विदेश जाने बाटो बन्द भएपछि नयाँ काम, धनियाँ बेचेर एक महिनामा २० हजार दाम

 भदौ ४, २०७७ बिहिबार १०:३२:६ | सन्जिता देवकोटा

काठमाण्डौ – जहाज उडेको भए लालबहादुर शाही अहिले मलेसियाको सुपरमार्केटमा व्यस्त हुनुहुन्थ्यो । तर कोरोना महामारीका कारण उहाँ मलेसिया उड्नुभन्दा २० दिनअघि अन्तर्राष्ट्रिय उडान बन्द भयो । 

कोरोना महामारीले मलेसियाको रोजगारीमा फर्कन नपाएपछि  बाजुराका २७ वर्षीय लालबहादुर देशभित्रै काम खोज्न थाल्नुभयो । विदेश पुगिहालेको भए पनि महामारीको समयमा के हुन्थ्यो हुन्थ्यो ! तर स्वदेशमै परिवारसँगै भएर निकै राम्रो भयो । आपतका बेला परिवारसँगै बस्न पाइयो । धनिया बेचेरै एक महिनाको अवधिमा झण्डै २० हजार रुपैयाँ कमाइ पनि गर्नुभयो । 

लकडाउन भएपछि काठमाण्डौ सहरबाट कतिपय व्यक्ति गाउँतिर लागे । कतिको रोजगारी गुम्यो । कतिपय आर्थिक संकटले गुज्रिए । तर लालबहादुरे भने यही समयमा देशभित्रै रोजगारीको लय समात्नुभयो ।

भन्नुहुन्छ, ‘आफ्नै देशमा आफ्नै हातले फलाएर बेच्दा भएको कमाइको त छुट्टै मज्जा आउँदो रहेछ नि ।’ साँच्चै लालबहादुरलाई त्यति आनन्द त मलेसियामा महिनाको ७० हजार हात पर्दा पनि भएन, जति धनिया बेचेर २० हजार रुपैयाँ हात पर्दा भयो ।

 संकटले निम्त्याएको अवसर

६ वर्षअघि हो, लालबहादुर झोला बोकेर मलेसिया लागेको । एसएलसीको परीक्षा दिनुभयो । त्यसपछि पढ्नेभन्दा पनि कमाउनुपर्छ भन्ने लाग्यो उहाँलाई । कमाइ गर्ने ठाउँ भनेकै विदेश हो भन्ने लाग्थ्यो । एजेण्टले मलेसियाको बाटो मिलाईदिए । बुवाआमाले ऋण काढेर पैसा ठिक्क पारिदिए । दुई चार जोर हलुका लुगा र भविष्यका गह्रौं सपना पोको परेर लालबहादुर मलेसिया पुग्नुभयो । 

१९ वर्षको केटो । भर्खरै स्कुले जीवन सकेको । परदेशको ठाउँमा पुग्दा अनेक दुःख, कष्ट र हेपाई सहनु पर्‍यो । तर सोच्नुभयो, पैसा त त्यसै कहाँ कमाइन्छ र ! जसरी पनि कमाउन छ । दुःख सम्झियो भने त ऋण कसरी तिर्नु ? लालबहादुरले अघिल्तिर आइपरेका सबै समस्यालाई यसैगरी बलियो आत्मबलले जित्नुभयो । 

दिनहरु बित्दै गए । हरेक समस्या दैनिकी बन्यो । काममा अनुभव बढ्दै गएपछि तलब पनि बढ्दै गयो । पत्तै नपाई ६ वर्ष बितिगयो । गएको माघमा कम्पनीले दुई महिनाको छुट्टी दियो । ६ वर्षको अवधिमा एकपटक मात्र घर फर्कन पाएपछि लालबहादुर खुशी हुँदै आउनुभयो ।

उहाँ घर आएपछि कोरोना पनि विस्तारै फैलंदै गयो । चैत २८ गतेको मलेसियाका लागि टिकट थियो । तर चैतको पहिलो हप्ता नै उडानहरु बन्द भए । देश नै लकडाउन भयो । हरेक व्यवसाय ठप्प भए । ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नेहरु समेत घर भित्रै थुनिए । 

देशमा मात्र होइन, कमाउन विदेश पुगेकाहरु पनि उसै गरी समस्यामा परे । पहिले त कोरोनाको डर भयो । पछि हुँदै गएपछि रोगको डरभन्दा पनि भोको पेटको कहर बढ्न थाल्यो । काम गुमेपछि साहुले बेवास्ता गर्दा अलपत्र परेको, खान बस्नै समस्या भएको, घर फर्कन टिकट काट्न नसकेको जस्ता समस्या र गुनासा लालबहादुरले पनि सुन्नुभयो । 

यस्ता खबर र गुनासा सुन्दा उहाँलाई लाग्यो, ‘म सहि समयमा घर आएछु, नत्र त्यही हुलमा म पनि एक थपिने पो थिएँ कि ? कोरोना सङ्क्रमित पो हुने थिएँ कि ?’ टरिसकेको जोखिमको के चिन्ता लिनु ? बरु यो समयको सदुपयोग गर्नपर्छ भन्ने लाग्यो उहाँलाई । 

सोच्दै नसोचेको कमाइ

घर बाजुरा भए पनि काठमाण्डौमा डेरामा बस्दै आएका लालबहादुरले परिवारसँग सल्लाह गर्नुभयो र देशमै केही काम थाल्ने निधोमा पुग्नुभयो । 

चिनजानकै भाइले कीर्तिपुरमा जग्गा भाडामा लिएर खेती गरिरहेका थिए । लालबहादुरलाई पनि जग्गा बाडामा लिएर तरकारी खेती गर्ने जोश चल्यो । भाइकोसँगै एक रोपनी जग्गा भाडामा लिनुभयो । सुरुवातमा के रोप्ने ? दिमागमा आइडियो फुर्‍यो, धनिया छर्ने । 

दुई आनाजति जग्गामा चार रुपैयाँको धनियाँको बीउ ल्याएर छर्नुभयो । धनियाँले कमाइ हुन्छ भन्ने त लागेको थिएन, तै पनि जग्गा खाली हुँदैन त्यसपछि अरु तरकारी लगाउने भन्ने उहाँको सोच थियो । तर अचम्म भयो, त्यति धेरै आश नगरी छरेको धनियाले लालबहादुरलाई सोच्दै नसोचेको हौसला मिल्यो । 

असार १० गतेतिर छरेको धनियाबाट साउनको अन्तिमसम्म २० हजार रुपैयाँ हात पर्‍यो । नगद पो २० हजार रुपैयाँ त, लालबहादुरलाई यो कामले हिसाब नै गर्न नसकिने हौसला दिएको छ ।

‘धनिया मज्जाले उम्रियो र सप्रियो पनि, सबैतिर लकडान थियो, म मास्क लगाएर, आफू सुरक्षित भएर नै बेच्न निस्कथें,’ लालबहादुर आफ्नो अनुभव सुनाउनुहुन्छ, ‘कतिपय पसलले अर्डर नै गर्थे, कतिपय त आफैंले बेचेँ, लकडाउन भए पनि बेच्न गाह्रो भएन ।’

असार १० गतेतिर छरेको धनियाबाट साउनको अन्तिमसम्म २० हजार रुपैयाँ हात पर्‍यो । नगद पो २० हजार रुपैयाँ त, लालबहादुरलाई यो कामले हिसाब नै गर्न नसकिने हौसला दिएको छ ।

कोरोनाले विदेश जान पाइएन भनेर सुरुवाती दिनमा त मन खिन्न भएको थियो लालबहादुरको । तर जब आफैंले आफ्नै देशमा परिवारसँगै बसेर आम्दानी गर्दाको स्वाद थाहा पाउनुभयो तब उहाँको यो चिन्ता र पीर सकियो । 

अब उहाँलाई लकडाउन भएकोमा पछुतोभन्दा पनि खुसी छ । किनकी लकडाउनले नै उहाँलाई देशमै केही गर्ने बोटो देखाएको छ । विदेशको मोह त्याग्न सक्ने बनाएको छ ।

‘लकडाउनका बेलामा घरमै बसेर यतिको कमाइन्छ भने विदेशमा जति दुःख र लगनशिल भएर काम गर्ने हो भने यहीं पनि गर्न सकिदो रहेछ, मलाई साह्रै खुशी लागेको छ,’ लालबहादुर खुशी हुँदै आफ्नो कुरा सुनाउनुहुन्छ । 

एसएलसी दिनसाथ परदेश पुग्नुभएका लालबहादुरले स्वदेशको सुख त भोग्नै पाउनुभएको थिएन । मलेसियामा कम्पनीको पेलान । हेपाइ र होच्चाइ मात्र सहनुभयो । उहाँलाई लाग्यो, अर्काको देशमा आएपछि यतिको त सहनै पर्छ, आउन पनि त देशमा केही काम र कमाइको बाटो नभेटेरै आएको हो । 

तर अहिले सोच फेरिएको छ । लालबहादुर हिजोआज सोच्नुहुन्छ, ‘वैदेशिक रोजगारीमा जाने हरेक युवाको यो सोच नै गलत रहेछ । किनकी कतिले त केही गर्ने प्रयास नै नगरी यो सोच पालेका हुन्छन् र एजेण्टको कुरामा फसेका छन् । 

लालबहादुरले पनि गएको माघसम्म यही सोच राख्नुभएको थियो । दुई महिनाको बिदा सक्काएर फेरि मलेसिया जाने, कमाउने ..। यस्तै यस्तै सपना देख्नुभएको थियो । तर केही महिनाभित्रै उहाँको सोच र योजना फरक भएको छ । त्यसको एक मात्र कारण लकडाउनले विदेश उड्न नपाउनु नै हो । 

देशमै गरेको दुःखमा मज्जा

हुन त मानिसलाई समस्याले नै समाधानको बाटो पनि देखाउँछ । लकडाउन भयो । विदेश जानुपर्ने मानिस घरमै थुनिनुभयो । विदेशमा दिनरात खटिनेमान्छे बिहानदेखि बेलुकासम्म फुर्सदिलो हुनुभयो । परदेशमा दुःख भोगेको र समयको महत्व बुझेको मानिस किन चुप बस्न सकिन्थ्यो र ! 

‘विदेशमा एक मिनेटको कति महत्व हुन्छ, यहाँ हामी समय खेर फालिरहेका हुन्छौं,’ लालबहादुर भन्नुहुन्छ, ‘मलाई यहाँ यसै बस्दा समय खेर फालेजस्तो लाग्यो र काम थालें, चुपचाप बसेको भए अहिले मेरो हालत के हुन्थ्यो होला ?’
विदेशमा काम गर्दा दाम त धेरै हुन्थ्यो, तर खुशी कम । 

‘मलेसियाको ६०, ७० हजारभन्दा यहाँको २० हजार कति बढीजस्तो लाग्दो रहेछ, ’लालबहादुर भन्नुहुन्छ, ‘परिवारसँग टाढा हुँदाको कमी र अभाव बेहिसाब हुन्छन् ।’

लालबहादुर भन्नुहुन्छ – अहिले देशमै काम गर्दा दुःख भए पनि थोरै कमाइ भए पनि परिवारसँगै बसेर हुने कमाइको खुशी छुट्टै हुँदो रहेछ, बल्ल महसुस गर्दैछु । 

लालबहादुरले अब विदेश जाने र कमाउने सोच त्याग्नुभएको छ । जति होस् नेपालमै केही गर्ने, आफू पनि खुशी हुने र परिवारलाई पनि खुशी पार्ने सपना बुन्नुभएको छ । 

पहिले पहिले देशमा केही गर्र्नै सकिन्न भन्ने सोच्ने लालबहादुर हिजोआज बारीमा हुर्कंदै गरेका काउली, लौका र लहलह परेका साग हेर्दै दङ्ग पर्नुहुन्छ । धनिया बेचेरै २० हजार कमाइ भएपछि थप तरकारी खेती गरेर विदेशको जतिकै आम्दानी गर्छु भन्ने उहाँको आत्मविश्वास छ । 

‘मलेसियाको ६०, ७० हजारभन्दा यहाँको २० हजार कति बढीजस्तो लाग्दो रहेछ, ’लालबहादुर भन्नुहुन्छ, ‘परिवारसँग टाढा हुँदाको कमी र अभाव बेहिसाब हुन्छन् ।’

आफ्नो देश, आफ्नो माटो, आफ्नो जन्मभूमि । लालबहादुरलाई अबको बाँकी जीवन परिवारसँग हाँस्दै, खेल्दै रमाउँदै आफ्नै देशमा काट्न मन छ । 

भन्नुहुन्छ, ‘विदेशमा भन्दा देशमा भोगेका दुःखमा पनि मज्जा लाग्दो रहेछ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया