अख्तियारका थप २० जनामा काेराेना सङ्क्रमण पुष्टि

 साउन २२, २०७७ बिहिबार १५:१४:२६ | रासस
unn.prixa.net

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । 

यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् । 

यसैगरी गएकाे मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको पौडेलले बताउनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो । अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । 

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाण्डाैमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ । मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा तीन सय जनाको स्वाब सङ्कलन गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट पौडेलले जानकारी दिनुभयो । 

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पीसीआर परीक्षण गरेको थियो ।   

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया