भारतमा कोरोना सङ्क्रमितको क्षयरोग जाँच हुने, क्षयरोगका बिरामीको कोरोना जाँच हुने

 भदौ ११, २०७७ बिहिबार १८:१८:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा क्षयरोगको पनि जाँच गरिने भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमितको क्षयरोग जाँच्न दिशानिर्देश जारी गरेको हो । 

यस्तै अब पहिले नै क्षयरोग भएकाहरुको पनि कोरोना परीक्षण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ६ महिनामा कोरोना सङ्क्रमणका कारण ६० हजारभन्दा धेरैको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतमा कोरोना सङ्क्रमणभन्दा पनि क्षयरोग खतरनाक मानिएको छ । क्षयरोगका कारण दैनिक १३ सय जनाको ज्यान जाने गरेको भारतमा कोरोना सङ्क्रमणका कारण लकडाउन सुरु भएपछि क्षयरोगका बिरामीको सङ्ख्या अप्रत्याशित रुपमा घटेको पाइएको छ । लकडाउन सुरु भएपछि मात्रै ३० प्रतिशतभन्दा धेरैले क्षयरोगी घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

लकडाउनको कारण क्षयरोगका बिरामीको सङ्ख्यामा कमी आएको बताइएको छ । बिहारका प्रमुख क्षयरोगका अधिकारी डाक्टर के एन सहायले कोभिड–१९ का कारण अस्पताल पुग्ने बिरामीको सङ्ख्यामा ३० प्रतिशतले कमी आएको बताए । 

यही अवस्थालाई ध्यानमा राख्दै केन्द्र सरकारले कोभिड–१९ सङ्क्रमितको क्षयरोग जाँच र क्षयरोगका बिरामीको कोभिड जाँच गर्न दिशानिर्देश जारी गरेको हो । 

भारतमा सन् २०२५ सम्ममा क्षयरोग पूर्णरुपमा निर्मूल गर्ने लक्ष्य लिइएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया