ट्रम्प ‘असफल नेता’ : कमला ह्यारिस

 भदौ ४, २०७७ बिहीबार १२:५९:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कमला ह्यारिसले उपराष्ट्रपति पदको लागि डेमोक्र्याटिक पार्टीको उम्मेदवारीलाई स्वीकार गर्नुभएको छ । योसँगै उहाँ कुनै मुख्य पार्टीबाट उपराष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी महिला बन्नु भएको छ । 

उहाँले आफ्नो भाषणको क्रममा आफूलाई भारत र जमैकाका आप्रवासीहरुको छोरी बताउनुभएको छ । भाषणकै क्रममा उहाँले ‘ट्रम्पको चार वर्षका विभाजनकारी यात्रापछि समावेशीको सिद्धान्तलाई फेरि स्थापति गर्नका लागि प्रयास गर्ने’ बताउनुभएको छ । 

गएको हप्ता डेमाक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार बनेका जो बाइडनले भारतीय मूलकी सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार छान्नु भएको थियो । 

बाइडन र ह्यारिस आउँदो ३ नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई चुनौती दिने तयारीमा छन् । 

डेमोक्र्याटिक नेशनल कमिटीको सम्मेलनमा क्यालिफोर्नियाबाट सिनेटर कमला ह्यारिसले आफ्नो भाषणमा डोनाल्ड ट्रम्पलाई असफल नेताको संज्ञा दिनुभएको छ । ‘ट्रम्प नेतृत्व गर्नमा असफल’ भएको उहाँले बताउनुभयो । 

कमलाले ट्रम्पलाई निसाना बनाउँदै भन्नुभएको छ, ‘उनी हामीमाथि आइलागेको आपत्लाई राजनीतिक हतियारमा परिवर्तन गरिदिन्छन् ।’  

डेलाभेयरमा डोनाल्ड ट्रम्पको गृह नगर विलमिङ्गटनको एक होटलमा भएको कार्यक्रममा कमलाले भन्नुभयो, ‘हामी एक महत्त्वपूर्ण मोडमा उभिएका छौँ ।’

‘लगातार भइरहने उथलपुथलले हामीलाई भड्काउने गर्छ । अयोग्यताका कारण हामीभित्र डर उत्पन्न हुन्छ । रुखोपनाले हामीलाई एक्लो बनाउँछ । कुरा के हो भने हामी अझै राम्रो गर्न सक्छौँ र निकै धेरैको हकदार छौँ’, उहाँले भन्नुभयो ।

साथै उहाँले अश्वेत व्यक्तिमाथि कोरोना भाइरसको धेरै प्रभावदेखि लिएर पछिल्लो महिनायता देशभर भएको नस्लभेद विरोधी प्रदर्शनको खुलेर कुरा गर्नुभयो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया