स्वदेश फिर्ती : दूतावासको सूचीमा नाम आयो, जहाज चढ्ने पालो आएन

परदेशीले भन्छन् : 'जिउँदै मर्दै कति दिन तड्पनु यो खाडीमा'

 असार २६, २०७७ शुक्रबार १७:५२:४४ | सन्जिता देवकोटा

काठमाण्डौ – आफूले भनेजस्तै हुन्थ्यो भने सुदिपजंग अधिकारी यूएईमा एक दिन, एक छिन पनि बस्नु हुन्नथ्यो । तर भनेजस्तो भएन । जहाज चढ्ने पालो पर्खेर बसेको महिनौं भैसक्यो । कुर्ने पनि कहिलेसम्म ? सुदिप आफैं अलमलमा पर्नुभएको छ । 

सामान्य चलिरहेको जीवनमा एकाएक समस्या थपियो । सोच्दै नसोचेको रोगको डर भयो । भैरहेको कामको भर भएन । सरकारले बल्लबल्ल विदेशमा समस्यामा परेका नेपालीलाई लिनका लागि जहाज पठाउन थाल्यो, तर पालो कहिले आउनु ? कुर्दाकुर्दै सुदिपको बेहाल हुन थालेको छ । 

‘दूतावासमा नाम दर्ता गराएको हुँ, प्राथमिकताको सूचीमा नाम पनि छ, तर जहाजमा पालो नै नआउने रहेछ, कहिले फर्कनु घर ?’ उहाँ प्रश्न गर्दै भन्नुहुन्छ, ‘कम्पनीले टिकट दिएरै पठाउँछु भनेको थियो तर टिकट नै पाइंदैन भन्छ कम्पनी, मे के गरौं ?’

समस्या एक मात्र छैन । ६ महिना पुग्न लाग्यो उहाँ कोठामा थुनिएको । काम छैन । बिहान बेलुका खानलाई धौधौ छ । उहाँ भन्नुहुन्छ, ‘परदेशीले पेट कसरी भरेका छन् भन्ने सरकारलाई के थाहा ?’

पासपोर्टमा भिसा छैन । कम्पनीसँगको करार पनि सकियो । अब खाडीमा के आधारमा बस्ने । ‘जतिसक्दो छिटो हामीलाई लैजाउ न सरकार, जिउँदै मर्दै कति दिन तड्पनु यो खाडीमा !’ सुदिप दुखेसो पोख्नुहुन्छ । 

सुदिपको भनाइ सरकारले सित्तैमा उद्धार गर्नुपर्छ भन्ने पनि होइन । तर जो समस्यामा छन्, जो फर्कनै पर्ने अवस्थामा छन्, उनीहरुको उद्धारका लागि पर्याप्त जहाज आउन् । अब पनि घर फर्कन पट्यारलाग्दो दिन कुर्न नपरोस् । 

‘समस्या छ थाहा छ, तर पनि सरकारले थोरै सङ्ख्यामा मात्रै लगिरहेको छ । राम्रो हुने, समस्या नहुने त किन फर्कन्छन् र यस्तो बेलामा ?’ सुदिप प्रश्न गर्नुहुन्छ, ‘झन् अब त त्यही उडान पनि रोक्ने रे, किन होला सरकार ?’
 झण्डै एक महिनादेखि नियमितजसो चार्टर्ड जहाज हुँदा त पालो नआएपछि अब झन सरकारले असार २८ पछि उद्धार उडान रोक्ने भन्ने खबरले सुदिपजस्ता धेरैलाई परदेशमा छटपटी थपेको छ । 

समस्या एक मात्र छैन । ६ महिना पुग्न लाग्यो उहाँ कोठामा थुनिएको । काम छैन । बिहान बेलुका खानलाई धौधौ छ । उहाँ भन्नुहुन्छ, ‘परदेशीले पेट कसरी भरेका छन् भन्ने सरकारलाई के थाहा ?’

यूएईमै कार्यरत झापा बिर्तामोडका जीवन न्यौपानेको पनि काम बन्द भएको लामो समय भयो । होटल क्षेत्रमा काम गर्ने भएकाले पनि सबैभन्दा पहिला नै कोरोनाको असर यही क्षेत्रमा पर्‍यो । हुन त यूएई पर्यटकका लागि खुल्ला भएको छ । तर तारे होटलहरु नै बन्द रहेका छन् । उहाँले काम गर्ने होटल पनि खुल्छ, खुल्दैन ठेगान छैन । 

कम्पनीले उहाँलाई लामो समयको बेतलबी बिदा दिएको छ । काम छैन । कमाइ पनि छैन । परदेशमै बस्न अवस्था सामान्य छैन । तर घर फर्कन पनि सजिलो छैन । जहाज जान्छन् । नेपाली लिएर फर्कन्छन् । तर त्यसैगरी आफ्नो फर्कने दिन एक महिनामा पनि नआउँदा जीवन कुर्दाकुर्दै गल्नुभएको छ । 

‘उद्धार उडानले सबै समस्यामा पर्नेलाई ल्याउन सक्दैन, नियमित उडान गरिदिएको भए हामीलाई महंगो पनि पर्ने थिएन, यतिका समय कुर्न पनि पर्ने थिएन’ जीवन भन्नुहुन्छ, ‘महामारीका बेलामा समस्यामा नपर्नेहरु त पक्कै जागिर छाडेर घर फर्कने थिएनन्, सरकारले यो कुरा किन नबुझेको ?’

जीवनले काम गर्ने होटलले पनि टिकट महंगो भयो भनिरहेको छ । जीवनलाई लाग्छ, अझै. केही समय कुर्नुपर्ने हो र टिकट पनि यही अनुसारकै महंगो हुँदै गयो भने कम्पनीले दिन लागेको टिकट पनि काटिदिने छैन । 
कोरोनाको कारण रोजगारीबाट हात धुनु परेका, अन्य समस्या भएका, करार र भिसा सकिएका लगायत समस्या परेका हजारौं नेपाली परदेशमा स्वदेश फर्कने दिन कुरिरहेका छन् । यूएईमा मात्रै ३० हजार जतिले स्वदेश फर्कनका लागि दूतावासमा नाम लेखाएका छन् । 

यसरी उडान सङ्ख्या तोकेर महंगो चार्टर्ड उडान गर्नुभन्दा पनि स्वास्थ्यको मापदण्ड पुर्‍याएर नियमित उडान खोलिदिए समय नबित्दै घर फर्कन पाइन्थ्यो कि भन्नुहुन्छ, जीवन ।

महंगो भाडा तिर्छु भन्दा पनि पालो आएन

डम्बर थापा कतारमा बेरोजगार भएको तीन महिना भयो । खल्तीमा सुको छैन । उहाँकै शब्दमा भन्दा दुःख पर्‍यो भनेर गुनासो गर्ने एउटै विकल्प दूतावासको फोन उठ्दैन । कम्पनीले पनि वास्तै गदैन । जाने कहाँ ?
डम्बर भन्नुहुन्छ, ‘हामी परदेशीको आवाज कसले सुन्ला ? यो विदेशमा त कोही हुने रहेनछन् ।’

साँच्चै पीडामा परेका आफूजस्तै धेरै फर्कनुपर्ने जहाजले अरुलाई नै बोकेको देख्दा पलपल मन रोएको छ डम्बरको । तर बाध्यता अर्काको देशमा न कसैले आँसु देख्छन्, न त भोक  ।

डम्बरको बिन्ती छ, ‘जतिसक्दो छिटोे उद्धार गरिदिनु पर्‍यो, नत्र भोकभोकै मरिने भइयो ।’

साँच्चै पीडामा परेका आफूजस्तै धेरै फर्कनुपर्ने जहाजले अरुलाई नै बोकेको देख्दा पलपल मन रोएको छ डम्बरको । तर बाध्यता अर्काको देशमा न कसैले आँसु देख्छन्, न त भोक  ।

कतारमै कार्यरत एकवाल अन्सारी पनि बेरोजगार भएको पाँच महिना पुग्यो । मार्च महिनादेखि नै हातमा काम छैन । सुरुमा त जताततै कोरोनाको डर । न जहाज उड्थे, न कोही नेपाल फर्कन पाउँथे । उहाँले पनि चित्त बुझाउनुभयो । तर पछिल्लो समय उहाँलाई थप पीडा भएको छ । दूतावासले प्रकाशन गरेको सूचीमा घर फर्कने नाम आयो । तर घर फर्कने दिन भने आजका दिनसम्म आएन ।

कहिले दूतावासको फोन लाग्दैन । फोन लागेको बेलामा दूतावासले पालो आउँछ भन्ने गरेको छ । सरकारले उद्धारका लागि भनेर जहाज पठाउन थालेको पनि एक महिना भयो । तर पालो कहिले आउला त ? एकवाल आफैं अन्यौलमा पर्नुभएको छ । 

‘दिनहुँ जहाज गइरहेका छन्, त्यसमा मानिसहरु फर्किरहेका छन्, तर साँच्चै जो पीडित हुन्, उनीहरु त्यति महंगोभाडा तिर्छु भन्दा पनि फर्कन पाएनन्,’ एकवालको गुनासो छ, ‘सरकारले तोकेजति पैसा तिरेर जान्छु भन्दा पनि पालो आएन, हामीले कहिलेसम्म कुर्नुपर्ने हो ?

मलेसियामा कार्यरत भिष्म न्यौपाने पनि काम बिहीन भएको चार महिना भयो । कमाउँला र जमाउँला भनेर परदेश गएका भिष्मलाई कोरोनाले नराम्रो असर गर्‍यो । घर फर्कन खोज्दा पनि पाउनुभएको छैन । उहाँले गर्नुपर्ने जति प्रक्रिया गरिसक्नुभएको छ । दूतावासमा आफ्नो विवरण भर्नुभएको छ । दूतावासले उहाँलाई घर फर्कनेको सूचीमा पनि राखेको छ । तर समस्या, टिकट काट्न पाउनुभएको छैन । 

‘समस्या छ, समस्या अनुसार दूतावासले प्राथमिकतामा पनि राखेको छ, तर घर फर्कन टिकट पाइँदैन, पालो नै आउँदैन, यहीबेलामा सरकारले किन उडानहरु रोक्न लागेको होला,’ सरकारले उडान स्थगित गर्ने खबरले भिष्मको घर फर्कने आश पनि मारेको छ । 

‘कम्पनीले तिम्रो नेपाल जाने टिकट नै पाईंदैन मात्र भन्छ, यस्तै हो भने कम्पनीले कुन दिन आफ्नै सुर गर भन्न बेर छैन’ नविन भन्नुहुन्छ, ‘यहाँ दुई छाक खान दुई हात जोड्न परेको छ, कम्पनीले भोलि टिकट दिएन भने यतै सड्न पर्छ, सरकार छिट्टै नै फर्कने वातावरण देउ ।’

भिष्मको जस्तै मलेसियामै कार्यरत नविन श्रेष्ठ पनि काम बिहीन भएको चार महिना भयो । घर फर्कन सरकारले तोकेको प्रक्रिया अनुसार नै दूतावासमा फारम भर्नुभयो । दूतावासले स्वदेश फर्कनेको सूचीमा नाम पनि निकाल्यो । तर समस्या टिकटमा आएर रोकियो । 

उहाँलाई टिकट दिएर पठाउन कम्पनी राजी छ । तर ट्राभलमा टिकट पाइएन भन्न थालेको छ कम्पनीले हिजोआज । 

‘कम्पनीले तिम्रो नेपाल जाने टिकट नै पाईंदैन मात्र भन्छ, यस्तै हो भने कम्पनीले कुन दिन आफ्नै सुर गर भन्न बेर छैन’ नविन भन्नुहुन्छ, ‘यहाँ दुई छाक खान दुई हात जोड्न परेको छ, कम्पनीले भोलि टिकट दिएन भने यतै सड्न पर्छ, सरकार छिट्टै नै फर्कने वातावरण देउ ।’

नविनलाई लाग्छ चार्टर्ड उडान भनेर सीमित गर्नुभन्दा पनि बरु व्यवसायिक उडान खोलिदिए समयमै घर फर्कन पाइन्थ्यो । झन्झट पनि सहनु पर्दैन थियो । 

मलेसियामै राजकुमार भुजेल बिरामी हुनुहुन्छ । दुई महिना भयो, उहाँलाई स्वास्थ्य समस्या भएको । कम्पनीले बिरामी परेपछि कुनै वास्ता गरेन । कम्पनीले वास्ता गरेन भन्दैमा परदेशमा ज्यान कमजोर बनाउने कुरै भएन । उहाँले आफैंले स्वदेश फिर्तीको प्रक्रिया गर्नुभयो । दूतावासको सूचीमा नाम पनि आयो । दूतावासले प्राथमिकतमा राखेपछि घरबाट पैसा मगाएर टिकट काट्न कम्पनीलाई पैसा दिनुभयो । तर कोरोना जाँचको रिपोर्ट समयमै नआउँदा समस्या भयो । 

‘कम्पनीले ढिलो गरी कोरोना जाँचको रिपोर्ट ल्याइदियो, पछि त आफ्नै पैसाले टिकट काट्न पनि कम्पनीले टिकट नै पाइएन भन्छ,’ राजकुमार चिन्ता गर्दै भन्नुहुन्छ, ‘मैले पनि कोशिस गरें, तर टिकट पाइएन, कति दिन यसरी बस्नु ।’
ज्यान बिरामी छ । कम्पनीले एक छाक खान पुग्ने रकम दिएको छ । विशेष ख्याल चाहिने बेलामा एक छाक खाएर कहिलेसम्म परदेशमा बस्नुपर्ने हो राजकुमार अलमलमा पर्नुभएको छ । 

असार २८ देखि उडान स्थगित

गएको जेठ ३२ गतेदेखि सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान सुरु गर्‍यो । बिहीबारसम्ममा खाडी मलेसियासहित विभिन्न देशमा समस्यामा परेका १ सय ४८ उडानमार्फत २३ हजार १०४ जना नेपाली स्वदेश फर्किएका छन् ।

सरकारले कुवेत, साउदी अरब, बहराइन, यूएई, कतार, मलेसिया, इजरायल, ओमान, साइप्रस, दक्षिण कोरिया, जापानबाट नेपालीहरु ल्याएको छ ।

यस्तै अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान लगायतका देशबाट पनि नेपालीहरु स्वदेश फर्किएका छन् । तर झण्डै एक महिनाको अवधिमा पनि फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिकहरु फर्कन पाएका छैनन् ।

परदेशमा विपदमा परेका श्रमिक भने स्वदेश फर्कने दिन कुर्दाकुर्दै निराश भएका छन् । यता उद्धारमा ढिलो र उडानहरु कम हुँदा परदेशमा समस्याहरु झन् झन् बल्झिरहेका छन् । 

लामो समयदेखि स्वदेश फर्कने दिन कुर्दाकुदै झन समस्याहरु थपिएका छन् । आज नआए भोलि, भोलि पनि नभए पर्सि पालो आउला भनेर कुर्दै बसेका परदेशीहरु सरकारले असार २८ गतेदेखि उडान स्थगित गर्ने खबरले झन् निराश भएका छन् । 

विभिन्न देशमा कोरोना महामारीपछि समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको उडान समिक्षा गर्न असार २८ पछि तत्काललाई स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । समिक्षापछि फेरि उडान सुरु हुनेछन् । 

हुन त अहिले पनि एक महिनाको अवधिमा दिनहुँ उडान भएकै हुन् । तर सरकारले स्वदेश फिर्तीका लागि हरेक दिन बढीमा १० वटा उडान मात्रै गर्ने निर्णय गरेको थियो । जसअनुसार यो बीचमा दिनमा पाँचदेखि १० उडानमार्फत पाँच सयदेखि १५ सयसम्म नेपाली फर्किएका छन् । असार २८ पछि उद्धार उडान स्थगित भए पनि उद्धार नगरी नहुने अवस्थामा विशेष अनुमति दिने पर्यटन मन्त्रालयले जनाएको छ । 

तर परदेशमा विपदमा परेका श्रमिक भने स्वदेश फर्कने दिन कुर्दाकुर्दै निराश भएका छन् । यता उद्धारमा ढिलो र उडानहरु कम हुँदा परदेशमा समस्याहरु झन् झन् बल्झिरहेका छन् । 
 

अन्तिम अपडेट: साउन १, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • SUDIP ADHIKARI

    July 10, 2020, 6:23 p.m.

    I really appreciate and respect to ujyaalo online. Please spread this 🙏 news and knock the door of government and related sector. Here life is really hard to live we can not breath and wait One seconds. Thanks for your concerning. Regards Sudip

  •  0 Reply

तपाईको प्रतिक्रिया