‘तपाईँको विभेदले सङ्क्रमण अझै बढ्न सक्छ, मनोबल घटाउने होइन बढाउने काम गर्नुस्’

 भदौ १, २०७७ सोमबार १७:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि यसकाे डर बढ्न थालेको छ । डरकै कारण मानिसले जानेर वा नजानेरै पनि कोरोना सङ्क्रमितलाई विभेद गर्ने, सामाजिक बहिष्कार गर्नेसम्मका काम गर्न थालेका छन् । समाजमा कोरोना सङ्क्रमितलाई छिः छिा र दुरदुर गर्ने प्रवृत्ति बढेको छ ।

केही दिनअघि मात्रै चितवनका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगालेले आफू सङ्क्रमित भएपछि समाजले गरेको विभेदका बारेमा खुलेरै बहस गर्नु भएको थियो । बगाले जस्ता धेरै सङ्क्रमित विभेद भोग्न बाध्य भएपछि स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको छ । 

मन्त्रालयले सोमबार कोरोना सङ्क्रमितलाई विभेद नगर्न आग्रह गरेको हो । जटिल स्वास्थ्य समस्या नभएकालाई घरकै आइसोलेशनमा बस्न भनिएको र यसरी बस्नेलाई समाजमा बहिष्कार गर्ने गरेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभेद नगर्न आग्रह गर्नुभएको हो । उहाँले सङ्क्रमित व्यक्तिको घरमा पर्चा  टाँस्ने जस्ता घटनाले समाजमा विकृति फैलाउने र सद्भाव घटाउने हुँदा संवेदनशील विषयमा गम्भीर हुन अनुरोध गर्नुभयो । 

समाजले विभेद गरेको देखेपछि नकारात्मक व्यवहारबाट बच्न कोरोना सङ्क्रमण भइहाले लुकाउने सम्भावना हुने र यसले झन् सङ्क्रमण फैलने खतरा हुने डाक्टर गौतमले बताउनुभयो । समाजले गर्ने नकारात्मक व्यवहारका कारण सङ्क्रमितको मानसिक अवस्था विक्षिप्त हुँदै जाने र बालबालिकामा समेत नराम्रो असर पर्ने हुँदा स्वास्थ्य मन्त्रालयले सङ्क्रमितलाई हेलाभन्दा पनि माया र सद्भाव बाँड्न आग्रह गरेको हो ।

काेरोना भाइरसको अहिलेसम्म कुनै औषधि नबनेकाेले आत्मबल र उच्च मनोबलले नै कोरोनालाई जित्न सकिने हुँदा सङ्क्रमितको आत्मबल बढाउनु पर्नेमा मन्त्रालयको जोड  छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम भन्नुहुन्छ, ‘तपाईंको विभेदले सङ्क्रमण अझै बढ्न सक्छ, मनोबल घटाउने होइन बढाउने काम गरौँ, आफू पनि बचौँ अरुलाई पनि बचाऔँ ।’ 

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया