तीजको रहर गयो बरिलै.....

 भदौ ६, २०७७ शनिबार १२:५८:३७ | मिलन तिमिल्सिना
unn.prixa.net

पोहोर परार तीन महिनादेखि दर, यसपालि ६ महिनादेखि डर । न माइती, न भोज । न नाच, न मोज । न दरको स्वाद थाहा पाइयो, न तीजको मज्जा लिन भ्याइयो । कहिल्यै नभएको यसपालि भयो । कोरोनाको डरले तीजको दर खल्लो बनायो । नाचगान र रमाइलो फिक्का बनायो ।

आमाको घर जान पाइएन, सासुसँगै दर खानु पर्यो । छोरी आउन पाइनन्, बुहारीसँगै घरमा नाच्नु पर्यो । न गीतमा सासुको कुरा काट्न पाइयो, न बुहारीको उछित्तो काढ्न पाइयो । पहिले पहिले दिदीबहिनी रातो सारी र गरगरहनामा सजिएर भाका हाल्थे, तीजको रहर आयो बरिलै ....। यसपालि चल्नीमा हात लगाएर गुनगुनाउँदैछन्, तीजको रहर गयो बरिलै....। 

तीज, तीजजस्तो भएन । कोरोनाले खल्लो बनायो । तर खल्लो भए पनि फाइदा चाहिँ टन्नै भएको छ ।

सबैभन्दा पहिलो फाइदा दर खाने पैसा जोगियो । पोहोर, परार तीन महिना अघिदेखि दरको दौडधुप सुरु हुन्थ्यो । एकपल्ट अरुकोमा पुगेर खाएपछि अर्कोपल्ट आफ्नोमा पालो आउँथ्यो । मासुदेखि मदिरासम्म जोहो गर्दा तीजको खर्च दशैँमा हुने खर्चभन्दा बढी हुन्थ्यो । अरुकोमा खाँदासम्म स्वादै हुन्थ्यो, आफ्नोमा पालो आउँदा दाँतबाट पसिना छुट्थ्यो । धन्न यसपालि दाँतबाट पसिना छुट्न पाएन । यस विषयमा एउटा मात्र अफसोच, अरुले पकाएको मिठो मसिनु खान पाइएन ।

दोस्रो ठूलो फाइदा साडी किन्ने पैसा पनि बच्यो । पहिले किनेकै साडी नयाँ नै भए पनि हरेक वर्ष तीजमा नयाँ साडी चाहिन्थ्यो । आफूलाई मात्रै भएको भए त पहिलेकै साडी काम लाग्थ्यो नि । अरुले नयाँ किनेर लगाएपछि आफूले पनि त्योभन्दा राम्रो नकिन्दासम्म चित्त नबुझ्ने । धन्न यसपालि अरुलाई देखाउनकै लागि नयाँ साडी किन्न परेन । 

यसपालि त सुनले होइन, कोरोनाले गर्दा तीज नै आएन । धन्न कोरोना आयो र तोलामा लाख जोगियो । तीज नआएपछि सुन देखाउनै परेन ।

कोरोनाले यसपालि गरगहना पनि देखाउन परेन । पोहोरपरार अर्कैको लागि गरगहना लगाइदिनुपर्थ्याे । आफ्नो नभएपछि सापटी माग्नुपर्थ्याे । मन्दिर र चोकमा छमछमी नाच्दा कम्मरमा छड्के तिलहरी, कानमा लामो झुम्का र हातमा बाला हल्लेन भने नाचेको मज्जै आउँदैनथियो । गलाभरी, कानभरी, हातभरी सुन नटल्काउँदासम्म तीज आएजस्तै लाग्दैनथियो । यसपालि त सुनले होइन, कोरोनाले गर्दा तीज नै आएन । धन्न कोरोना आयो र तोलामा लाख जोगियो । तीज नआएपछि सुन देखाउनै परेन । हराउने र चोरी हुने डर पनि भएन । लाख रुपैयाँभन्दा बढी खर्चेर तोलाको पित्को किन्नै परेन । 

अर्को फाइदा भनेको मन्दिरमा घण्टौं लाइनमा उभिन परेन । पोहोरपरार बिहानै पशुपति पुग्दा पनि दिउँसोसम्म पालो आउँदैनथियो । कहिले घाम र कहिले पानीले हैरान पाथ्र्यो । उभिंदा उभिंदा पट्यार लाग्थ्यो । पट्यार लागेपछि नाच्न पनि मन लाग्दैनथियो । यसपालि दर्शन गर्न जानै परेन । पट्यार र झण्झट लाग्ने कुरो पनि भएन ।

सबैभन्दा महत्वपूर्ण कुरा त सासु–बुहारी र श्रीमान–श्रीमतीको सम्बन्ध गाढा भयो । यसपालि कोरोनाले गर्दा डर पनि घरमै, दर पनि घरमै । सासुले दर पकाउने बुहारीले खाने, बुहारीले दर पकाउने सासुले खाने । सासु गीत गाउने, छोरा र बुहारी नाच्ने । गीतमा सासुको कुरा काट्न पनि पाइएन, बुहारीको कुरा काट्न पनि पाइएन । हाम्रो बुढा त यस्ता बरिलै ...भनेर नाच्न पनि मिलेन ।

नेपालीको चाडपर्व आयो भनेर कोरोनाले छुट्टि दिने सुरसार गरेको छैन । उल्टै नेपालीको चालचलन देखेर रमाइरहेको छ ।

पहिले पहिले माइत गएकी बुहारीले सासु र श्रीमानको कुरा काटेर गीत गाइन् रे भनेको सुनेपछि घरमा मनमुटाब हुन्थ्यो । यसपालि सबै सधैं सँगै घरमा भएपछि कसैले कसैको कुरा काट्न पाएनन् । मन नभए पनि सँगै बसेर खानु पर्यो, एउटै कोठाभित्र नाचगान गर्नुपर्यो । परिवारको सम्बन्ध सुमधुर भयो ।

तीज मात्रै होइन । अब दशैँ तिहार पनि यस्तै हुन्छन् भन्ने लगभग पक्का छ । नेपालीको चाडपर्व आयो भनेर कोरोनाले छुट्टि दिने सुरसार गरेको छैन । उल्टै नेपालीको चालचलन देखेर रमाइरहेको छ । कहिले ठ्याप्पै बन्द, कहिले ह्वाङ्गै खुल्ला । कहिले घरभित्रै कोचाकोच, कहिले सडक बजारमा खचाखच । न नागरिक सचेत छन्, न सरकार गम्भीर छ । नेपालीको पारा देखेर कोरोना चाहिँ चकित छ । यो दशैँ त के, अर्को चैते दशैँसम्मै कोरोनाले नेपालमै बस्ने छाँट देखाइसकेको छ ।

कोरोनाले नछोड्ने भएपछि दशैँमा पनि नयाँ लुगा किन्न परेन । खसीबोका, मरमसला खोज्न परेन । नयाँ नोट साट्ने झण्झट भएन । घर जान गाडी नपाइएला कि भन्ने चिन्ता पनि भएन । छोरीचेली, ज्वाईंभानिजलाई दक्षिणा दिन परेन । कोरोनाले गर्दा सबै कुरा जोगिने भयो, तर त्यो बेलासम्म ज्यान पो जोगिने हो कि होइन !
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Hari gnawali

    Aug. 23, 2020, 1:27 p.m.

    अत्यन्तै सटिक र यथार्थ व्यङ्ग्य । सलल बगेकाे भाषामा कति मीठाे विश्लेषणात्मक व्यङ्ग्य ! मजा आयाे पढेर । धन्यवाद छ उत्कृष्ट लेखक मिलनजीलाई ।

  •  0 Reply

तपाईको प्रतिक्रिया