८५ बिघा क्षेत्रफलमा दाङकै ठूलो रङ्गशाला बन्दै

 असार २८, २०७७ आइतबार १४:५१:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराही उपमहानगरपालिका १६ काे करौती डाँडामा दाङकै ठूलाे तथा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुने भएको छ । झण्डै ८५ बिघा क्षेत्रफलमा निर्माण हुने यो परियोजनाको कुल लागत झण्डै तीन अर्ब रुपैयाँ लाग्ने जनाइएकाे छ । 

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माथि सरोकारवालाबीच घोराहीमा भएको छलफलमा निर्माण हुन लागेकाे नेत्रलाल अभागी रङ्गशाला प्रदेश सरकारकाे गाैरवकाे याेजनामा परेको जानकारी गराइएको थियो । 

घोराहीमा भएको छलफलका सहभागीहरुले विस्तृत परियोजना प्रतिवेदनमा फुटबल मैदानसहितको बहुउद्देश्यीय रङ्गशाला निर्माणको लागत दुई अर्ब ४८ करोड ५५ लाख रुपैयाँ अनुमान गरिए पनि लागतको दायरा बढाएर तीन अर्ब बनाउन सुझाव दिएका छन् । अन्तर्राष्ट्रियस्तरका खेलकुद आयोजनासमेत गर्न सक्ने गरी निर्माण गर्न लागिएको रङ्गशालामा आउट डोर र इन्डोर खेल हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अत्याधुनिक पार्क, चमेना गृह, प्रशासनिक भवनलगायत ड्रेसिङ रूमसहितको एकीकृत रुपमा बनाउन लागिएको यो बहुउद्देश्यीय रङ्गशालामा २५ हजार दर्शक क्षमताको अत्याधुनिक फुटबल मैदान पनि हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।​ स्विमिङ पुल, कभर्ड हल, जीम, एथ्लेटिक्सलगायतको पूर्वाधार पनि त्यही बनाउने तयारी भएको छ । प्रदेश सरकारले यो परियोजनाकाे लागि ११ करोड २५ लाख रुपैयाँ छुट्याइसकेको छ ।  

एडन इन्जिनियरिङ सोलुसनका इन्जिनियर सन्देश लम्सालले सबैको सुझावअनुसारको परियोजना प्रतिवेदन तयार पारिने बताउनुभयो । डीपीआरमाथिको छलफलमा उपस्थित सरोकारवालाहरुले विभिन्न सुझाव दिएका छन् । सहभागीहरुले गुणस्तरमा विशेष ध्यान दिँदै दीर्घकालीन योजनाअनुसार नकारात्मक प्रभाव नपर्ने गरी डीपीआर तयार पार्न सके प्रदेश सरकारको लक्ष्य पूरा हुने बताएका थिए ।  

विसं २०८० सम्ममा रङ्गशालाकाे निर्माण सम्पन्न हुन लक्ष्य लिइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया