कोरोनाको मारमा साहसिक खेल

 भदौ ९, २०७७ मंगलबार २१:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – म्याराथन, बन्जी जम्प, प्याराग्लाइडिङ जस्ता साहसिक खेल अहिले कोरोना भाइरसकाे कारण रोकिँदा व्यवसायी समस्यामा परेका छन् । 

साहसिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ । विशेषगरी अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्वभर चिनाएको छ । 

जलस्रोत र भौगोलिक विविधतामा धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ ।  ती मध्येको हावामा चरा जस्तै भएर उड्दै अनुभव लिन सक्ने प्याराग्लाइडिङ पछिल्लो समय पोखरामा निकै चर्चित छ । तर यो व्यवसाय कोरोनाका कारण ठप्प छ ।  

कोरोनाले पेसा नै सङ्कटमा परेको पोखरामा १४ वर्षदेखि प्याराग्लाइडिङ व्यवसाय गर्दै आएका प्याराग्लाडिङ व्यवसायी चीनबहादुर बानियाँले बताउनुभयो । बाँनियाले प्याराग्लाइडिङ व्यवसाय सञ्चालनका लागि बैंक ऋणमा सवारी साधन लिनुभएको थियो । यस्तै केही होटलसँग समेत सहकार्य गर्नुभएको थियो । तर अहिले सवारी साधनको किस्ता बुझाउन समस्या त भएको छ नै होटलसँगको सहकार्य पनि पातलिएको छ । 

नेपालमा हुने विश्वको चर्चित एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन, जुम्ला–रारा म्याराथन, काठमाण्डाै म्याराथन आदि  प्रतियोगिताले विश्वमा चर्चा बटुलेका छन् । तर अहिले यस्ता दौडसंँ बन्जी जम्प, साइकिलिङ जस्ता अन्य साहसिक खेल कोरोनाका कारण आयोजना हुन सकेका छैनन् ।

विदेशबाट अल्ट्रा दौडका लागि धावकहरू सहभागिता जनाउन नेपाल आउने गरेका हुन्थे, जसका कारण नेपालको सन्देश विश्वभर फैलिन्थ्यो । तर अहिले समय ठिक उल्टो भएको छ । अहिले कुनै प्रतियोगिता हुन सकेका छैनन् ।

नेपालको पहिचान दिलाउने यस्ता खाले कार्यक्रमलाई सरकारी पक्षबाट नै पहल गर्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन् । विश्वका धेरै देशले साहसिक खेललाई आयको स्रोत बनाउँदा रोजगारी, उद्योग र पर्यटनले देशको कोल्टे फेरेको धेरै उदाहरण छन् । त्यसैले व्यवसायीलाई राहत र सहुलियत सरकारले दिनु पर्ने पो हो कि ! 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया