२४ घण्टामा ८२ जनामा काेराेनाकाे सङ्क्रमण

 असार २८, २०७७ आइतबार १६:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार ८२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या १६ हजार आठ सय एक पुगेको छ ।

पछिल्ला केही दिनमा नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो ।  २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते एक सय आठ जना, २६ गते एक सय १८ जना, २७ गते ७० जना र आइतबार ८२ जनामा कोरोना पुष्टि भएको छ ।  

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले आठ हजार एक सय ७४ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । आइतबार एक सय ४७ गरी आजसम्म आठ हजार पाँच सय ८९ जना निको भएर घर फर्किएका छन् । काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या अहिलेसम्म ३८ छ ।

आइतबार पीसीआर विधिबाट तीन हजार नाै सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ८३ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २३ हजार सात सय ८४ जना रहेका छन् ।

उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना सङ्कलन गर्न थालेको छ । नख्खु टोल, कोटेश्वर, शङ्खमुल, बूढानीलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखालगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेले बताउनुभयो ।

अहिलेसम्म सङ्कलन भएका तीन हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा तीन जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उहाँले बताउनुभयो ।

असार २५ गतेबाट ४५ हजारको नमुना सङ्कलनको काम अघि बढाइएको पनि उहाँले बताउनुभयो । उपत्यकामा मात्रै पाँच हजार नमुना सङ्कलन हुनेछन् । बैंक तथा वित्तीय संस्था, मालपोत कार्यालय र आईसीयूलगायत अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिहरुको नमुना सङ्कलन सुरु भएको डाक्टर पाण्डेले बताउनुभयो । अहिलेसम्म सङ्कलन गरी रिपोर्ट आएका पाँच सय पाँच जनाकाे नेगेटिभ आएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया