राखेपका नवनियुक्त ६ सदस्यद्वारा शपथ ग्रहण

 भदौ १, २०७७ सोमबार २१:९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

त्रिपुरेश्वरमा रहेकाे राखेप कार्यालयमा आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्माले ६ सदस्यलाई शपथ ग्रहण गराउनुभएकाे हाे । शपथ लिनेमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ छन् ।

मन्त्रिपरिषदबाट ६ सदस्यलाई साउन १४ गते मनोनयन गरिएकाे थियो । उनीहरुले सोमबारमात्र सपथ लिएका हुन् । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नियुक्त सदस्यहरुलाई जिम्मेवारीका कार्यभार पूरा गर्न शुभकामना दिनुभयो । मन्त्री विश्वकर्माले अहिले खेलकुदले नयाँ फड्को मारेको, नयाँ ऐन लागू भएको र पूर्वाधारमा उल्लेख्य विकास भएको बताउनुभयो ।

मन्त्री विश्वकर्माले बाँकी बोर्ड सदस्यले चाँडै पूर्णता पाउने जानकारी गराउनुभयाे । त्यसका लागि गृहकार्य भइरहेको समेत विश्वकर्माले बताउनुभयो । नवनियुक्त सदस्यबाट प्रतिनिधित्वि गर्दै सदस्य इन्दिरा निरौलाले खेल र खेलाडीलाई राम्रो बनाउनका दिएको कार्यभारलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ । यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया