बाटो भए साउदीबाट आउँथें हिँडेर !

 साउन ८, २०७७ बिहिबार १५:४:४ | सन्जिता देवकोटा

काठमाण्डौ – लक्ष्मीसिंह ठकुरीलाई छोरीले फोनमा भनिन्, ‘आमा पैसा पठाइदिनु न ।’

छोरीको यो बाक्य सुन्नासाथ लक्ष्मीको मुखबाट शब्द फुरेन । आँखाबाट बलिन्द्रधारा आँसु झरे । तर अरबको देशमा त्यो आँसुको मोल कस्ले बुझ्ने ? पाँच महिनादेखि काम नहुँदा कोठामा थुनिएकी आमासँग पैसा छैन छोरी भनेर कसरी भन्ने ? कमाउन गएकी आमाले नै पैसा नहुँदा खान पाएकी छैन भनेर १० वर्षकी छोरीलाई कसरी सम्झाउने ? मन गाँठो पर्‍यो । भक्कानिनुभयो । तर छोरीसँग फोनमा रुन पनि सक्नुभएन । 

दुई वर्षअघि साउदी पुग्नुभएकी दाङकी लक्ष्मी काम नगरी कोठामा थुनिएको पाँच महिना भयो । काम छैन । कमाइ पनि छैन । कोठामै बसेर महिनौंसम्म खानु पर्दा अब त साथमा एक रुपैयाँ पनि छैन । पेटभरी खानसमेत पाउनुभएको छैन । दिनदिनै अवस्था नाजुक बन्दै गएको छ । 

यस्तो अवस्थामा छोरीलाई पैसा कसरी पठाउने ?

हुन त लक्ष्मीको परदेश जानुको एउटा मात्र कारण छोरीको सुन्दर भविष्य नै थियो । 

श्रीमानको हेलाँ भएपछि लक्ष्मी ८ वर्षकी छोरी बुवाआमाको साथमा छाडेर परदेश जानुभएको थियो ।

छोरीलाई राम्रो स्कुल पढाउँला । आफूले नपढ्दा दुःख पाइयो । आफ्नो दुःखभन्दा छोरीलाई पर राखेर सुखैको बाटोमा हिँडाउँला । परदेश जाने जहाज चढ्दा लक्ष्मीसँगै यस्तै सपना थिए ।

त्यही सपना पूरा गर्न उहाँले दुई लाख रुपैयाँ ऋण काढेर एजेण्टलाई बुझाउनुभएको थियो । 

छोरीलाई राम्रो स्कुल पढाउँला । आफूले नपढ्दा दुःख पाइयो । आफ्नो दुःखभन्दा छोरीलाई पर राखेर सुखैको बाटोमा हिँडाउँला । परदेश जाने जहाज चढ्दा लक्ष्मीसँगै यस्तै सपना थिए ।

एजेण्टले पनि भनेका थिए – कम्पनी राम्रो छ, दुई वर्षमा बिदामा घर आउ फेरि गएर कमाउ । तर साउदी पुगेपछि नेपालमा छँदा एजेण्टलेभने झैं सजिलो भएन । 

सप्लाई कम्पनीको काम । कहिले अस्पतालमा हुन्थ्यो त कहिले कुन साइटमा । एक दुई दिन ज्यानलाई सञ्चो नहुँदा काम गर्ने ठाउँ पनि बदलिन्थ्यो । तर पनि जसोतसो लक्ष्मीका सपनाका मुनाहरु हुर्कंदै थिए । 
तर चलिरहेको लक्ष्मीको जिन्दगीमा कोरोनाले एकाएक ब्रेक लगाइदियो । साउदीमा कोरोना सङ्क्रमण बढेसँगै उहाँ काम गर्ने त्यहाँको स्कुल (मदरसा) पनि बन्द भयो । स्कुल बन्द भएपछि काम  भएन । काम नभएपछि तलब पनि आएन । 

कोरोना सङ्क्रमण डर र कामको भर नहुँदा क्याम्पभित्रै बसिरहेकी लक्ष्मीलाई एक दिन मुदिर (सुपरभाइजर)ले कम्पनीमा बोलाए ।

भने, ‘अब रियादमा काम छैन, जेद्दा काम गर्न जाने कि घर जाने ?’

लक्ष्मीले भन्नुभयो – ‘घर जाने । अकामा पनि सकियो, मलाई घरै पठाइदिनुस् ।’

कम्पनीले केही कागजातमा सही गर्न लगायो । नेपाली पनि राम्रोसँग नबुझ्ने लक्ष्मीले अरबी भाषा बुझ्नुभएन । 

जे जस्तो भए पनि महामारीमा परदेशमा बस्नुभन्दा घर जान पाइने कुराले लक्ष्मीको मन खुसी भयो  । घर जाने दिन गन्न थाल्नुभयो । 

तर घर फर्कने जहाज उडेका थिएनन् । महिनौं कुरेपछि जहाज नगए पनि घर फर्कन दूतावासमा फारम भर्नुपर्छ भन्ने खबर सुन्नुभयो । पढ्न लेख्न नजान्ने लक्ष्मीले साथीहरुको सहयोगमा दूतावासमा अनलाइनमार्फत आफ्नो विवरण टिपाउनुभयो । दूतावासको प्राथमितकामा नाम पनि आयो । विस्तारै समस्यामा परेकालाई लिन नेपालबाट जहाजहरु साउदी जान थाले । 

बेलाबेला लक्ष्मीलाई लाग्छ, साउदीबाट नेपाल जाने बाटो थियो भने पनि हिँड्दै जान हुन्थ्यो । दुई दिन हिँड्दा थकाइ लागे बस्नुुहुन्थ्यो, फेरि हिँड्नु हुन्थ्यो । तर सात समुद्र पारीबाट घर फर्कने सोचेजस्तो सजिलो छैन । 

तर जब उहाँको घर फर्कने पालो नजिकिंदै थियो, तब कम्पनीले फेरि धोका दियो । घर फर्कनका लागि कम्पनीबाट आवश्यक पर्ने अनुमति (एक्जिट परमिट) दिएन । दूतावासले उहाँका लागि तोकिदिएको दिनको उडान छुट्यो । 
‘त्यो बेलामा त मैले त्यही कम्पनीमा काम गर्ने दिदीहरुसँग पैसा मागेको थिए, घर गएर जसरी पनि पठाउँछु दिदी भनेको थिएँ,’ लक्ष्मी भन्नुहुन्छ, ‘अब त हातल यस्तो भइसक्यो कि कम्पनीले एक्टिज दिए पनि घर फर्कन सकिंदैन, खल्तीमा एक रियाल छैन, साथीभाइले पनि पत्याउन छाडे ।’

बेलाबेला लक्ष्मीलाई लाग्छ, साउदीबाट नेपाल जाने बाटो थियो भने पनि हिँड्दै जान हुन्थ्यो । दुई दिन हिँड्दा थकाइ लागे बस्नुुहुन्थ्यो, फेरि हिँड्नु हुन्थ्यो । तर सात समुद्र पारीबाट घर फर्कने सोचेजस्तो सजिलो छैन । 
जहाज चढेर फर्कनु पर्छ । जहाजमा चढ्न टिकट आफैंंले काट्न पर्छ । जिम्मेवारी त कम्पनीको हो । तर कम्पनीले त टिकट दिनु त परको कुरा, घर फर्कने अनुमतिसम्म दिएको छैन । त्यसका लागि पनि लक्ष्मीसँग पैसा मागिरहेको छ । 

‘२३ सय रियाल देउ भन्छ, के को पैसा माग्छ म त बुझ्दिनँ, मेरो त उल्टो चार महिनाजतिको पैसा पनि दिएको छैन’ लक्ष्मी सुनाउनुहुन्छ । 

कम्पनीले एउटा बास दिएको छ । नुहाउन पानी आउँछ । त्यसबाहेक आवश्यक पर्ने सबै कुरा आफैं किन्नु पर्छ ।

कोरोनाले कर्फ्यु लागेको छ । बाहिर हिँड्न पाईंदैन । कोठा भित्रै सबैलाई थुनेको छ । लक्ष्मी भन्नुहुन्छ, ‘हामी त बोइलर कुखुरा जस्तै हौं यहाँ, बिजुली बल्छ, पानी आउँछ, तर बाहिर कस्तो छ, हावा कस्तो हुन्छ अनुभव गर्न पाएका छैनौं ।’

त्यही क्याम्पको सेक्युरिटीका रुपमा खटिएका एक व्यक्तिले पैसा दिए खानेकुरा ल्याइदिन्छन् । त्यसका लागि महंगो तिर्नु पर्छ । 

‘खानेपानी एक ग्यालेनको १० रियाल तिर्नपर्छ, त्यो एक ग्यालेनले तीन दिनभन्दा पुग्दैन, यहाँ हरेक कुरा महंगो छ, कसरी खाएका छौं हामीले त्यो भनिसाध्यै छैन’ लक्ष्मी दुखेसो पोख्नुहुन्छ । 

ऋण र पीरको भारी 

काम बिहीन भएर बस्दा कमाइ विनै परदेशमा दिन गएको छ । यता घरमा भने साउदी जाँदा काढेको ऋणको ब्याज बढिरहेको छ । 

साउदी जाँदा दुई लाख रुपैयाँ ऋण काढ्नुभएको थियो लक्ष्मीले । त्यो पनि साहुसँग दश बिन्ती गरेपछि मिलेको थियो । 

‘ऋण पनि गरिबलाई कहाँ पत्याएका थिए र, मेरो बुवाले कमाएर तिर्छ भनेर कति बिन्ती गरेर खोजी दिनुभएको,’ लक्ष्मी दुःखी हुँदै भन्नुहुन्छ, ‘ऋण पनि यसै छ, कमाउने मानिसकै यो हाल भएको छ ।’

कोठामा बस्नुहुन्छ । बिहानदेखि बेलुकासम्म ऋण, बालखा छोरी र बुढा भएका बुवाआमा आँखैभरी झलझली आउँछन् । तर बाध्यता न उनीहरुका लागि कमाउन निस्कन पाउनु छ,  न त दुःख पाएँ है भनेर घर फर्कन सक्ने अवस्था छ । 

घरघरी लक्ष्मीलाई लाग्छ – परदेशमा दुःख सुन्ने त चरोमुसो कोही नहुने रहेछ । अब त दूतावाससँग पनि उहाँको आश मरेको छ । 

‘खान मन लाग्दैन, सोच्दासोच्दै एकोहोरो हुने रहेछु, पूरै चक्कर मात्र लाग्छ, हातखुट्टै गलेर आउँछन्’ लक्ष्मी निराश हुँदै भन्नुहुन्छ, ‘यो परदेशमा कोही रहेनछ भन्यो, रोयो बस्यो, यसै सास जान्छ कि झैं लाग्छ ।’

‘कतिपटक फोन गरियो दूतावासमा, तर हामीजस्ता सयौंको समस्या सुन्नुपर्ने उहाँहरुले हाम्रो मर्म बुझ्नुभएन,’ लक्ष्मी गुनासो गर्दै भन्नुहुन्छ, ‘कहिले कसको नम्बर दिनुहुन्छ त कहिले कसको, कस्लाई कस्लाई फोन गर्नु ? अब त आशै मर्‍यो ।’

एक मनले सम्झदा उहाँलाई लाग्छ, साउदीमा आफ्नो अभिभावक भनेको दूतावास नै हो । तर समस्याको सुनुवाइ नहुँदा मनले हरेस खान्छ । र मनमा लाग्छ – ‘अब त यतै मरिन्छ कि के हो ।’ 

आफ्नो दुःख बुझिदिने, पीडामा परेका बेला सहानुभूति दिनेसमेत कोही नहुँदा आफैंसँग थाक्नुहुन्छ । हिजोआज त लक्ष्मी सोच्नभन्दा बढी टोलाउन थाल्नुभएको छ । 

‘खान मन लाग्दैन, सोच्दासोच्दै एकोहोरो हुने रहेछु, पूरै चक्कर मात्र लाग्छ, हातखुट्टै गलेर आउँछन्’ लक्ष्मी निराश हुँदै भन्नुहुन्छ, ‘यो परदेशमा कोही रहेनछ भन्यो, रोयो बस्यो, यसै सास जान्छ कि झैं लाग्छ ।’
परदेशमा जे भए पनि सग्लो ज्यान स्वदेश पुग्न पाए पीर त सकिन्थ्यो ।

ऋण पनि बनिबुतो गरेर, कुखुरा बाख्रा पालेर भए पनि तिर्थें भन्ने लाग्छ लक्ष्मीलाई । तर एकातिर कम्पनीको बन्धन छ । अर्कोतिर साथमा पैसा छैन । 

परिबन्धले पलपल रुन परेको छ । बिगत र बर्तमानलाई सम्झँदै आफूले आफूलाई गलाउनु परेको छ ।

तर सास छउन्जेल आश भने झैं लक्ष्मी पनि एक दिन ती परदेशका तमाम दुःख बिसाएर घर फर्कन पाउने आशमा अमिलो आँसु पिउँदै पर्खिरहनुभएको छ ।

अन्तिम अपडेट: साउन १७, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Buddhi thapa

    July 24, 2020, 1:44 a.m.

    Give me her number, i am in saudi, will try to help her,send her number by email or fb on Buddhi Thapa

  •  0 Reply

तपाईको प्रतिक्रिया