहरु चल्न थालेमा यो सङ्ख्या ह्वात्तै बढ्ने उहाँ बताउनुहुन्छ । युवाहरु कहिले खुल्छ र वैदेशिक रोजगारीमा फर्कौंला भनेर पर्खेर बसेका छन् ।

गन्तव्य देश पनि जोखिममा

खाडीका देश र मलेसियामा मात्रै झण्डै पाँच लाख भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउदी, कतार, यूएई, कुवेत र बहराइनमा त्यहाँ कार्यरत नेपालीमा पनि कोरोना सङ्क्रमण बढिरहेको गैरआवसीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँकले देखाउँछ । 

यी देशमा कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । संसारमा अरु देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि मध्यपूर्वका देशमा चिन्ता गर्नुपर्ने अवस्था रहेको एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटा बताउनुहुन्छ ।

कोरोनाको कारण ठप्पै भएका आर्थिक गतिविधि विस्तारै चलायमान गराउन मध्यपूर्वका देशले विभिन्न रणनीतिक योजना ल्याएका छन् । थोरै भए पनि खुल्न थालेका छन् । तर कोरोनाको प्रभाव घटेको छैन । धेरै देशहरु पर्ख र हेरकै अवस्थामा छन् । तेलको मूल्य घट्दा खाडीका देशको अर्थतन्त्र पनि घटेको छ । खाडी र इरानबीच रराजनीतिक हुण्डरी पनि चलिरहेको छ । 

अहिले पुनः श्रम स्वीकृति खोल्दा र भोलिका दिनमा यी विभिन्न कारणले जाने वातावरण नबन्दा पुनः श्रम स्वीकृति लिएका युवाले नै जुलुस निकाल्ने र जोखिमकै बीचमा व्यवसायिक उडान खोल्नुपर्ने दबाब सृजना हुनसक्ने विज्ञ डा. गुरुङ बताउनुहुन्छ । 

मंगलबारदेखि यूएई पर्यटकका लागि खुले पनि जोखिम उत्तिकै छ । खाडीका देश र मलेसियासहित विभिन्न देशमा अझै अन्तर्राष्ट्रिय उडानहरु खुलेका छैनन् । नेपालले पनि बन्दै गरेको छ । 

यही अवस्थामा सरकारले पुनः श्रम स्वीकृति खोल्नु र युवाहरुले जानका लागि खुट्टा उचाल्नु जोखिमयुक्त रहेको डा. गुरुङको भनाइ छ । अहिले पुनः श्रम स्वीकृति खोल्दा र भोलिका दिनमा यी विभिन्न कारणले जाने वातावरण नबन्दा पुनः श्रम स्वीकृति लिएका युवाले नै जुलुस निकाल्ने र जोखिमकै बीचमा व्यवसायिक उडान खोल्नुपर्ने दबाब सृजना हुनसक्ने विज्ञ डा. गुरुङ बताउनुहुन्छ । 

‘कोरोनाको कारण अवस्था देशमा मात्र होइन, विदेशमासमेत समान्य भएको छैन, यस्तो बेलामा भिडभाड गरेर कार्यालय खोलेर पुनः श्रम स्वीकृति किन दिएको हो भनेर मैले बुझेको छैन’ डा. गुरुङ भन्नुहुन्छ । 
यो बेलामा पुनः श्रम स्वीकृति खोल्दा पनि डिजिटल माध्यमबाट कार्यालयमा उपस्थित नभइ लिन सक्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया