घरीघरी त मनमा लाग्छ साउदीमै मरिन्छ कि !

 साउन १५, २०७७ बिहिबार ११:४६:५२ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – धनकुटाकी जेनी लिम्बूका मनमा हिजोआज अनौठा तर्कना आउँछन् ।

 कहिले सोच्नुहुन्छ, यो ज्यान बाकसमा फर्केला जस्तो छ ।

कहिले मन बद्लिन्छ त कहिले बहकिन्छ । घरी घरी उहाँलाई लाग्छ, यसरी बन्धक बनेर कहिलेसम्म बस्नु ? बरु मर्नै बेस !

जेनीलाई कहिलेकाहीँ असाध्यै एक्लो अनुभव हुन्छ । त्यतिबेला सोच्नुहुन्छ– परदेशमा आफ्नो भन्ने कोही हुँदा रहेनछन् ।

नकारात्मक कुरा मात्र दिमागमा आउँछन् । आँट, भरोसा र आश भन्ने कुरा उहाँको मनबाट हटिसकेको छ । विश्वासको त के कुरा । जेनीको दिन नै भगवान भरोसामा चलेको छ । 
यो सबै हुनुको एउटै कारण हो, कोरोना महामारी ।

कोरोना महामारी सुरु हुनु अघिसम्म साउदीमा काम चलेको थियो । काममा दुःख र मनमा असन्तुष्टि भए पनि महिना मर्दा पैसा हातमा पथ्र्यो । तर जब साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो तब जेनीको जीवनमा कल्पनै नगरेका अप्ठेरा र समस्याहरु आइपर्‍यो । 

सप्लायर्स कम्पनीमार्फत सुपरमार्केटमा काम गर्नुहुन्थ्यो जेनी । कोरोना रोकथामका लागि लकडाउन भएसँगै मार्केट बन्द भयो । 

कोरोना महामारीमा काम बन्द भएर संकटमा परेकै बेला कम्पनीले पनि दाउ छोप्यो । 

जेनीलाई कम्पनीले भन्यो – अब रियादमा काम छैन, जेद्दा जाउ ।

रियादमा काम गरिरहेको मान्छे एक्कासी जेद्दा कसरी जाने ? फेरि त्यहाँ गएपछि काम पाइन्छ भन्ने निश्चित पनि त थिएन । जेनीले कम्पनीको प्रस्ताव अस्वीकार गर्नुभयो । 

त्यसपछि कम्पनीले घर पठाउने प्रस्ताव ल्यायो । 

‘म त यहाँ काम गरेको पनि चार वर्ष भइसक्यो, अकामा र भिसा, करार सबै सकिंदै थियो, मैले जेद्दा जानुभन्दा घर जान्छु भनें’ जेनी भन्नुहुन्छ, ‘घर पठाउने त बहाना रहेछ, कम्पनीको चाल सुरुमा बुझिएन ।’

कम्पनीले काम नहुँदा घर पठाइदिन्छु भनेपछि जेनीसहित उहाँका अरु ४ जना साथी ज्ञानु क्षेत्री, लक्ष्मी सिंह ठकुरी, सुमिता मगर र निकिता चेम्जोङ पनि तयार भए । महामारीका बेलामा परदेशमा बस्नु भन्दा घर फर्कन पाउनु ठिकै लाग्यो ।

घर फर्कन दूतावासमा अनलाइन फारम भरे । दूतावासले जुलाई २६ मा नेपाल फर्कने जहाजमा उनीहरुको नाम पनि प्रकाशित गर्‍यो । । घर फर्कन पाउने खुशीले फुरुङ्ग भइरहेकै बेला कम्पनीले भन्यो– ‘घर जाने भए अकामाको पैसा तिर, अनि जाउ ।’

न त घर फर्कन अनुमति नै दियो । रोजगारदाता कम्पनीले अनुमति नदिएसम्म साउदीबाट घर फर्कन पाईंदैन । 

अब फसाद पर्‍यो । कम्पनीले पैसा नतिरे एक्जिट पेपर (घर फर्कने अनुमति, साउदीबाट घर फर्कन रोजगारदाताले एक्जिट अनिवार्य दिनुपर्छ) नदिने भन्यो । जेनीसहित उहाँका साथीहरु रोइकराइ गरे । दूतावाससँग गुहार मागे । तर समस्या पार लागेन । जहाज साउदी गयो । अरुलाई नै लिएर आयो । जेनी र साथीहरु कम्पनीकै क्याम्पभित्र रुँदै बस्न बाध्य भए । 

समस्या त काम बन्द भएर कोठामा थुनिएदेखि नै थियो । तर त्यो बेला घर फर्कन पाउने आश थियो । साथमा अलिअलि भए पनि कमाएको पैसा थियो । दिन बित्दै गयो । कम्पनीले न खान दियो, न त काम नै । साथमा भएको पैसा पेट भर्दैमा सकियो । न त घर फर्कन अनुमति नै दियो । रोजगारदाता कम्पनीले अनुमति नदिएसम्म साउदीबाट घर फर्कन पाईंदैन । 

अब उनीहरुसँग दुई विकल्प बाँकी रहे । 

कि त कम्पनीले भनेझैं पैसा बुझाउने र एक्जिट भिसा लिने । कि त चुपचाप बस्ने । 

महिनौैंदेखि काम बिहीन भएकाहरुसँग कहाँको पैसा हुनु ! पेट पाल्नु कि कम्पनीलाई बुझाउनु ? उनीहरुले दोस्रो विकल्प रोजे । 

साउदीमा रहेको नेपाली दूतावासमा फोन गरेर सहारा खोज्ने सोच बनाए । 

तर अरबी कानुन, उनीहरु नै जानून् ! जेनीले न कम्पनीको कुरा बुझ्नुभएको छ न त दूतावासको नै । 

‘दूतावासले हुँदैछ मात्र भन्छ, महिनौं भयो कहिले हुन्छ थाहा छैन, यता कम्पनीले उत्तिकै तनाव दिन्छ, खाली तिमीहरु अब फस्यौ, बच्ने भए तेरो दूतावासलाई भन भन्छ, दूतावासलाई हाम्रो समस्या थाहा छ तर समाधान हुँदैन’ जेनी गुनासो गर्नुहुन्छ । 

पाँच महिना भयो बिना काम कोठामा थुनिएको । कम्पनीले एक रियाल पनि खाद्यान्नका लागि दिएको छैन । उल्टो अनेक कुरा गरेर तनाब भने दिइरहेको उनीहरु गुनासो गर्छन् । 

असुरक्षित वातावरण, अशान्त मन

कोरोनाको महामारी होस् या सामान्य अवस्था । कम्पनीले क्यापभित्रको एउटा कोठामा १३ जनासम्म राख्छ । कोही अस्पतालमा काम गर्छन् त कोही कता । मार्केटमा काम गर्नेहरु काम बिहीन भए पनि अस्पतालमा काम गर्नेहरुको भने चलि नै रह्यो । सबैलाई एकै ठाउँमा राख्दा जोखिम बढ्यो । तर पनि कम्पनीले कहिले पनि ज्वरो समेत नापेन । 

क्याम्पभित्रै जेनीसँगै बसेकी एक नेपाली महिलाको ज्यान गयो । त्यसपछि भने कोठाभित्रै थुनिएका जेनीसहित अरुलाई तनाब बढ्यो । 

‘हल्का ज्वरो आएपछि अस्पताल लगेको थियो, त्यसको १५ दिन जस्तोमा त त्यो दिदी बित्नुभएछ, के कारणले ज्यान गयो थाहा छैन, तर त्यस घटनापछि हामी पनि निदाउन सकेका छैनौं’ जेनी भन्नुहुन्छ ।

परदेशमा कसले उनीहरुको बाध्यता र परिस्थिति बुझ्ने ? भोको पेट पो छ कि, बिसञ्चो पो छ कि ? समुद्र पारीको देशमा कस्ले वास्ता गर्ने ?

समय बित्दै जाँदा समस्याहरु थपिंदै गएका छन् । खल्ती रित्तिंदै गएको छ । कतिपयलाई त कम्पनीले अर्को ठाउँमा सारिसकेको छ । तर जेनीसहित केहीलाई भने त्यही ठाउँमा राखिएको छ । काममा जाने साथीहरुले बेलुका अनेक कुरा सुनाउँछन् । कोहीले भन्छन्, ‘अब तिमीहरुलाई घर जान नदिने रे ।’

कोहीले सुनाउँछन्, पैसा नतिरिकन ज्यान त के लाश पनि निकाल्दिनँ भनेको छ कम्पनीले ।’

संसार कोरोनासँग लडिरहेको छ । तर आफ्नो कम्पनी भने सामान्य लेबरको भिसामा काम गर्नेहरुसँग केही पैसाका लागि लडेको देख्दा उदेक लाग्छ जेनीलाई । 

तर परदेशमा कसले उनीहरुको बाध्यता र परिस्थिति बुझ्ने ? भोको पेट पो छ कि, बिसञ्चो पो छ कि ? समुद्र पारीको देशमा कस्ले वास्ता गर्ने ?

जेनी भन्नुहुन्छ, ‘यहाँ त हामीजस्ताको आवाज त यी ठूला घरका भित्ताले पनि सुन्दैनन्, अरबी साहुको त के आश गर्नु ।’

क्याम्पको गार्डलाई पैसा दिए खानेकुरा किनेर ल्याइदिन्छन् । तर उनले पनि सामान किनेर ल्याइदिएको समेत  भाडा लिन्छन् । पैसा भए त किन्नु र उनलाई पनि कमिसन दिनु ! नभए के गर्नु ? साथीभाइले दुई चार पैसा पत्याउन छाडेको दिन भोकभोकै मर्नु ? जेनी यसै गर्छु भनेर सोच्न सक्नुहुन्न । 

एक जना श्रमिकले कति पैसा बचाएको हुन्छ र ! बचेको पैसाले कति दिन चल्छ र ! तर उनीहरु त दिन हैन, महिनौंदेखि त्यसैगरी दिन र रात बिताइरहेका छन् । घर फर्कन पाउँ भन्दै रोइरहेका छन् । 

कोरोनाको डरलेभन्दा पनि जेनीलाई हिजोआज कामबिहीन भएर बस्नुपर्दाको चिन्ताले सताउँछ । अब साउदीमा अवस्था सामान्य भए पनि उनीहरुलाई काम दिनेवाला छैन । यो महामारीका बेलामासमेत कम्पनीले उनीहरुलाई मानवताको व्यवहार गरेको छैन । 

त्यही कम्पनीको नमिठो व्यवहार र आफ्नै दूतावासले गरेको बेवास्ताले गलाउन थालेको छ । 

जेनीको मन एकोहोरो हुन्छ आजकाल । घर, काम र कम्पनीका व्यवहार मात्र जेनीका आँखाभरी आउँछन् । करार सकियो । भिसा पनि सकियो । साउदीको परिचयपत्र अकामा पनि सकियो । अब त कम्पनीसँग काम माग्ने आधार पनि बाँकी छैन । दिनभरी कैदीबन्दीझैं कोठाभित्रै बस्दाबस्दा तनाब बढ्न थालेको छ ।

 ‘तनाबले होला हातखुट्टा गल्छन्, केही गर्न मन लाग्दैन, हिजोआज त केही सोच पनि आउँदैन’ जेनी भन्नुहुन्छ, ‘अहिले त मात्र घर जान पाए हुन्थ्यो जस्तो लाग्छ तर घरी घरी त कम्पनीले यतै मारिदिने पो हो कि झैं नि लाग्छ ।’ 
कम्पनीको धम्की र व्यवहारले हिजोआज जेनीसहित उहाँका साथीहरुलाई सकुशल घर फर्कन सक्छौं भन्ने नै लाग्छ छाडेको छ ।

जेनी मनमनै रुनुहुन्छ । आफ्नै मनलाई भन्नुहुन्छ, ‘आमा, मेरो मर्जीले चल्थ्यो भने आउँथें उडेर !’

 ‘के गर्छ गर्छ, न भाषा बुझिन्छ, त न उसको नियत,’ जेनीकी साथी ज्ञानु भन्नुहुन्छ, ‘हामीले भन्ने दूतावासलाई हो, तर दूतावासले पनि नबुझेपछि के हुन्छ तपाईँ नै भन्नुहोस् न ।’

घर नपठाए पनि काम दिएको भए साउदीमा बसौं न त भन्दा सहज हुन्थ्यो । तर काम र घर फर्कने अनुमति दुवै नदिएपछि के गर्ने ? 

दिमाग शून्य भएको छ उनीहरुको ।

घरबाट घरीघरी फोनमा बुवाआमाले जेनीलाई भन्छन्, ‘अब त आइज न छोरी, महामारी त्यता पनि नराम्रो छ भन्छन् ।’

जेनी मनमनै रुनुहुन्छ । आफ्नै मनलाई भन्नुहुन्छ, ‘आमा, मेरो मर्जीले चल्थ्यो भने आउँथें उडेर !’

 

अन्तिम अपडेट: असोज २२, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया