सन्दीपले खेल्ने सीपीएल आजदेखि सुरु

 भदौ २, २०७७ मंगलबार १३:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि सुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति पाैने आठ बजेपछि सीपीएल सुरु हुनेछ । 

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति पाैने आठ बजे खेल्ने छन् । सन्दीप आबद्ध जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै सन्दीपले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुसी लागेको बताएका छन् ।  

सन्दीप गएकाे साउन १५ गते काेरियन एअरकाे चार्टर्ड जहाजमा सीपीएल खेल्न टोबागो गएका हुन् । यसैबीच नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा सन्दीपकाे रिपोर्ट नेगेटिभ आएको थियो । त्याे रिपोर्टसँगै सन्दीप सीपीएल खेल्न याेग्य ठहरिएका हुन् ।  

यस सिजनकाे सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सीपीएल भदाै २५ गतेसम्म चल्ने छ । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।

सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सीपीएलमा कुल ३३ खेल हुने छन् । 

कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल बुधबार बिहान सबा तीन बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया