सरकारले गरेकाे काम विदेशीले देखे तर नेपालीले देखेनन् : मन्त्री ढकाल

 साउन १२, २०७७ सोमबार १७:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतीबिन्दु लागेको टिप्पणी गर्नुभएको छ । 

सोमबार वीर अस्पतालको १ सय ३१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेख्नुमा नेपाली संस्कारमा मोतीबिन्दु लागेको हुन सक्ने बताउनुभयो । उहाँले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको बताउनुभएको हो ।

उहाँले विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतीबिन्दु लागेको हुन सक्ने अनुभूति भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्रप्रतिको जवाफदेहीता र सीमित साधन स्रोतबाट हाम्रो जस्तो देशमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतीयाबिन्दु लागेको छ कि जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’

कोभिड–१९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शून्य दशमलव २ प्रतिशतभन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको मन्त्री ढकालले बताउनुभयाे । नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसिया मै राम्रो रहेको मन्त्री ढकालले बताउनुभयो । उहाँले भारतमा भन्दा नेपालमा पहिला कोरोना सङ्क्रमणको केस देखिएको तर अहिले भारतमा उच्च गतिमा वृद्धि भइरहँदा नेपालमा नियन्त्रण भित्रै रहेको बताउनुभयो । 

सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एक पटक वीर अस्पतालमा आउनै पर्ने समेत मन्त्री ढकालले बताउनुभयो । वीर अस्पतालमा आउँदा सेवाग्राहीलाई राज्यको मुटु अस्पतालमा आएको छु भन्ने अनुभूति गर्न सक्ने गरी सेवालाई प्रभावकारी बनाउनसमेत उहाँले निर्देशन दिनुभयो । राज्यको तर्फबाट कमी कमजोरी भइ प्रभावकारी सेवा दिन नसके कसरी सेवा प्रभावकारी बनाउने भन्ने सम्बन्धमा प्रस्ताव ल्याउनसमेत वीर अस्पताललाई आग्रह गर्नुभयो ।

अस्पतालभित्र बेथिति भए सुधार गर्न तयार रहन आग्रह गर्दै राज्यबाट बेथिति भएको भए सरकार सुध्रिन तयार रहेको समेत मन्त्री ढकालले बताउनुभयो । जनताले सरकारलाई हेर्ने ऐनाको रुपमा वीर अस्पताल रहेकाले अस्पतालका सेवालाई प्रभावकारी बनाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया