क्रिकेटर ललित भण्डारीलाई काठमाण्डौ ल्याइयो

 भदौ २९, २०७७ सोमबार १८:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाण्डौ ल्याइएको छ । 

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले भण्डारीको थप उपचारका लागि सिम्रिक एअरको हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

कप्तान मल्लले भण्डारीको सहयोगका लागि खेलाडीले साथ दिने बताएका छन् । साथै उनले उपचारका लागि थप सहयोग गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । ललितको उपचारका लागि नेपाल क्रिकेट सङ्घले समन्वय र सहयोग गर्ने जनाएको छ । 

सोमबार अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा सङ्घको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता रहने जनाएका छन् । ललित आइतबार साँझ ट्रकको ठक्करबाट घाइते भएका थिए । उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो । धनगढीबाट उनलाई आइतबार राति कोहलपुर ल्याइएको थियो । कोहलपुरमा उपचारपछि उनी खतरामुक्त भएका थिए ।

कोहलपुरमा गरिएको अपरेशनमा ललितको दायाँ खुट्टा र दायाँ हातको नाडीमा फ्याक्चर देखिएको छ । अपरेसनका लागि उनलाई काठमाण्डौ ल्याइएको हो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया