निषेधाज्ञाले फाइदै फाइदा !

 भदौ १३, २०७७ शनिबार १०:३४:१७ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डौ - पहिले रेल र समृद्धिको चर्चा हुन्थ्यो, अहिले पोखरेल र सम्धीको चर्चा छ । रेलभन्दा पोखरेल सजिला, समृद्धि भन्दा सम्धी खाइलाग्दा । लकडाउन र निषेधाज्ञाको बेला धेरैलाई भएकै ठाउँमा अडिन पनि गाह्रो छ, तर भनेको ठाउँमा जान र मन लागेको खान सम्धीलाई सजिलो छ । मन लागेको ठाउँमा पुग्न अरुसँग साधन नभए पनि सम्धीसँग पोख रेल नामको आफ्नै रेल छ ।

निषेधाज्ञाले ठूलाबडाका सम्धी, साथी, सालासाली, आफन्त कसैलाई रोक्दैन । फाइदै छ । तर फाइदा र मज्जा त अरुलाई पनि हुँदो रहेछ । मात्रा र भाग मात्रै फरक हो । पहिले लकडाउनजस्तै अहिले निषेधाज्ञाले कसलाई कस्तो फाइदा पुगेको छ त ? एकछिन घोरिएर सोच्नोस् त !  

प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि हाइसञ्चो, प्रहरीलाई पनि हाइसञ्चो । कोरोना भाइरसबाहेक सबैलाई निषेधाज्ञाले फाइदा गरेको छ । 

लकडाउन ह्वाङ्गै हुँदा झण्डै बर्बाद भैसकेको थियो । जागिरेलाई सधैं काम गर्न जानुपर्ने हो कि भन्ने चिन्ता । विद्यार्थीलाई स्कुल कलेज खुल्ला भन्ने चिन्ता । सरकारलाई काम गर्न नसकेको बहाना सत्ता गुम्ला भन्ने चिन्ता । फेरि निषेधाज्ञा जारी भयो अब कसैले थप चिन्ता गर्न परेन । नत्र ....

सधैं घरमै बस्न मन हुनेले घरमै बस्न पाएका छन् । बाहिर रमिता हेर्न मन हुनेले पनि रमिता हेर्न पाएकै छन् । प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि हाइसञ्चो, प्रहरीलाई पनि हाइसञ्चो । कोरोना भाइरसबाहेक सबैलाई निषेधाज्ञाले फाइदा गरेको छ । 

कोरोनालाई कसरी फाइदा भएन भन्नुहोला । ल हेर्नुहोस् यसरी ।

निषेधाज्ञा किन लगाएको ? कोरोना धेरै मान्छेकहाँ नपुगोस्, नडुलोस्, कि फर्कियोस् कि बसिरहोस् भन्नका लागि । तर कोरोनालाई त फुर्सद नै छैन । निषेधाज्ञा नहुँदा पनि फैलन पर्यो, निषेधाज्ञा हुँदा पनि फैलन पर्यो । फैलिन्नँ, धेरैकोमा पुग्दिनँ भनेर खै कोरोनाले सुख पाएको ?

निषेधाज्ञा जारी गर्ने मान्छे जाति भएर विहान ३ घण्टामात्र तरकारी र फलफुल पसल खोल्न पाउने नियम जारी भएपछि तरकारी बजारमा पनि छ्याप्छ्याप्ती मान्छे भेन्टिन्छन्, खाद्य पसलमा पनि मान्छेकै भीडभाड छ । सडकमा रमिते आइरहन्छन् । कोही न कोहीको पछि लागेर समुदायमा छिरेपछि घरघरमा पुग्नुपर्छ । निषेधाज्ञामा पनि कोरोनालाई उस्तै भ्याइनभ्याइ छ ।

हाइसञ्चो त अरुलाई छ । निषेधाज्ञाले सबैभन्दा सजिलो प्रहरीलाई भएको छ । मान्छे हिँड्दैनन्, गाडी चल्दैनन् । हिँडेका मान्छे र चलेका गाडीलाई चोकमा दिनभर राखेपछि भोलिपल्टदेखि उ हिँड्दैन । मान्छे र गाडी नभएपछि कि त चोकछेउको चौतारोमा बस्यो, कि त रुखको छहारीमा बसी दिनभर लौरोले भुईं खोस्रेर वरपरका झ्यालबाट टाउको देखाउने सुन्दरीको दर्शन गर्यो ।

मन लागे अफिस जान पनि कसैले रोक्दैन, मन नलागेर घरमै बसे पनि किन आइनस् भनेर कसैले सोध्दैन । बिजुली र नेट गयो भनेपछि अनलाइनबाट हुने काम पनि नगर्दा सुख पाइहालिन्छ ।

अलि दुःख बरु ट्राफिक प्रहरीलाई भए पनि पहिलेको तुलनामा सुखै सुख छ । चर्को घाममा उभिन परे पनि धुलो धुवा खान परेको छैन । उभिन परे पनि हात हल्लाई हल्लाई सिटी बजाउनु परेको छैन । परैबाट गाडीका मानिस हेरेजस्तो गर्यो । भित्र बसेकाले एउटा कार्ड देखायो भने हात हल्लाई दियो, काम खलास । चिन्ता एउटै छ, निषेधाज्ञा सकिएको भोलिपल्ट बजाउन भनेर राखेको सिटी नभेटिने हो कि भन्ने, अनि सिटी फुक्न बिर्सिएला भन्ने मात्रै चिन्ता छ ।

लकडाउन हटेपछि सबैभन्दा बढी तनाव सरकारी कर्मचारीलाई भएको थियो । साढे २ महिनासम्म घरमै बसेर, उठेर, सुतेर र बेला बेला म्यारिज खेलेर रमाई रमाई तलब थाप्न बानी परिसकेको थियो । लकडाउन खुलेलगत्तै अफिस जानु पर्यो । धन्न फेरि निषेधाज्ञा भयो । मन लागे अफिस जान पनि कसैले रोक्दैन, मन नलागेर घरमै बसे पनि किन आइनस् भनेर कसैले सोध्दैन । बिजुली र नेट गयो भनेपछि अनलाइनबाट हुने काम पनि नगर्दा सुख पाइहालिन्छ ।

निषेधाज्ञाबाट फाइदा कसलाई छैन ? सबैलाई छ । स्कुल, क्याम्पस, कार्यालय खुल्ला कि, पढ्न र काम गर्न जान पर्ला कि भन्ने कत्रो चिन्ता थियो । धन्न कोरोनाले साथ दियो, खुलेको लकडाउन फेरि निषेधाज्ञाको नाममा प्रकट भयो । हिँड्न परेन, आनन्दै भयो ।

जति निषेधाज्ञा, उति धेरै फाइदा । पढ्न नपर्दा विद्यार्थीलाई फाइदा । पढाउन नपर्दा शिक्षकलाई फाइदा । एक दुई ठाउँमा दुई, चार जनाले अनलाइन कक्षा भनेर कनिकुथी जुम चलाउन जानिहाले । पढाईको औपचारिकता भैहाल्यो ।

काम गर्न नपर्दा जागिरेलाई फाइदा । घरमै बसेर काम गर्नु, अनलाइन पढ्नु भने पनि बेलाबेला बिजुली र नेट गैरहन्छ । नगए पनि गयो बत्ति गयो, नेट छैन भन्न पाइन्छ । बहाना बनाउन, काम छल्न पाइन्छ, अनि भएको छैन त फाइदा ? 

अलिअलि डराएर घरभित्रै बस्नेलाई पनि फाइदै छ । दिनहुँ नुहाउन परेन । दाह्री कपाल काट्न र मेकअप गर्न परेन । बेलाबेला लुगा, जुत्तामोजा धुन परेन ।

प्रधानमन्त्री र सरकारलाई झन् फाइदा । सडकमा विरोधीहरु निस्कन नसक्ने भएकाले जे मन लाग्यो त्यही निर्णय र काम गर्न पाइएको छ । कोरोना र निषेधाज्ञाले सरकारका आफन्तको बाटो छेकिँदैन, पराईको मात्र छेकिने हो । 

सरकारमा भएकालाई मात्र होइन, सरकारमा नभएका नेतालाई पनि फाइदै छ । कोरोना, लकडाउन र निषेधाज्ञा नभएको भए मुख देखाउन गाह्रो हुन्थ्यो । अहिले त बाहिर निस्कनै परेको छैन, निस्कँदा पनि मास्क लगाउन पाइएको छ । कोही नहिँड्ने सडकमा हिँड्न पाइएको छ । अनुहार देखाउनै परेको छैन, फाइदैफाइदा छ ।

मनपरी भाउ बढाउन पाइने भएकाले व्यापारीलाई फाइदा । प्रेस लेखेर खाली सडकमा फूल र हिमालको फोटो खिच्दै गाडीमा राखेर कुकुर डुलाउन र मैयालाई घुमाउन पाइने भएकाले पत्रकार र मालिकलाई फाइदा । निर्धक्क घुम्न पाइने भएकाले ठूलाबडा, नेता र भुँडीवाल व्यापारीलाई फाइदा । त्यसमाथि नेता, व्यापारी, पत्रकार, अनि पहुँच भएकाहरुलाई त कोरोनाले पनि छुन सक्दैन । सडकमा जति डुले पनि भयो । 

कोरोनाको डर नहुनेलाई झन् फाईदै फाइदा । अलिअलि डराएर घरभित्रै बस्नेलाई पनि फाइदै छ । दिनहुँ नुहाउन परेन । दाह्री कपाल काट्न र मेकअप गर्न परेन । बेलाबेला लुगा, जुत्तामोजा धुन परेन । 

नयाँ लुगा किन्न परेको छैन । नुहाउन, दाह्री कपाल काट्न, मेकअप गर्न परेको छैन । कुन दिन, कुन रात, कुन तिथि, कुन बार, बेला बित्यो, अबेला भयो भन्न परेको छैन । दिनभरी घुरे पनि भएकै छ, रातभरी जागे पनि भएकै छ ।

कोरोना नलाग्दासम्म पो डर थियो । कोरोना लाग्न थालेपछि डर पनि हराउन थालेको छ । बाटो खाली छ, तै पनि हिँड्न परेको छैन । हरेकका घरमा नयाँ नयाँ परिकार बन्छ, तर पाहुनालाई दिन परेको छैन । 

पहिले दिनमै ५, ६ सय रुपैयाँ सकिन्थ्यो । अहिले ५ रुपैयाँ खर्च गर्नु परेको छैन । एक रुपैयाँ खर्च नभई तीज सकियो । अब दशैँ तिहार पनि सुको खर्च नभइ सकिने छ ।

बेला बेलामा घरमा पाकेको खाँदा गाला राता भएका छन् । छाला चिल्लो भएको छ । घण्टा घण्टामा साबुन पानीले धुंदा हातखुट्टा टलक्क टल्केका छन् । जतिपल्ट हात धोए पनि कसैसित हात मिलाउनु र मिसाउनु परेको छैन ।

आइतबार बिहान उठ्नेबित्तिकै ओहो शनिबार कहिले आउँछ भन्नु परेको छैन । पहिले दिनमै ५, ६ सय रुपैयाँ सकिन्थ्यो । अहिले ५ रुपैयाँ खर्च गर्नु परेको छैन । एक रुपैयाँ खर्च नभई तीज सकियो । अब दशैँ तिहार पनि सुको खर्च नभइ सकिने छ ।

पहिले पहिले एक दिन बन्द हुँदा ओहो खत्तम भयो जस्तो लाग्थ्यो, अहिले झण्डै ६ महिनासम्म बन्द हुँदा पनि केही भएझैं लाग्दैन । गाडी नगुडे पनि भएकै छ । कार्यालय नखुले पनि चलेकै छ । बजार पसल बन्द भए पनि पुगेकै छ ।

लकडाउन र निषेधाज्ञाका कारण के कति घाटा वा नोक्सान भयो अथवा हुन्छ त्यो पछिको कुरा हो । भोलिको कुरा भोलि नै गरौंला । जे होला, भोलि होला । भोलि कसले देखेको छ र ? आज त कोरोनाले नभेट्दासम्म सबैलाई फाईदा मात्रै भएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया