गुएनाविरुद्ध सन्दीपको कसिलो बलिङ, मात्र १२ रन दिएर एक विकेट

 भदौ १०, २०७७ बुधबार ६:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्यारेबियन प्रिमियर लिगमा जमैका तालवाजबाट खेलिरहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले चौथो खेलमा पनि कसिलो बलिङ गरेका छन् । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा  सन्दीपले ४ ओभरमा मात्र १२ रन खर्चेर एक विकेट लिएका हुन्। जसका कारण सन्दीपले प्रतियोगितामा ४ खेलमा ५ विकेट पुर्याएका छन्।

ट्रिनिडाड एन्ड टोबागोमा रहेकाे क्विन्स पार्क ओभल मैदानमा भएको खेलमा टस जितेर जमैकाले बलिङ रोजेको थियो । गुएनाको स्कोर ५० रनमा तीन विकेटको अवस्थामा बलिङ गर्न आएका सन्दीपले १६ वटा डट बल फालेका थिए ।

उनले पहिलो ओभरमा मात्र तीन रन दिएका थिए । पहिलो बल डट फालेको सन्दीपले दोस्रो बलमा दुई रन दिएका थिए । यस्तै तेस्रो बलमा एक् रन दिएका सन्दीपले तेस्रो, चौथो, पाँचौ र छैटौं बलमा रन दिएनन् ।

त्यसपछि टिमको १२ औं तथा व्यक्तिगत दोस्रो ओभरमा सन्दीपले चार रन दिएर एक विकेट लिए । उनले व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भए । जसमा उनले रुथरफोडलाई मात्र एक रनका असिफ अलीको हातबाट क्याचआउट गराए । त्यसपछि दोस्राे बल वाइड फालेका सन्दीपले बाँकी पाँच बलमा तीन रन मात्र दिए ।

सन्दीपले व्यक्तिगत तेस्रो तथा टिमको १४ औं ओभरमा मात्र एक रन दिए । उनले सुरुवाती दुई बल डट फालेका थिए भने तेस्रो बलमा एक रन दिएका थिए । त्यसपछि बाँकी तीन बल पनि डट फालेका थिए ।

लगत्तै १६ औं ओभरमा सन्दिपले चार रन खर्चिए । उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा दुई तथा अन्तिम बलमा एक रन खर्चिएका थिए । बाँकी तीन बल उनले डट फालेका थिए । जारी सीपीएलमा सन्दीपले पहिलो पटक कुनै पनि बाउन्ड्रि खाएनन् ।

यसअघिका तीन खेलमा सन्दीपले पहिलो खेलमा एक विकेट लिएका थिए भने दोस्रो खेलमा पनि एक विकेट हात पारेका थिए । यस्तै तेस्रो खेलमा उनले २ विकेट लिएका थिए ।  उनले यो सिजनमा अहिलेसम्म चार खेलमा ७२ रन खर्चिएर पाँच विकेट पुर्याएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया