रुकुम पश्चिम : कोरोना रोकथाममा चार महिनामा १० करोड २२ लाख बढी खर्च

 भदौ २४, २०७७ बुधबार १६:१०:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – गएको आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म कोरोना भाइरस रोकथाम, नियन्त्रण, तथा पूर्वतयारीका लागि रुकुम पश्चिममा १० करोड २२ लाखभन्दा बढी रुपैयाँ खर्च भएको छ । रुकुम पश्चिमका ६ पालिका र जिल्ला प्रशासन कार्यालयमार्फत चार महिनाको अवधिमा १० करोड २२ लाख ६८ हजार तीन सय ३४ रुपैयाँ खर्च भएको हो । 

कुल रकममध्ये जिप्रकामार्फत १९ लाख ९९ हजार दुई सय एक रुपैयाँ खर्च भएको छ भने १० करोड दुई लाख ६९ हजार एक सय ३३ रुपैयाँ पालिकामार्फत खर्च भएको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जिल्ला प्रशासन कार्यालयबाट भएको खर्च रकमले सबै पालिकामा स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताउनुभयो । सुरक्षाकर्मी र कर्मचारीको लागि पनि आवश्यक स्वास्थ्य सामग्री खरिद गरिएको उहाँले भन्नुभयो ।  

चाैरजहारी नगरपालिका

गएको असार मसान्तसम्म सबैभन्दा बढी खर्च चौरजहारी नगरपालिकाले गरेको छ । विभिन्न शीर्षकमा तीन करोड ८९ लाख २० हजार ६ सय ५१ रुपैयाँ खर्च गरेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार पीसीआर ल्याब सञ्चालन तथा स्वयंसेवक पारिश्रमिक गरी ७४ लाख ९३ हजार सात सय ८८ रुपैयाँ खर्च भएको छ । 

त्यस्तै आइसोलेशन अस्पताल तथा क्वरेण्टीन निर्माणसँग सम्बन्धित कार्य र अन्यमा एक करोड ९९ लाख ६१ हजार नौ सय सात रुपैयाँ खर्च भएको छ । नगरपालिकाले दैनिक छाक टार्न मुस्किल भएका ६ सय २८ घर परिवारलाई २० लाख रुपैयाँको राहत वितरण गरेको छ । अधिकृत केसीले प्राकृतिक प्रकोप रोकथाम, तयारी, उद्धार, राहत तथा पुनस्र्थापना शीर्षक अन्तर्गत स्वास्थ्य समग्री खरिद तथा जोखिम भत्तालगायतमा ९४ लाख ६४ हजार नौ सय ५६ रुपैयाँ खर्च गरिएको बताउनुभयो । चौरजहारीले जिल्लामै पहिलो पटक पीसीआर परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । यसका साथै नगरपालिकाले आइसोलेशन अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । 

आठबीसकाेट नगरपालिका

त्यसैगरी आठबीसकोट नगरपालिकाले कोरोना नियन्त्रणमा एक करोड ९६ लाख ६३ हजार ६ सय १२ रुपैयाँ खर्च गरेको जनाएको छ । अस्पताल निर्माण तथा व्यवस्थापनमा एक करोड १७ लाख ८१ हजार चार सय ७५ र क्वरेण्टीन निर्माण, सञ्चालन तथा व्यवस्थापनमा ३१ लाख १४ हजार एक सय २४ रुपैयाँ खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार औषधि तथा स्वास्थ्य उपकरण खरिदमा ११ लाख ३३ हजार तीन रुपैयाँ र विपद्को समयमा खटिएका कर्मचारीहरुलाई कार्यपालिकाको निर्णयअनुसार जोखिम भत्ता, खाजा तथा यातायात खर्चमा तीन लाख ३६ हजार पाँच सय ३५ रुपैयाँ खर्च भएको छ । 

अधिकृत लम्सालले दिनुभएको जानकारीअनुसार विपन्न तथा मजदुर गरेर परिवार पाल्नेहरुलाई १८ लाख ६३ हजार पाँच सय ४० रकम बराबरको राहत वितरण गरिएको छ भने देशका विभिन्न स्थानमा रहेकालाई उद्धार गरेर नगरपालिका ल्याउँदा १४ लाख ३४ हजार नौ सय ३५ रुपैयाँ खर्च भएको छ । नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १७ लाख २० हजार सात सय ४० रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आइसोलेशन अस्पतालसमेत सञ्चालन गरेको छ । 

मुसिकाेट नगरपालिका

मुसिकोट नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नरवीर खड्काले एक करोड ४६ लाख ९९ हजार सात सय ३२ रुपैयाँ कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको बताउनुभयो ।

नगरपालिकाले विभिन्न वडामा ज्याला मजदुरी गरेर जीविकोर्पान गर्दै आएका व्यक्तिहरुको लागि २७ लाख ४२ हजार तीय सय रुपैयाँ बराबरको राहत समाग्री वितरण गरेको छ भने ३८ लाख ४२ हजार चार सय ३२ रुपैयाँ स्वास्थ्य सुरक्षा सामग्री खरिदमा खर्च गरेको छ । 

निमित्त प्रशासकीय अधिकृत खड्काका अनुसार नगरपालिकाले आइसोलेशन भवन निर्माणको लागि ३० लाख र क्वरेण्टीन व्यवस्थापन र सञ्चालनमा ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । नगरपालिकाले विभिन्न स्थानबाट मजदुर र विद्यार्थीलाई उद्धार गर्दा तीन लाख ५० हजार र कोरोनाका शङ्कास्पद बिरामीहरुलाई अस्पताल लैजाँदा एम्बुलेन्स भाडा शीर्षकमा एक लाख ४५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । त्यसैगरी कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा सूचना प्रकाशन, प्रसारणमा चार लाख ७० हजार रुपैयाँ खर्च भएको खड्काले जनाउनुभयो । 

मुसिकोट नगरपालिकाले यी खर्च सङ्घीय तथा कर्णाली प्रदेश सरकार, आन्तरिक र नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमबाट व्यवस्थापन गरेको जनाएको छ । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकबाट ८५ लाख ६८ हजार आठ सय ७७ रुपैयाँ प्राप्त भएको थियो भने विभिन्न व्यक्ति र संस्थाबाट चार लाख ५५ हजार एक सय पाँच रुपैयाँ सहयोगस्वरुप प्राप्त भएको थियो । 

त्रिवेणी गाउँपालिका

रुकुम पश्चिमका तीन गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी बजेट खर्च गरेको जनाएको छ । गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रणका लागि एक करोड २२ लाख १६ हजार ९२ रुपैयाँ खर्च गरेको स्वास्थ्य शाखा संयोजक वीरबहादुर डाँगीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले सबैभन्दा बढी ५३ लाख ८८ हजार चार सय ७२ रुपैयाँ क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापनमा र ३४ लाख सात हजार पाँच रुपैयाँ स्वास्थ्य सामग्री खरिदमा खर्च गरेको छ ।

स्वयंसेवक परिचालनमा १५ लाख ८१ हजार, आइसोलनश वार्ड निर्माणमा आठ लाख २८ हजार, नागरिक उद्धारमा पाँच लाख २९ हजार नौ सय, सूचना तथा सञ्चार खर्चमा ९९ हजार दुई सय र विविध शीर्षकमा तीन लाख ८२ हजार पाँच सय १५ रुपैयाँ खर्च भएको स्वास्थ्य संयोजक डाँगीले जनाउनुभयो । यी खर्चको व्यवस्थापनको लागि कर्णाली प्रदेश सरकारले १५ लाख र पालिकाले स्थापना गरेको कोषमा १० लाख रुपैयाँ जम्मा भएको र बाँकी खर्च गाउँपालिकाले बेहोरेको उहाँले उल्लेख गर्नुभयो । 

बाँफिकाेट गाउँपालिका

बाँफिकोट गाउँपालिकाले असार मसान्तसम्म विभिन्न शीर्षकमा ९५ लाख ३२ हजार तीन सय ८३ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङले कोरोना रोकथाम तथा उपचारको लागि निर्माण गरिएका क्वरेण्टीन व्यवस्थापन र सञ्चालनमा १६ लाख ६० हजार दुई सय २८ र स्वास्थ्य उपकरण तथा औषधिजन्य सामग्री खरिदमा २१ लाख रुपैयाँ खर्च भएको बताउनुभयो । अधिकृत गुरुङका अनुसार गाउँपालिकामा ३७ लाख ५० हजार रुपैयाँको राहत वितरण गरिएको छ भने २० लाख २२ हजार एक सय ५५ रुपैयाँ जोखिम भत्ता शीर्षकमा खर्च गरिएको छ । 

सानीभेरी गाउँपालिका

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भने गएको असार मसान्तसम्म सबैभन्दा कम खर्च भएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपाल सिंह विष्टले गएको आर्थिक वर्षको चार महिनामा ५२ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ खर्च गरेको बताउनुभयो । गाउँपालिकाले औषधिजन्य सामग्री खरिदमा नौ लाख ३६ हजार ३८ र क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापनमा २५ लाख ४४ हजार तीन सय ४२ रुपैयाँ खर्च गरेको छ । उहाँका अनुसार खाद्यान्न तथा राहत वितरणको लागि १० लाख एक हजार सात सय ८८ र पीसीआर परीक्षण तथा ढुवानीमा ३० हजार रुपैयाँ खर्च भएको छ । 

अलपत्र मजदुर तथा विद्यार्थीको उद्धारमा यातायात शीर्षकमा सात लाख २४ हजार चार सय ९४ रुपैयाँ खर्च भएको अधिकृत विष्टले उल्लेख गर्नुभयो । यातायात र राहत वितरणमा कर्णाली प्रदेश सरकारले सहयोग गरेको थियो भने अन्य सबै रकम गाउँपालिकाले बेहोरेको उहाँले बताउनुभयो ।  

गएको आव २०७६/०७७ मा कोरोना नियन्त्रण, उपचार तथा पूर्वतयारीको लागि रुकुम (पश्चिम) मा गरिएको खर्च विवरण–

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया