पीएसजीलाई हराउँदै बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

 भदौ ८, २०७७ सोमबार ६:२७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिखले जितेको छ । 

फाइनलमा फ्रेन्च च्याम्पियनलाई एक शून्यले हराउँदै बायर्नले छैठौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । बायर्नको जितमा कोमनको एक मात्र गोल निर्णायक बन्यो । 

यसका साथै बायर्नले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरी गरेको छ । युरोपियन च्याम्पियन हुने योजनाका साथ नौ वर्षमा एक दशलमव दुई बिलियन यूरो खर्च गरेको पीएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्न अझै कुर्नुपर्ने भएको छ ।

पोर्चुगलको लिस्बोनमा पहिलो हाफमा बल पोसेसनमा बायर्नले बलियो पकड बनाएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको १८ औं मिनेटमा नेयमारले डिबक्स भित्रबाट गरेको प्रहारलाई गोलकिपर मानुयल नुयरले बचाए । २१ औं मिनेटमा रोबर्ट लेवान्दोस्कीको सटिक प्रहार पोलमा लागेर फर्कियो । जसका कारण बायर्नले अग्रता लिने निकै सुन्दर मौका खेर फाल्यो ।

२३ औं मिनेटमा नेयमार, फर्नान्डो हरेरा हुँदै आएको बललाई एंगल डी मारीयाले राम्रो फिनिस गर्न सकेनन् । फ्रि पोजिसनमा पाएको बललाई उनले हावामा प्रहार गरे । जसका कारण पीएसजीले खेलमा अग्रता लिने सुनौलो मौका खेर फाल्यो ।

२९ औं मिनेटमा नेयमारको फ्रि-किकबाट आएको बललाई एन्डर हरेराको जोडदार प्रहार बायर्नका खेलाडीमा ठोक्किएर पोष्ट नजिकैबाट बाहिरियो । ३१ औं मिनेटमा थोमस मुलरको क्रसमा रोबर्ट लेवान्दोस्कीले हेडको प्रहार गर्दा पीएसजीका गोलकिपर नाभासले दुई पटकको प्रयासमा बललाई नियन्त्रणमा लिएका थिए ।

४० औं मिनेटमा रोबर्ट लेवान्दोस्कीको हेडको प्रयास पनि सफल हुन सकेन ।  ४५ औं मिनेटमा पीएसजीले खेलमा अग्रता बनाउने निकै सुन्दर मौका पाए पनि सफल भएन । हरेरासँगको पासमा केलियन एम्बाप्पेले प्रहार गरेको बललाई बायर्नका गोलकिपरले बचाए । त्यसको लगत्तै बायर्नले गरेको दुई वटा आक्रमणलाई पीएसजीका गोलकिपर नाभासले बचाए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा बायर्नले अग्रता बनायो । उसका लागि किंग्स्ले कोमनले हेडरबाट गोल गर्न सफल भए । उनको त्यो गोल च्याम्पियन्स लिगमा बायर्नको पाँच सयौँ गोल थियो ।

च्याम्पियन्स लिगमा पाँच सय गोल गर्ने बायर्न तेस्रो टिम बनेको छ । बायर्नभन्दा अगाडि बार्सिलोना र रियल रहेको छ । बार्सिलोनाले ५१७ गोल र रियलले ५६७ गोल गरेको छ । त्यसको दोस्रो मिनेटमा बायर्नले अर्को मुभ बनाएको थियो । तर लेवान्दोस्कीले बललाई कनेक्ट गर्न पाएनन् । ६६ औं मिनेटमा पीएसजीका केलियन एम्बाप्पेले पाएको मौकामा बललाई टच गर्न सकेनन् ।

७० औं मिनेटमा माक्विनोसले एंगल डी मारियाको पासमा डिबक्स भित्रबाट गरेको प्रहारलाई बायर्नका गोलकिपर मानुयल नुयरले उत्कृष्ट बचाउ गरे । खेलको अन्तिमतिर दुवै टिमले केही फल खेल खेलेका थिए । जसका कारण १० मिनेटमा तीन जनाले पहेँलो कार्ड पाएका थिए । 

खेलको इन्जुरी समयमा पीएसजीका लागि नेयमार र एम्बाप्पेले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल हातबाट गुम्यो  । त्यसपछि पीएसजी खेलमा फर्कन सकेन र पराजित भयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया