कोभिड-१९: सङ्क्रमणसँगै ज्यान गुमाउनेको बढ्दो ग्राफ

 साउन ३०, २०७७ शुक्रबार ७:२२:३४ | रासस
unn.prixa.net

काठमाण्डौ - देशमा कोभिड-१९ को सङ्क्रमणसँगै जानेको ग्राफ क्रमशः बढ्दै गएको छ ।  साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोभिड-१९ सङ्क्रमित ३५ को ज्यान गएको छ । यससँगै अहिलेसम्म ९५ जनाको ज्यान गैसकेको छ । 

कोभिड-१९ ले विगतमा फाट्टफुट्ट रुपमा मानिसको ज्यान गएकोमा साउन लागेपछि दैनिक रुपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ । विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार ज्यान गएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौलारोगी रहेको र ५० प्रतिशत भने निरोग व्यक्ति छन् । 

नेपालमा सङ्क्रमितमध्ये झण्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड-१९ को मृत्यु दर विश्वमा तीन प्रतिशत छ । कतिपय देशमा तीन प्रतिशतमाथि पुगेको छ । तथ्याङ्क हेर्दा देशमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक हप्ताको विवरण केलाउँदा बढ्दो ग्राफको प्रष्ट तस्बिर पाइन्छ ।

साउन २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाण्डौ उपत्यकामा मात्रै एक हप्तामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाण्डौ जिल्लाका छन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ । 

मन्त्रालयका अनुसार अहिले देश दोस्रो तहको सङ्क्रमणमा छ । ‘निश्चित क्षेत्रमा महामारीका रुपमा कोभिड–१९ फैलिएको छ । अझै नियन्त्रण बाहिर गएको छैन’, मन्त्रालयका प्रवक्ता डा गौतमले भन्नुभयो, ‘काठमाण्डौसहित पर्सा, रौतहट र  महोत्तरी जिल्लामा कोभिड–१९ महामारीका रुपमा देखिन्छ, त्यसपछि दोस्रोमा मोरङ, बाँकेलगायत केही जिल्ला छन् ।'

उहाँले मानिसले स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढेको बताउनुभयो । दुई मिटर दूरी कायम गरेर नियमित मास्क मात्रै लगाउने हो भने पनि ९६ प्रतिशत सङ्क्रमण रोक्न सकिने जनस्वास्थ्य विज्ञको भनाइ छ । ‘जनस्वास्थ्यको मापदण्ड नै फलो नगर्ने, भीडभाड बढाउने, टेर्दै नटेर्ने, अनि कसरी सङ्क्रमण रोक्न सकिन्छ’, डा गौतमले आक्रोशपूर्ण रुपमा भन्नुभयो ।

जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्किएमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै हिँड्न भनेको छ । देशभर लकडाउन घोषणा नगरिए पनि सरकारले सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय सीमा नाका आवागमन रोक्नेदेखि अन्य आवश्यक निर्णय गर्दै आएको छ ।

आफ्नो सीमा क्षेत्रमा निर्णय गर्ने अधिकार पालिका र जिल्ला प्रशासनलाई दिइएको छ । यसैअनुसार कतिपय जिल्ला र पालिकाले आआफ्नै ढङ्गले जोखिम विश्लेषण गरी सिल गर्नेदेखि  निषेधाज्ञा र लकडाउनसम्मका निर्णय गर्न थालेको छ । 

एक हप्ताको सङ्क्रमण र मृत्युको अवस्था

साउन २२ देखि २८ सम्म एक हप्ताका अवधिमा मात्रै ३१ जनाले ज्यान गुमाएका छन् । बिहीबार थप चार जनाले ज्यान गुमाए । साउन २८ गते ४६४ जना नयाँ पोजेटिभ देखिँदा त्यसमा १३९ जना काठमाण्डौ उपत्यकाका थिए ।त्यसमा पनि १०९ जना काठमाण्डौ जिल्लाका भेटिए । धनुषाका दुई तथा काठमाण्डौ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक एक गरी बुधबार एकै दिन सबैभन्दा बढी आठ जनाले ज्यान गुमाए ।

अहिलेसम्म ९५ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । साउन २७ गते ६३८ नयाँ सङ्क्रमित थपिएकामा उपचारका क्रममा रहेका काभ्रेपलाञ्चोक, धनुषा, सिन्धुपाल्चोकका गरी चार जनाको ज्यान गयो । काठमाण्डौ उपत्यकामा १३६ नयाँ सङ्क्रमित भेटिए । 

साउन २६ गते चार जनाले ज्यान गुमाए । त्यस दिन ३३८ नयाँ संक्रमितमध्ये ४४ जना उपत्यकाका थिए ।  साउन २५ गते ३८० जनामा देखिँदा उपत्यकाका ९२ जना थिए । त्यस दिन दुई जनाले ज्यान गुमाए । साउन २४ गते ३७८ जनामध्ये उपत्यकामा ६२ जनामा देखियो । त्यसदिन तीन जनाले ज्यान गुमाए । साउन २३ मा ४६२ जनामा देखिएको थियो । उपत्यकामा मात्रै १०६ जना भेटिए । त्यस दिन पाँच जनाको ज्यान गएको थियो थियो । 

साउन २२ गते ३७० जना सङ्क्रमित हुँदा उपत्यकामा ८७ जना थिए । त्यस दिन पनि पाँच जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । बिहीबार मात्रै ५२५ नयाँ सङ्क्रमित थपिए । अहिलेसम्म झण्डै २५ हजार सङ्क्रमित फेला परेका छन । 

उपचारपछि निको भएको दर भने आशालाग्दो छ । स्वास्थ्य मन्त्रालयकाअनुसार निको हुने दर ६८ दशमलव ५ प्रतिशत छ । अहिले सरकार परीक्षणको दायरा बढाउँदै दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्न सक्ने अवस्थामा पुगेको छ । 

प्रदेश नं २ मा बढी मृत्यु 

प्राप्त विवरणमा कोभिड-१९ का कारण सबैभन्दा बढी मानवीय क्षति प्रदेश नं २ मा भएको छ । अहिलेसम्मको विवरणमा प्रदेश नं २ मा ३९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यसपछि दोस्रोमा वाग्मती प्रदेशमा १८ जनाले ज्यान गुमाएका छन । 

प्रदेश नं १ मा आठ, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १२, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको ज्यान गएको छ । लकडाउन समाप्तिपछि परीक्षण गरिएकामध्ये पोजेटिभ प्रतिशतसमेत केही वृद्धि भएको छ । साउन ७ गते लकडाउनको अन्त्य हुँदा परीक्षण गरिएकामध्ये ४ दशमलव २२ प्रतिशत पोजेटिभ देखिएको थियो । साउन २७ मा ६ दशमलव १० प्रतिशत रहेकामा साउन २८ मा ४ दशमलव ६२ प्रतिशत पोजेटिभ देखिए ।

उच्च सावधानी अपनाइँदै 

सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ । गएको सोमबारको मन्त्रिपरिषद् बैठकले आउँदो भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ । यसअघि साउन ३२ गतेसम्मका लागि रोकेको थियो । सङ्क्रमण बढेकाले एक महिना थप भएको हो । 

भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र  हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेदेखि मात्र सञ्चालन गरिने भएको छ । यस्तै यसअघि साउन १५ देखि सञ्चालन गरिएको होटल तथा रेष्टुराँलाई रोकेर पहिले झैँ खाद्य परिकार लैजान मात्रै पाउने व्यवस्था गरिएको छ । 

सक्रिय सङ्क्रमित २०० भन्दा बढी भएका जिल्ला र काठमाण्डौ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घसंस्थालगायतका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घसंस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ । यस्तै ५० प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्नसमेत सरकारले निर्देशन दिएको छ । 

मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड-१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ ।

गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी आजदेखि लागू हुने गरी तत्काल गाडी पास वितरण बन्द गर्न भनेको छ । फुटपाथ, खुला ठाउँ, ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका व्यवसायलाई  सम्बन्धित स्थानीय प्रशासन र पालिकाले निषेध गर्ने निर्णय पनि भएको छ । उद्योग कलकारखानामा भने आवश्यक स्वास्थ्य मापदण्डअनुसार मात्रै सञ्चालन गर्न पाइने छ ।  

वैशाख र  जेठमा अत्यधिक बढेको कोभिड-१९ असारमा केही कमी देखिए पनि साउनमा ह्वात्तै बढेको छ ।  सङ्क्रमणमा केही कमी आएपछि सरकारले जेठ २९ गते लकडाउनलाई खुकुलो बनाएर आर्थिक गतिविधि चलायमान बनाएको थियो । त्यसको ठीक दुई महिना पुग्दा कोरोना रोकथाम हुनुको सट्टा क्रमशः बढ्दो क्रममा रहेको विवरणले देखाउँछ ।

अझै सचेत छैनन्

कोभिड-१९ को सङ्क्रमण रोक्न सरकारको मात्रै प्रयासले पुग्दैन, सबै नागरिक पनि सचेत हुनुपर्छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा. अनिल कार्की आम-समुदाय चनाखो हुनुपर्ने र आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सुझाव दिनुहुन्छ । 

 नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोनाबाट बच्न करीब ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । त्यसमा पनि ६२ प्रतिशतले मात्रै सही तरिकाले लगाउँछन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया