ब्ल्याक होल

 भदौ २०, २०७७ शनिबार ७:३९:१९ | केशवराज ज्ञवाली
unn.prixa.net

हिजो अफिसबाट हिँड्ने बेलामा, सहयोगी भाइले एउटा ठूलो खाम मेरो हातमा दियो ।

भन्यो, ‘दिउँसो कसैले यो तपाईंलाई  दिनु भनेर रिसेप्सनमा छोडेर गएछ ।’

मैले ओल्टाई पल्टाई हेरें । ठूला ठूला अक्षरमा मेरो नाम लेखिएको थियो । मैले खाम खोलें । भित्र अर्को खाम थियो । त्यसमा गोप्य र व्यक्तिगत लेखिएको थियो । घडी हरें, छ बजिसकेको थियो । त्यो खाम आफ्नो ल्यापटपको झोलामा कोचेर बाहिर निस्कें ।

भोलिपल्ट बिहान साढेचार बजेतिर उठेर केही लेख्ने  कोसिस गर्दै थिएँ । हिजोको चिठीको याद आयो । झोलाबाट खाम निकालें र भान्सामा गएँ । चिया नखाई भएन । पानी बसालें र खाम खोलें । भित्रबाट एउटा चिठी र एउटा डायरी निस्कियो । चिट्ठी पढन शुरु गरें ।

‘लेखक, मैले तिम्रा केही फुटकर लेख, कथा पढेकी छु । मलाई तिम्रा रचनाहरु एकदम मन परेर होइन, आफ्नो कुरा सुनाउन कोही नपाएकोले यो चिठी तिमीसम्म पुगेको हो । मेरो अन्तर्यको  कुरा सुनाउन मिल्ने मान्छे कोही पनि भेटिनँ । म अनायसै पोखिएँ पनाभरि । तेजाबजस्तो यो आत्माभिव्यक्ति लेखिसकेपछि धुजा धुजा पार्न मन मानेन । निर्धक्कसँग यो मेरो कुरा हो भनेर सिरानीमा राख्ने हिम्मत मसँग छैन । पेशाले कथा लेख्ने तिम्राे लागि यो गज्जबको बिषय पनि हुनसक्ला । आफ्नो ऐंठन कम गर्न लेखेको भए पनि, तिमी मार्फत नै सही, मेरो जीवनमा जोडिएको कुनै पात्रले पढ्यो भने यो कथा ! मलाई यो काल्पनिक रोमाञ्च नै काफी छ । सत्यलाई जस्तो छ त्यस्तै सामना गर्ने साहस मसँग छैन ।’

पत्रमा यो भन्दा बढी केही पनि थिएन । पत्रसँगै एउटा पातलो डायरी थियो । ठूलो कपभरि मरिच हालेको पिरो कालो चिया बनाएँ । घरका अरु सबै मान्छे सुतिरहेकै थिए । चियाको चुस्की सँगै डायरी पल्टाएँ । डायरीको पहिलो र दोस्रो पाना च्याँतिएको थियो । तेस्रो पानाको सिरानमा तीन हरफ लेखेर काटिएको थियो । त्यसको ठीक तलपट्टि सुन्दर अक्षरहरु थिए । मैले फेरि चियाको चुस्की लिएँ र पढ्न सुरु गरें ।

किन यति अप्ठ्यारो भैरहन्छ मलाई ? दैनिक जीवननै एउटा युद्धजस्तो । हप्तादिन देखि राम्ररी सुतेकी छैन ।
श्रीमानलाई पनि अलि फरक अनुभव भएछ कि ? 

आज बिहान क्याम्पस  जानुअघि श्रीमानले मलाई पटक पटक सोधे, ‘तिमीलाई ठिक छ ?, सञ्चो भएन भने रोग पालेर नबस है ।’

मलाई उत्तर पनि दिन मन थिएन । तर केही त भन्नैपथ्र्यो । ‘त्यस्तो केही पनि होइन, अलि टाउको दुखेजस्तो भएको छ । माइग्रेन होला । एकदुई दिनमा ठीक होला । धेरै चिन्ता नगर्नु ।’ मैले उत्तर दिइ सक्नुभन्दा पहिले उनी ढोका बाहिर गैसकेका थिए । 

शरीरमा खासै विसञ्चो त थिएन । त्यसै बसेर पनि केहि समाधान हुने होइन । समाधान हुनलाई पनि केही समस्या त हुनुपर्यो नि । जीवनभरको  उदासीलाई कसैले समस्या भन्छ ?

लाग्छ मभित्र एउटा खालीपन छ । अँध्यारो गहिरो खाडल । ‘ब्ल्याक होल’ भन्छन नि, हो त्यस्तै । एउटा गहिरो खालीपन जो केही गर्दा पनि भरिँदैन । त्यति छोटो समयमा पनि तिमी गहिरोसँग आरोपित भयौ म भित्र । जब  छुट्टियौं , गहिरो खालीपन दिएर गयाै   ।

एउटा गाँठो छ भित्र भित्र कतै, त्यसै त्यसै अचेटी रहन्छ । छोरो घरमै भएको भए पनि  केही त हुन्थ्यो काम गर्न । उसकै लागि भए पनि खाना बनाउनु, स्कुल जान तयार गरिदिनु । एउटा नियमित व्यस्तता हुन्थ्यो र मलाई यति धेरै सोचिरहने फुर्सद हुँदैनथ्यो होला । छोरो होस्टेल गएपछि त्यो काम पनि घटेको छ । श्रीमान् बिहान पढाउन कलेज हिँडेपछि एकैचोटी साँझ आउँछन् ।

उनले भने पनि, ‘अब नयाँ काम खोज अथवा अहिलेकै अफिसमा फुलटाइम मिल्छ कि ?, हप्ताको तीन दिन, त्यो पनि जम्मा चार घण्टा पनि कुनै काम हो ? खाली भएर दिक्क भाको तिमी ।’

हो , पक्का । लाग्छ मभित्र एउटा खालीपन छ । अँध्यारो गहिरो खाडल । ‘ब्ल्याक होल’ भन्छन नि, हो त्यस्तै । एउटा गहिरो खालीपन जो केही गर्दा पनि भरिँदैन । त्यति छोटो समयमा पनि तिमी गहिरोसँग आरोपित भयौ म भित्र । जब  छुट्टियौं , गहिरो खालीपन दिएर गयाै   । कति कोसिस गर्छुं, नहेरुं त्यो अँध्यारो, न सम्झुं तिमीलाई , तर सक्दिनँ ।

त्यही दिन साँझ त हो, फिजिक्स प्रोफेसर मेरा श्रीमान्,  कसैलाई भन्दै थिए, ‘जसलाई हामी ब्ल्याक होल भन्छौँ । त्यो खाली ठाउँ त हुँदै होइन । ब्रम्हाण्डकै सबैभन्दा सघन क्षेत्र हो त्यो । त्यहाँ  असीम  गुरुत्वाकर्षण छ । त्यसको आकर्षणबाट केही उम्किदैन, स्वयम् प्रकाश पनि बाङ्गो हुन्छ त्यहाँ पुगेपछि । त्यही बाङ्गिएको प्रकाशको परिधिभित्र जे छ त्यही ब्ल्याक होल हो । सबैभन्दा रमाइलो कुरा के हो भने, सबै तस्बिरहरु ब्ल्याक होलको कारण उत्पन्न प्रभावहरुको हो । ब्ल्याक होलको होइन ।’ यति भनेर उनी चुप लागे । 

म भान्सा सफा गरिरहेकी थिएँ र भर्खरै सुनेका कुरा मनभरि घुम्न थाले । के ब्ल्याक होलको  बाहिर अन्तरिक्ष मात्रै छ ?  म भोगिरहेकी छु, एउटा ब्ल्याक होल आफैँभित्र । मेरो सम्पूर्ण अस्तित्वले भित्रपट्टी केही लुकाएर राखेको छ । असीम आकर्षण छ त्यसमा । म हरसमय तानिइरहन्छु, त्यतातिर । सायद मेरो सबै अस्तित्व मभित्रको त्यो ब्ल्याक होल वरिपरि बनेको छ । त्यसकै आकर्षणले तोकेको परिधि नै मेरो सीमारेखा भएको छ ।

श्रीमानले मलाई धेरै पटक सोधेका छन् , ‘किन तिमी बाहिर जान मन गर्दिनौं ?’

पटक पटकको आग्रहपछि दिक्क लागेर होला भन्छन्, ‘तिमी कस्ती अनौठी ? कहीं जान मन लाग्दैन । घुम्न मन लाग्दैन । अरु त कति मौका खोज्छन् लोग्ने स्वास्नी सँगै हिँड्न ।’

बिचरा, उनलाई के थाहा म किन हिँड्न मन गर्दिनँ ? 

लाग्छ मेरो सारा सीमाहरु तिमीसँगको त्यो २ वर्षले निर्धारण गरेको छ । तिमी एउटा ठूलो ब्ल्याक होल, म तानिईरहन्छु निरन्तर त्यतै । अचम्म लाग्छ सम्झिँदा बीस वर्षपछि पनि ।

कैयौँपटक झस्केकी छु आफ्नै लोग्नेको अनुहारसँग । म हेरिरहेकी हुन्छु उसलाई र अचानक त्यो अनुहार बदलिन्छ र तिमी भैदिन्छ । मैले त्यसरी हेरेको देखेर श्रीमानले कैयौँपटक भनेका छन, ‘म पनि कम राम्रो छु र ?’ 

म हाँसिदिएकी छु त्यसमा । उनी त्यसैलाई प्रेम भन्ठान्छन् । एउटै छानामुनि बस्नु, खानु बच्चा जन्माउनु । नामको अगाडि श्रीमान्, श्रीमती लेख्नु प्रेमका अभिव्यक्ति हुन सक्छन् । तर ती सबै क्रियाविना प्रेम हुने नसक्ने त होइन नि । जसलाई प्रेम भनेर व्यवहार चलेको छ । त्यो सायद प्रेमको प्रभावबाट उत्पन्न हुने घटना मात्रै हो ।  प्रेम त अर्कै केही हो रहेछ । जसको चित्र भेटिदैन, मात्र भेटिन्छन् त्यसका प्रभावहरु । तिनै प्रभावका चित्रहरुमा झुक्किइरहन्छ मान्छे । तिमी र तिम्रो प्रेम, म भित्रको ब्ल्याक होल ।

मेरो मनमा यी सबै कुराहरु पनि नआउँदा हुन्, यदि तिमीसँग त्यसरी भेट नहुँदो हो ।

मेरो व्यवहार देख्यौ भने तिमीले सजिलै भन्न सक्छौ, मैले जे गरिरहेछु त्यसमा प्रेम छैन । त्यो त खालीपनको अभिव्यक्ति हो । जसलाई निरन्तर भर्न कोसिस गरिरहेकी छु । गृहिणी भएर, आमा भएर, कामकाजी भएर । मनको कोमलतम भागबाट आफ्नैलागि खोजेको एउटा परिचय छ – प्रेमिका । यो भने म तिम्रो बाहेक अरु कसैको हुन सक्ने भइन यो जुनीमा ।  

कहिलेकाहीँ श्रीमान भन्छन्, ‘तिमी खुलेर हाँस्दिनौं ।’

‘म त सधैँ यस्तै त हुँ नि’,  झुठ बोलिदिन्छु म । कस्तो दुख्छ ढाँट्नुपर्दा । ‘बिचरा मेरो श्रीमान्, तिमीले मेरा खित्काहरु कहिल्यै देख्न पाएनौं’, मलाई उनीमाथि अनन्त दया लाग्छ । 

मेरो व्यक्तित्वको गहिराइमा एउटा निस्पट अन्धकार लुकेर बसेको छ र म घुमिरहेछु त्यसैको वरिपरि । जसरी मेरा श्रीमान् कसैलाई बयान गर्दै थिए ब्ल्याक होल । 

कसैले अनुमान गर्नसक्ने भन्दा पनि बढी आउँछौ तिमी मेरो सम्झनामा । म एक्लै हुँदा तिमीसँग कुरा गरिरहेकी हुन्छु । म कतै जाँदा तिमीसँग घुमिरहेकी हुन्छु । लाग्छ मेरो जीवन  उही बीस वर्ष पुरानो समयको झ्यालखानामा जाकिएको छ । जसको ढोकामा ताल्चा ठोकेर, म आफैंले चाबी लुकाएकी छु । 

एकपटक भान्सामा अचार बनाइरहेकी थिएँ । याद आयो, तिमीलाई पिरो कत्ति मनपर्थ्याे । तिमी नाक रातो पार्दै सीऽऽ, सीऽऽ गर्दै खान्थ्यौ पिरो खानेकुराहरु । मेरो खित्का छुट्थ्यो ।

सम्झिँदा सम्झिँदै धेरै नै खुर्सानी हालिदिएँ ।

भाग लगाउने बेला भयो । लाग्यो तिम्रो लागि पनि छुट्टयाइदिउँ अलिकति– भूत मन्साए  जस्तो, होइन, होइन देउतालाई चढाएजस्तो । तर अगाडि तिमी त थिएनौ, त्यो पिरो अचार खान । 

श्रीमानले जब पहिलो गाँस मुखमा हाले, उनी चिच्याए, ‘यस्तो पिरो कसैले खान्छ ?’

म  हाँस्न थालें, उता रिसको पारो चढ्यो । म पनि च्याठ्ठिएँ त्यसै ‘मन नपरे नखानु नि, कसैले कर गरेको छ ?’

फेरि आफैंमाथि रिस उठ्यो । म किन यति निष्ठुर श्रीमानप्रति ।  दौडिँदै एक गिलास दूध ल्याएर दिएँ र भने, ‘सरी, झुक्किएँ आज ।’

मेरा श्रीमान् केही नबोली बाँकी खाना खाएर उठे । यसरी अवरोध पुर्याइरहन्छौ तिमी । यस्ता सयौं घटना घट्छन्, दिनदिनै ।

हेर्नेलाई त लाग्दो हो म कति सुखी । के छैन, धन, सम्पत्ति, नाम सबै । मेरा श्रीमान् पनि बेलाबखत भन्छन्, ‘म सम्पूर्ण भएको छु । तिमीजस्ती आमा पाएर–मेरो सन्तानका लागि । कस्तो भरिपूर्ण छ ।’कहिलेकाहीँ म दिक्क हुँदा अलि अघिसम्म पनि श्रीमान् भनि रहन्थे, ‘म कुरो बुझ्दिन । चाहिएको के हो ? सबै त छ । कमी के छ ? घर छ, पैसा छ, नाम छ यो भन्दा अरु के चाहियो ?’

भन्न मिल्ने भए भनिदिन्थे, के चाहियो भनेर, तर मिल्दैन ।

कहिलेकाहीँ सोच्छु, तिमीले पनि मैले जस्तै यो प्रेमको अनुभव गरेको भए कस्तो हुँदो हो ? तर तिमी, तिमी हौ र म, म । बिलकुल फरक मान्छे । फरक अनुभूति ।

तिमीले कहिल्यै भनेनौ बिहेमा तिम्रो रुचि छ । मलाई सधैँ बिहे, प्रेम भोग्ने स्थायी माध्यम जस्तो लाग्यो । 

लाग्दछ, हामी तीनवटै प्राण । तीनवटा भिन्न आयाममा उभिएका छाैं र भोगिरहेका छाैं, देखिरहेका छौं प्रेमको  बहुआयामिक चरित्र ।

बाहिरबाट देख्नेले भन्नेछन्, ‘कस्तो प्रेमपूर्ण संसार ।’ तर यसको भार कति मिहिनेतपूर्वक उठाएकी छु मैले कसले देख्छ यो कुरा । बाहिरबाट हेर्दा देखिने भुवाँजस्तो गृहस्थी, कति गरुङ्गो छ मेरो लागि । लाग्छ भागौं यहाँबाट । तर भागेर जाऊँ कहाँ ? न त भाग्नलाई हिजो तिमीले पर्खेका थियौ न त आज छौ कतै ।

तिमीसँग फेरि भेट भएपपछि बेचैन छु म ।  त्यस्सै, अकारण । तिमीसँग फेरि भेट नभएको भए हुने । यति धेरै जीवन्त हुने थिएन होला तिम्रो सम्झना । आफ्नो मनको अँध्यारो कुनामा, जहाँ स्वयमकाे प्रवेश पनि निषेध छ । त्यस्तो ठाउँमा,  जोगाएर राखेको किशोर प्रेमका सम्झनाहरुको सामना गर्नुपर्ने थिएन । एकजना मेरो सहकर्मी बिरामी भएकोले, उसको स्थानमा म त्यो तालीममा गएकी थिएँ । मलाई के थाहा मेरो नियतिको प्रपञ्च । तालीम हलको दोस्रो लहरको बीचतिरको एउटा कुर्सीमा बसेर आमालाई म्यासेज गर्दै थिएँ । अगाडि एकजना अग्लो, पातलो मान्छे प्रोजेक्टरमा आफ्नो कम्प्युटर जोड्दै थियो । 

एकछिनपछि अगाडिको मान्छेले  अलि चर्को तर शान्त स्वरमा भन्यौ, ‘अब सुुरु गरौं है ?’

म मेरो फोनबाट आँखा उठाएर भित्तातर्फ हेरे त्यहाँ तिम्रो नाम लेखिएको थियो ‘डा. सुबोध शर्मा’ । म अचानक सचेत भएँ । अर्धनिद्रामा कसैले चिसो पानी खन्याएजस्तो भयो । मैले तिमीलाई निमेषभरमै चिनें । तिमी त्यही केटो थियौ । त्यही नाक, आँखा, ओठ, निधार । त्यो एक क्षणमा मैले तिम्रो सम्पूर्ण व्यक्तित्वलाई आफूभित्र  उतारें ।  कसरी चिन्दिनथें मैले तिमीलाई ?, तर मेरो छातीभित्र मुटु, तर्सिएको मृगजस्तै दौडिरहेको थियो । 

मन भनिरहेको थियो, ‘साँच्चै के यो मैले चिनेको, जानेको, मैरो सम्पत्ति ठानेको ‘सुबु’ नै हो त ?’

म गलत थिइनँ प्यारा । कुनै लोभी मानिसले उसको कन्तुरको भित्री भागमा मखमलमा बेरेर लुकाएको मोतीजस्तो, त्यो तिमी थियौ, मेरो प्रेम । 

एक एक गर्दै सबैले आफ्नो परिचय दिँदै गए । म संज्ञाशून्य तिमीतर्फ हेरिरहें । मेरो सँगैको सिटमा बस्नेले ‘म्याडम, अब हजुरको पालो’ भनेपछि मेरो मुखबाट अनायास निस्कियो ‘स्नेहा शर्मा ।’

मलाई पक्का थाहा छैन तर त्यो क्षणमा, जब मेरो नाम हावामा तैरिरहेको थियो मलाई लाग्यो तिम्रा आँखा केही चम्किला भए ।

तिमी तालीम दिन आएका विशेषज्ञ शिक्षक, मान्छेहरुसँग कुरा गर्दै, हसाउँदै प्रश्न गर्दै आफ्नो काम गरिरह्यौ । तिमीले बोल्दा, हाँस्दा, हिँड्दा, थाहै नपाइ आफ्नो कपाल सुमसुम्याउँदा म अनायासै हुत्तिएर बीस वर्ष अघिकी षोडशी भएँ । सम्झनामा कलेज, क्यान्टिन, साथीहरु, चियाका चुस्की, सिनेमा, उन्मुक्त हाँसोहरु आइरहे र आयौ तिमी पनि, अग्लो, हँसिलो तर गम्भीर, बाक्लो चस्मा लगाउने पढन्ते ‘टपर’ ।

म अत्यन्तै औसत बुद्धि भएकी, औसत देखिने, औसत परिवारकी अनि औसत केटी तिम्रो संगतमा नपनुपर्ने हो । तिम्रा  नबुझिने दर्शनका, सिद्धान्तका अनौठा र अनमेल जस्ता लाग्ने कुराभन्दा सिनेमा मन पर्नुपर्ने । सिंग पुच्छर नभएका जोक्स मन पर्नुपर्ने । प्यारा त्यो समयमा म मोहनी लागेजस्ती भएँ, तिमीसँग पढ्नु, घुम्नु, तिम्रो बारेमा सोचिरहनु मेरो चर्या भयो ।

जसरी इन्द्रेणी घाम वा पानीको जिद्दीले लामो समय स्थीर रहँदैन, प्रेम पनि अस्थायी अवस्था हो । भाग्यमानी तिनीहरु हुन्, जो पटक पटक त्यो संयोगको साक्षी भैरहन्छन्

तिम्रा अनौठा र गम्भीरजस्ता लाग्ने कुरा पनि मलाई मनपर्ने भए । मलाई सम्झना छ, एकपटक तिमीले इन्द्रेणी देखाएर भनेका थियौ ‘प्यारी, प्रेम त्यो इन्द्रेणी जस्तै हो ।  मात्र एउटा अवस्था , संयोगको सृजना । यो सधैँ रहँदैन यसको भोग त्यही संयोगको अन्तरालमा मात्र सम्भव छ । यदि कसैले त्यो संयोगलाई सधैँको लागि साच्न खोज्यो भने असफलता निश्चित छ ।’ 

म अवाक तिमीलाई हेरिरहें, सायद तिमीलाई लाग्यो होला मैले कुरा बुझिनँ ।

‘स्नेहा, जसरी इन्द्रेणी घाम र पानीको संयोगको अवस्थामा पैदा हुन्छ । प्रेम पनि त्यस्तै हो । विशिष्ट । जसरी इन्द्रेणी घाम वा पानीको जिद्दीले लामो समय स्थीर रहँदैन, प्रेम पनि अस्थायी अवस्था हो । भाग्यमानी तिनीहरु हुन्, जो पटक पटक त्यो संयोगको साक्षी भैरहन्छन्’, तिमीले भनेका थियौ । 

मलाई अहिलेसम्म थाहा छैन, मैले तिमीलाई सम्पूर्ण सुने कि सुनिनँ, बुझे कि बुझिनँ म सायद तिम्रो आकर्षणमा आकण्ठ डुबेर तिमीले बयान गरेको संयोगको भोग गर्दै थिएँ । 

‘मेरो निजी दार्शनिक’ म तिम्रो नजिक सर्दै भनें, ‘तिम्रो अगाडि साक्षात् इन्द्रेणी उपस्थित छ । तिमीचाहिँ आकाशको इन्द्रेणीमा समय खेर फाल्छौ ?’ 

अर्को क्षणमा हामी अँगालोमा थियौं । सुबु, त्यो पहिलो पुरुष स्पर्श । आफ्नै नारीत्वसँगको प्रथम दर्शन । प्यारा, तिमीले बयान गरेको इन्द्रेणीको सबै रंगहरु म आफूभित्र अनुभव गर्दै थिएँ ।

सुबु, मलाई थाहा थियो, तिमी पश्चिम पहाडबाट पढ्न आएका थियौ । तिमीलाई धेरै टाढा पुग्नु थियो । यो संसारमा आफ्नो पाइलाको छाप छोड्नु थियो । तिमी अर्जुनदृष्टिका मालिक, आफ्नो निश्चयमा अडिग, ढुङ्गजस्तो व्यक्तित्व ।

तिमीलाई पनि मेराे बारेमा थाहा थियाे । म अतिसय सामान्य, तिम्रो जस्तो दूरदृष्टि नभएकी, प्रत्येक दिन जसरी आउँछ त्यसरी नै खुसी वा दुःखी हुने साधारण युवती । तिमी भन्थ्यौ, ‘यही साधारण देखिने चर्यामा तिम्रो  विलक्षण शान्ति र सन्तुलन छ ।’

सायद त्यो मेरो प्रशंसा थियो । म चाहिँ तिम्रो मुखबाट मेरो नाम सुनेर ढकमक्क फुल्थें । मेरा लागि तिम्रो वरिपरि हुनु, तिम्रो अनुगामिनी हुने कल्पना मात्रै पनि सुखको स्रोत थियो । सुबु, त्यो दुई वर्षमा मैले अनेकानेक इन्द्रेणीको दर्शन गरें, एक्लै बस्दा, तिमीसँग हुँदा, म सधैं तिमीमा डुबिरहें ।

त्यो समय जति नै प्रिय भए पनि घण्टाघरको घडी आफ्नै गतिमा हिँडिरह्यो । हामी दिन, हप्ता र वर्ष बिताउँदै कलेज सकिने खुड्किलोमा आइपुग्यौं । तिमीसँग योजनाहरु थिए, स्नातक कहाँ पढ्ने, के पढ्ने आदि इत्यादि । मसँग तिमी थियौ र तिमीलाई सुन्दा म सम्पूर्ण कान मात्रै हुन्थे । 

हाम्रो परीक्षाफल आयो । तिमी सधैंजस्तो उत्कृष्ट भयौ, म पनि तिम्रो संगतले हो वा कसरी राम्रै गरें  । सायद त्यसको झण्डै महिनादिन पछि होला, म तिम्रो डेरामा थिएँ । 

तिमीले पकाएको कालो चिया पिउँदै थियाैं । तिमीले भन्यौ, ‘स्नेहा छात्रवृत्तिमा पढ्न जान मिल्लाजस्तो छ । सायद एक डेढ महिनामा थाहा होला ।’

म एकैछिन खुशी भएँ । फेरि दुःखी भएँ । के भन्ने ? केही थाहा भएन । हावामा फैलिएको तिम्रो वासना, फोक्सोभरि भरेर म निस्किएँ तिम्रो डेराबाट । त्यो दिन ढलेर साँझ पर्नु मेरा लागि सजाय भयो । रातभरि छटपट छटपट गरिरहें । एकपटक तिमीलाई कतै नजाऊ भन्न मनलाग्यो । एकपटक मलाई पनि लैजाऊ भन्न मनलाग्यो ।  पहिलोपल्ट सोध्न मन लाग्यो तिम्रो ठूलो योजनामा म कहाँनिर पर्छुं भनेर ।

 त्याे दिन त्यहाँ म आफूलाई  रित्याउन गएकी थिएँ । मलाई नछोएर, निशब्द बसेर तिमीले मेरो अपमान गर्याै । अत्यन्त संवेदनशिल बिन्दुमा दिएको सानो धक्का पनि अन्यत्रको कठोर प्रहारभन्दा बढी दुख्दोरहेछ ।

भोलिपल्ट बिहानको खाना खाइवरी म झण्डै दौडिदै तिम्रो डेरामा पुगें । तिमी केही पढ्दै थियौ । म पुगेपछि हामी केही हाँस्याैं । गफ गर्याैं, सधैँजस्तै । तिमीलाई थाहा थिएन, त्यो सधैँ जस्तै देखिने मभित्र आज एउटा हुण्डरी थियो ।

मलाई कारण थाहा थिएन, तर तिमी त्यो दिन अलि उत्ताउला भएका थियौ । मैले तिम्रो अनुशासनहीन हातलाई टयाप्प समातेर भनें, ‘योभन्दा टाढा जान मलाई तिम्रो सिन्दूर चाहिन्छ ।’

म आज पनि छक्क पर्छु मजस्ती सुधी, डरपोक केटीले कसरी आँट गरेर त्यति बोल्न सकी भनेर । त्यसपछि तिमी रोकियौ । तिमीले झुट नै सही आश्वासन मात्रै दिएका भए पनि मभित्रको बाँध फुट्ने थियो सायद त्यो दिन । म बाहिर नदेखिएकी हुँदी हु, तर तिम्रो संगतले, प्रेमले, बैंशले, म पनि भित्रभित्रै उत्ताउली भएकी थिएँ ।  मुखसम्मै टिलपिल टिलपिल भरिएको गाग्रीजस्तै भएकी थिएँ ।  सानै धक्काले पनि छचल्किन तयार थिएँ ।

मेरा शब्दभित्र निवेदन पनि थियो र आग्रह पनि । जेसुकै भनेर भए पनि, झुट नै सही मलाई फकाउ, मनाउ र चाहे जसरी भोग र सन्तुष्ट होऊ तिमी । उत्कर्षमा मैले मेरो गन्तव्य भेट्ने थिएँ । तर तिमी थियौ,  साक्षात पाषाण ।आफूलाई युधिष्ठिरको अवतार ठान्ने, कठोर हृदयका मालिक । तिमीले हठात् मलाई तिम्रो अँगालोबाट मुक्त गर्याै ।

केही क्षणको लामो र अप्ठयारो शान्तिपछि तिमीले भन्याै, ‘चिया खाऊ, म लिएर आउँछु ।’

तिमीलाई लाग्यो होला, म तिम्रो खाजा पर्खिनेछु र सधैँजस्तो म चिया खाएर घर फर्किनेछु ? त्यो दिन त्यहाँ म आफूलाई  रित्याउन गएकी थिएँ । मलाई नछोएर, निशब्द बसेर तिमीले मेरो अपमान गर्याै । सुबु, अत्यन्त संवेदनशिल बिन्दुमा दिएको सानो धक्का पनि अन्यत्रको कठोर प्रहारभन्दा बढी दुख्दोरहेछ । म तिमी नफर्किदै त्यहाँबाट हिँडे । तिम्रो संसार अत्यन्तै अपरिचित लाग्यो । त्यो दिन म घायल, अस्वीकृत र अपमानित भएर म तिम्रो संसारबाट बिदा भएँ । मलाई अहिले सम्झना छैन, म रोइरहेकी थिएँ वा थिइन तर मभित्र आँसुको, क्रोधको, पीडाको सागर उर्लिरहेको थियो । 

सुबु, मैले असाध्यै मन पराएको, माया गरेको, आदर्श ठानेको मेरो नायक त्यो दिन कायर सावित भयो ।

त्यो दिन घर फर्केर, आफ्नो कोठामा सिरकभित्र धित मरुन्जेल रोएपछि मैले आफैंलाई  भनें, ‘अब, तिमीसित भेट्ने कुनै प्रयोजन छैन । तिमीसँगको संगतले थप पीडा र अपमान मात्र दिनेछ ।’ 

मैले आफूलाई  किताबहरुमा, घरको काममा व्यस्त राखें । कहिलेकाहीँ तिमीलाई भेट्ने तीव्र इच्छा हुन्थ्यो । तिम्रो सम्झनाले रातभरिको निद्रा हराउथ्यो तर हरेक पटक तिमीलाई सम्झिँदा मेरो अपमानबोध बढीरह्यो । सायद यसरी नै मेरो झण्डै दुई महिनाको समय बित्यो । त्यो बीचमा तिमीले फोन पनि गर्यौ । 

आमाले ‘तिम्रो कलेजको सुबोध भन्ने साथीले फोन गरेको छ’ भन्दा मैले ‘मैले चिन्दिन, छैन भन्दिनुस्’ भनें । त्यस्ता फोनहरु आइरहने हुँदा आमालाई अनौठो लागेन । 

त्यसको केही हप्तापछि होला मेरो सहपाठी इन्दिरासँग भेट भएको । ऊ मेरो घरमा आई । 

मेरो कोठामा आएर ढोका बन्द गर्दै भनी, ‘के छ तेरो खबर ?, बाहिर तेरो मजनु बजारभरि घुम्दैछ, तचाहिँ घरमा ?’ ऊ त्यस्तै थिई गफाडी । मैले आँखाभरि प्रश्न लिएर उसको अनुहारमा हेरें ।

‘त्यो सुबोध थियो नि कलेजको, अस्ति बाटोमा भेटिएको थियो । भेटेको दुई मिनेटमै तिम्रो त स्नेहासँग भेट हुन्छ होला, यो चिठी देऊ न है प्लिज भन्छ ।’ इन्दिरा फेरि हास्दै भन्न थाली, ‘मैले आफैं देऊ, म अरुको चिठी बोक्ने मान्छे हो र भनेको, कस्तो बिचरा देखियो ऊ त ।’

इन्दिरा हाँसेको हाँस्यै थिई । इन्दिराले एउटा खाम मेरो हातमा राख्दै भनी, ‘खोल्न, पढौं, तेरो लभलेटर, तिमीहरुको लभ पर्या  हो कि क्या हो ?’

‘एक, दुई पटक बोलेको मात्रै हो । तँलाई थाहा छ नि केटाहरुको ताल । नजाने गाउँको बाटो किन सोध्ने’ यति भनेर मैले त्यो चिठी फुत्त भुइँमा फालिदिएँ र भनें, ‘म त पढ्दिनँ ।’

त्यतिबेला मेरो हातबाट छुटेर मेरो मुटु भुइमा खसेको जस्तो भयो मलाई ।

मलाई इन्दिरासँग तिम्रोबारेमा सोध्न मन लागेको थियो । तिमी कस्तो देखिएका थियौ ? के लगाएका थियौ ?, दुब्लो थियौ ? दाह्री पालेका थियौ ? तर सुबु म त्यति सजिलै खुल्ने मान्छे कहिले पो थिएँ र ? मनभरि हतार लिएर मैले उसका चाहिँदा नचाहिँदा कुराहरु सुनिरहें । लामो गन्थनपछि ऊ गई ।

मैले तिम्रो चिठी हेरिरहें । त्यो खामभित्र तिमी बन्द थियौ । खामभित्रैबाट तिमी केही भन्न खोज्दै थियौ । तिमीबाट निराश हुँदाहुँदै पनि, म तिमीलाई सुन्न आतुर थिएँ । म मेरो रोमाञ्च देखेर आफैं छक्क परिरहेकी थिएँ । केही समय पहिलेसम्म तिमीसँग बोल्न, भेट्न अस्वीकार गरिरहेकी म अचानक तिमी यसरी प्रकट हुँदाको यो आतुरी ! प्यारा, प्रेम कस्तो अनौठो हुँदोरहेछ !

अन्ततः इन्दिरा गई । उसको उपस्थिति मलाई एक युग जस्तै लागेको थियो । म उसलाई पुर्याउन  घरको मूलढोकासम्म गएँ र उसलाई छोडेर दौडिदै कोठामा फर्के । त्यहाँ तिमी मलाई पर्खिरहेका थियौ, बन्द खाम भित्र । मैले हतारहतार खामभित्रबाट चिठी निकाले र । उत्सुकता र वेचैनीका साथ पढ्न थालेँ ।

‘स्नेहा, तिमीलाई यो चिठी लेख्नपर्ने अवस्थामा पुग्दा मलाई ग्लानिबोध भइरहेको छ । तिमीलाई सामुन्ने राखेर यही कुरा भन्न पाएको भए, खुशी लाग्दो हो । म दोषी छु यसको लागि, मलाई माफ गर प्यारी । मैले तिमीसम्म पुग्ने कोशिश पनि गरेको हुँ ।  तिम्रो अस्विकारको सगरमाथा चढ्नु मेरो सामर्थ्यभन्दा बाहिरको कुरा सावित भयो । जे होस्, अहिले तिम्रो आँखा मैले लेखेका हरफहरुमा दौडिरहँदा, मैले कतै न कतै तिमीलाई छोइरहेको छु । स्नेहा, तिम्रो नाममा थप्न मिल्ने सम्बोधन मसँग छैन । तिम्रो नाम मेरा लागि प्रेमको पर्याय भएको छ । तिम्रो उपस्थितिले दिने कोमलतम अवस्थाको अनुभवको तुलना म केसँग गरुँ ? अहिले मैले त्यो गुमाएको छु । त्यो  अन्तिम  भेटपछि हाम्रो सम्बन्ध जुन बिन्दुमा पुगेर रोकिएको छ त्यसलाई बुझ्ने कोसिस गर्दैछु ।

प्यारी, अहिले सम्झिरहेको छु । तिमीसँगको प्रथम भेट, तिम्रो वास्ना, तिम्रो हाँसो । म भन्न सक्दिन, कुन दिनमा, कुन क्षणमा म तिमीतर्फ तानिएँ वा कहिले पो तिमी तिर तानिइन ? अत्यन्तै कोमल फूलजस्ती जीवन्त तिमी । फेरि सम्झिरहेको छु हाम्रो सम्बन्धको प्रहारजस्तो बज्रिएको तिम्रो वाक्य, ‘मलाई सिन्दूर चाहिन्छ’ ।

तिमी वा म कुनै पनि क्षणमा सँगै नहुन, स्वतन्त्र हुँदा पनि सँगै हुने इच्छामा मैले प्रेम देख्छु तर सँगै हुने इच्छा समाप्त भइसकेपछि पनि सँगै बस्ने बाध्यतामा विवाह ।

मैले मेरो जीवनमा जति सम्बन्धहरु देखें, मेरो बाआमा, काका–काकी, मामा–माइजू र अरु अनेक अनेक जोडीहरुका, तिनीहरुमा प्रेमबाहेक बाँकी सबै कुरा देखें । सबै सबै सम्बन्धहरु दैनिकीमा बाँधिएका, आवश्यकताले र कतिपय लोकलाजले मात्र अडिएका । दैनिक जीवनका पट्यारलाग्दा आवश्यकताहरुको बोधमा थिचिएर, सामाजिक मर्यादाका पर्खालहरुमा यति बिघ्न बाँधिएको देक्छु कि हृदयको कुनामा कतै प्रेम बाँकी छ भने पनि नदेखिने अवस्थामा पुगेको प्रतीत हुन्छ ।

मायाको साक्षात् स्वरुप जस्ती मेरी प्रेमिका ! प्रेमको सम्बन्ध बराबरीमा आधारित छ । त्यो बराबरीले दिने स्वतन्त्रताको शक्ति तिमीले अहिले नै भोगिरहेकी छ्यौ । स्नेहा, यदि तिमीले थोरै मात्रै ध्यान दियौ भने देख्नेछौ, प्रेमिका भएर तिमीले मेरा आग्रहहरुलाई आफ्नो सुविधा अनुरुप स्वीकार वा अस्वीकार गर्न सक्छ्यौ । म तिमीलाई र तिमी मलाई बाध्य पार्न सक्दैनौं । तिमी वा म कुनै पनि क्षणमा सँगै नहुन, स्वतन्त्र हुँदा पनि सँगै हुने इच्छामा मैले प्रेम देख्छु तर सँगै हुने इच्छा समाप्त भइसकेपछि पनि सँगै बस्ने बाध्यतामा विवाह । त्यो बाध्यताको घेराभित्र धेरैपटक व्यभिचारजस्ता सम्बन्धहरु देखेको छु । हिंसापूर्ण सम्बन्धहरु देखेको छु । प्यारी तिमीप्रति सम्पूर्ण मन र शरीर, आशक्त भइरहँदा पनि म मान्न सकिरहेको छैन नारी र पुरुष प्रेमको चरम अभिव्यक्ति बिहे हो । म आहत छु, स्तब्ध छु ।

स्नेहा, म अझै काचै पनि हुन सक्छु । तर मैले तिमीलाई श्रीमती बनाएर खुट्टा ढोगाएर आशिर्वाद दिन थालें भने, हामी बीचको सम्बन्धको बराबरी त्यहीं मर्नेछ । बराबरी प्रेमको पहिलो शर्त हो । डर लागेको छ । अन्तिम हुनसक्ने चिठीमा पनि म बहसमै व्यस्त छु । शायद तिमीलाई निराश पनि पारिरहेको छु ।

प्यारी, नेपाल छोडनुभन्दा पहिले तिमीलाई भेट्न पाए हुने । एकपटक छुन पाए हुने, म आउँछ है छिट्टै भन्न पाए हुने । मैले धेरै कोशिस गर्दा पनि तिमीलाई भेट्न र देख्न सकिनँ । यो चिठी लेखेको तेस्रो दिन मैले नेपाल छोड्नेछु, मेरो पढाइको लागि । जानुभन्दा पहिले मैले देखेको सपनाको बोली तिमीलाई पनि सुनाउन मन थियो । दःखी छु । अब भेट हुँदैन होला । मन भारी हुन्छ सम्झिँदा । तिमी मसँग रिसाएकी छौ । म तिमीलाई नफकाई हिँड्दैछु । तिम्रो स्वतन्त्रताको सीमा भत्काउने मेरो हैसियत र इच्छा दुवै मसँग छैन । बिदा ।

चिठी सकियो । अनायासै भित्तामा टाँसिएको भित्तेपात्रोमा मिति हेरें । तिमी त्यही दीन जाँदै थियौ । त्यतिबेला तिमीलाई भेट्न पाएको भए भन्ने थियो, तर समयले डाँडो काटिसकेको थियो । म तिमीसँग रिसाउन पनि नसक्ने रहेछुं । म धेरैबेर रोइरहें ।

तिमीले दिएको तालीममा बस्दा , यी सबै सम्झना एक एक गर्दै आए । 

यत्तिकैमा कसैको ठूलो आजाज सुनियो, ‘ल, पन्ध्र मिनेटको ब्रेक है ।’ म झल्यास्स भएँ, तिमी मै भएतर्फ आइरहेका थियौ ।

‘स्नेहा होइन ?, त्रिचन्द्रको आईएस्सी’, तिमी मेरो अगाडिको बेन्चमा बसेउ र भन्यौ, ‘मलाई चिन्याै ?’

त्यो पनि कुनै प्रश्न थियो ! मलाई उत्तर दिनै मन लागेन । मैले चिने भनेजस्तो गरी टाउको हल्लाएँ ।

‘तिमी त अझै उस्तै थोरै बोल्छ्याै जस्तो छ । कति धेरै कुरा सोध्नु छ तिमीलाई, तालीम सकिएपछि कुरा गरौं न एकैछिन ।’ तिमीले यसो भन्दा म थरथर काँपिरहें । तिम्रो ओठमा  पुरानो मुस्कान थियो । सुनेकी छु, रक्सी जति पुरानो भयो त्यति नै मिठो हुन्छ रे ।

एक क्षणको लागि लाग्यो, तिम्रो हात समातु र सोधुँ, ‘कहाँ गएका थियौ, मलाई एक्लै छोडेर ?’, तर मैले भनें, ‘म त निस्किन लागेकी, घरबाट फोन आयो ।’
‘ए हो र ?’ तिम्रो अनुहार कत्ति पनि उदास देखिएन । 

तिमीले कर गरेका भए भन्दी हुँ,  ‘पर्ख है म एकैछिनमा आइहाल्छुँ । तर तिमीले कहिले पो म माथि हकपूर्वक  बोलेका  थियौ र ? के प्रेम भनेको एक अर्काको निजि क्षेत्रमा गरिने हस्तक्षेप होइन ? खै बुझेको ? मैले आँ गर्दा तिमीले अलंकार नबुझी दिएपछि, म बोल्नुको के अर्थ ?

तिमी एकैछिन रोकियौ र भिजिटिंग कार्ड दिँदै भन्यौ, ‘म अझै एक महिनाजति नेपालमा बस्छु , मिल्छ भने एकपटक भेटौं न है ?’ मैले तिम्रो हातबाट त्यो भिजिटिंग कार्ड लिएँ र बाहिर निस्कें ।

म त्यसै एक हप्तादेखि नसुतेकी हुँ र ? मैले तिमीलाई किन भेटुँ वा नभेटुँ ? कति धेरै जान्न मन छ तिम्रा बारेमा ।

के यो दुनियाँमा कोही छ, जसले मलाई भनिदेओस्, ‘जाउ भेट, केही हुँदैन । मन लागुन्जेल कुरा गर ।’

लेखक, सुबोधलाई इमेल नलेखेर, मैले तिमीलाई यो डायरी लेख्ने निर्णय गरें । अब म उसलाई भेटेर के गरुँ ? 

कदाचित, सुबोध अझै पुरानै समयमा अल्झेको रैछ भने । अथवा उसले गएको दिनको भोगाई केही होइन जस्तो गरिदियो भने ? उसको लागि त्यो मात्र अपरिपक्व उमेरको, उत्ताउलोपन रैछ भने । या उसको व्यवहार कुनै समयका सामान्य सहपाठी सँगको जस्तो भैदियो भने । 

यी कुनै पनि  अवस्था मेरो लागि असहनीय पीडाका स्रोत बन्नेछन् ।

धेरै रात अनिदो बसेपछि लाग्यो । अब भेट्नुको प्रयोजन छैन । मेरो प्रेम, जस्तो छ त्यस्तै रहोस्, आकाशको चन्द्रमा जस्तो । अप्राप्य र सुन्दर । त्यसको नजिक पुगेर, त्यसका दागहरु जान्नु छैन । दोषहरु जान्नु छैन । मेरो कल्पनाको चित्र मेरो मनमा जति सुन्दर छ, आकर्षक छ त्यस्तै रहोस् । मेरो भोग त्यसको प्राप्तिमा होइन, आकर्षणमै मात्र सिमित रहोस् । 

मुटु भित्रैसम्म शुल धसिन्छ । आह !, यो अप्राप्ति र असन्तोष जीवनको अन्तिम क्षण सम्मको साथी अब । आखिर अस्तित्व पनि पीडाबोधमै सबैभन्दा बढी प्रस्ट हुने त हो । अब यही चेतनाको भरमा आफूलाई महसुस गर्नु छ बाँकी जिन्दगी ।
 

अन्तिम अपडेट: असोज २, २०७७

तपाईको प्रतिक्रिया