अनलाइनबाट रचना वाचन प्रतियोगितादेखि पुस्तक विमोचनसम्म

 भदौ १३, २०७७ शनिबार १०:४:८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - गएको जेठ २१ गते जूम एपको माध्यमबाट अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलन २०७७ को आयोजना गरियो । सम्मेलनमा देश तथा विदेशमा रहेका कविहरु सहभागी भए । सबैले आफ्ना रचना प्रस्तुत गरे । 

मध्यपश्चिम र सुदूरपश्चिममा मनाइने गौरा पर्व पनि यो वर्ष गएको वर्षजस्तो धुमधामले मनाइएन । कोरोना र लकडाउनका कारण गौरा पर्वको एक प्रमुख पाटोको रुपमा रहेको देउडा पनि प्रभावित भयो । तर गुगुल्डी वाङ्‍मय प्रतिष्ठानको आयोजनामा तीन दिने अनलाइन देउडा वाचन कार्यक्रम भने भयो ।  भदौ ६ देखि ८ गतेसम्म चलेको कार्यक्रममा सुदूरपश्चिम र मध्यपश्चिमका ३० भन्दा बढी देउडा गायकहरुले जूमबाट आफ्ना रचना वाचन गरे ।

संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देउडाका साथै ढुस्को, धमारी, फाग, सगुन जस्ता लोप हुने अवस्थामा पुगेका परम्परागत गीतहरुसमेत प्रस्तुत गरिए । कोरोनाको कारण प्रत्यक्ष भेटघाट गरेर देउडा खेल्न नपाए पनि अनलाइनको माध्यमबाट संस्कृतिको संरक्षणका साथै देउडा खेल्ने रहर पूरा गरेको देउडिया रमेश पन्त ‘मितबन्धु’ बताउनुहुन्छ ।  

त्यसैगरी फेसबुक र यूट्युब लाइभको माध्यमबाट जेठ ३ गते धनगढी सृजना उत्सव मनाइयो । सृजनशील मञ्च, सुदूरपश्चिमको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफ्ना सृजनाहरु प्रस्तुत गरे । भदौ १५ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पहलमा शैली थिएटरले फेसबुक लाइभमार्फत सम्झनामा राष्ट्रकवि माधव प्रसाद घिमिरे नामक परिसंवाद एवं रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । यो कार्यक्रम राष्ट्रकविको सम्झनामा गर्न लागिएको हो ।  

पछिल्लो समय कविता, कथा, गजल र निबन्ध प्रतियोगिताहरुसमेत अनलाइनबाटै र विजेताहरुको घोषणा फेसबुक र युट्युब लाइभमार्फत गर्ने चलन बढ्दो छ । यद्यपि यसरी अनलाइनबाट आयोजित प्रतियोगिताहरुको निष्पक्षतामा भने प्रश्न उठाउने गरिएको छ । विगतमा अनलाइन माध्यमबाट आयोजित कतिपय प्रतियोगिताहरु विवादितसमेत बनेका छन् 

यी त केही प्रतिनिधिमूलक कार्यक्रमहरु मात्र हुन् । रचना वाचन, साहित्यिक प्रतियोगिताहरु जस्तै पुस्तक विमोचन पनि अनलाइनबाटै गर्न थालिएको छ । लकडाउनका कारण कार्यक्रम गर्न नसकिएको भन्दै केही साहित्यिक पुस्तकहरु अनलाइन कार्यक्रम गरेर विमोचन गर्न थालिएको छ । 

सरकारले लकडाउनको घोषणा गरेपछि हरेक दिनजसो गजल वाचन, कवि सम्मेलन, साहित्यिक प्रतियोगिताहरु र बहसहरु अनलाइनका विभिन्न माध्यमबाट भइरहेका छन् । स्रष्टा तथा समालोचक महेश पौड्याललाई पछिल्लो समय  भ्याइनभ्याइ छ । कविता, कथा तथा समालोचनाका कार्यक्रमहरु सकेसम्म छुटाउन नचाहने उहाँ दिनहुँजसो कुनै न कुनै साहित्यिक कार्यक्रममा सहभागी भैरहनुहुन्छ । 

उहाँले अहिलेसम्म २० भन्दा धेरै साहित्यिक कार्यक्रममा सहभागिता जनाइसक्नुभएको छ । प्रत्यक्ष हुने कार्यक्रममाभन्दा अनलाइनबाट हुने कार्यक्रममा केही प्राविधिक जटिलता हुने भए पनि अरु खासै समस्या नहुने उहाँ बताउनुहुन्छ । उहाँ आफैँ निर्णायक भएर पनि कतिपय कार्यक्रममा सहभागिता जनाइसक्नुभएको छ ।

जूमबाट हुने प्रतियोगितात्मक कार्यक्रम निष्पक्ष नहुन पनि सक्छ भन्ने आरोपको खण्डन गर्दै समालोचक पौड्याल भन्नुहुन्छ ‘निष्पक्ष हुने र नहुने भन्ने कुरा निर्णायकमा भर पर्छ । मैले धेरै कार्यक्रममा जूममार्फत् नै निर्णायक भएर काम गरिसकेँ । मलाई औँला उठाउने त अहिलेसम्म कोही भएनन् ।’ तर अनलाइनबाट कार्यक्रमभित्र केही प्राविधिक कमजोरी भने खोज्न सकिने उहाँ बताउनुहुन्छ । जूममा अनुहार मात्र देख्न पाइने भएकाले पूरै हाउभाउ नियाल्न कठिन हुन्छ । जूमले निःशुल्क समय उपलब्ध गराउने भनेको ४० मिनेट हो  ।

यदि समय किनेको छैन भने ४० मिनेटपछि जूम अनज्वइन हुन्छ । फेरि ज्वइन गर्दा कार्यक्रममा आएकाहरु हराउने डर हुन्छ ।  कार्यक्रम बिथोलिन सक्छ । ४० जना सहभागी  कार्यक्रममा एक पटक जुम अनज्वइन भएर फेरि ज्वइन हुँदा १६ जना मात्रै सहभागी भएका अनुभव पनि उहाँसँग छ । 

लकडाउनपछि अनलाइनको माध्यमबाट लगभग २० भन्दा बढी कार्यक्रमहरु र त्यसमध्ये १० भन्दा बढी राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सहभागिता जनाइसकेको कवि कविराज भट्ट बताउनुहुन्छ । महेश पौड्याल  र कविराज भट्ट जस्तै कवि सुदेश सत्याल, कवि देवी नेपाल, समालोचक गोविन्दराज भट्टराई पनि लकडाउनपछि अनलाइन माध्यमबाट साहित्यिक कार्यक्रमहरु आयोजना गर्ने ट्रेण्ड बढेको बताउनुहुन्छ । 

अरु क्षेत्रहरुजस्तै कोरोना र लकडाउनको प्रभाव नेपाली कला साहित्य क्षेत्रमा पनि परेको छ । लकडाउनको कारण हिँडडुल, भेटघाट र यातायात बन्द भएपछि साहित्यिक कार्यक्रमहरु अनलाइन माध्यमबाट हुने गरेका छन । अहिलेको जस्तो महामारीको अवस्थामा इन्टरनेटको माध्यमबाट आयोजना गरिने कार्यक्रमहरुले गर्दा भौतिक दूरी कायम हुने र टाढा भएका मानिसहरुकोसमेत सहभागिता हुने हुँदा यसको प्रयोग बढ्न गएको छ । 

इन्टरनेट र सामाजिक सञ्जालहरुको विस्तार र प्रयोगसँगै मानिस हरेक क्षेत्रमा आफूलाई प्रविधिमैत्री बनाउन लागि परेको छ । यो अवस्थामा पछिल्लो समय साहित्य र कला क्षेत्र पनि प्रविधिसँगै अगाडि बढ्न थालेको छ । सजिलै र छिटो सञ्चार गर्न सकिने, समयको बचत हुने, आफ्नो घरबाटै देश विदेशका कार्यक्रमहरुमा सहभागी हुन सकिने र कोरोनाको सङ्क्रमणको जोखिमसमेत नहुने हुँदा अनलाइन कार्यक्रमप्रति आकर्षण बढेको हो ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया