नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता : प्रधानमन्त्री ओली

 भदौ २२, २०७७ सोमबार ६:३०:१९ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्यरुपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको छ । 

अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा कोभिड-१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताउनुभयो ।

उहाँले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र पालिकासमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पार्नुभयो । 

काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति  स्पष्ट पार्दै उहाँले भन्नुभयो ‘भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्दछु । छिमेकी भारतले धेरै रकम रेमिट्यान्स भित्र्याउनेमध्ये छैटौँ देश नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन ।’

छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गर्नुभएको थियो । त्यसक्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया