थप ४ स्यानिटाइजर उद्योगलाई कारबाही

 भदौ ३१, २०७७ बुधबार १४:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – औषधि व्यवस्था विभागले थप दुई स्यानिटाइजर उद्योगलाई कारबाही गरेको छ । दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएकाले कारबाही गरेको विभागले जनाएको छ ।

चीन, भारत, काठमाण्डाै र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको छ ।  

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजरमा ६० प्रतिशत इथानोल रहेको भेटिएको हो । यो स्यानिटाइजर गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो ।

यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ । ललितपुरमा रहेको सम्पदा हेल्थ केयरले उत्पादन गरेको सासा इस्ट्यान्ट र श्रीनाथ हर्बल कस्मेटिक इण्डस्ट्री काठमाण्डाैले उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म भेटिएको हो ।

बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड विपरीत विषाक्त रसायन समावेश रहेको पाइएको विभागले जनाएको छ ।

चार कम्पनीका उत्पादन तत्काल बजारमा बिक्रीमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ । यसअघि विभागले काठमाण्डाै र चितवनमा सञ्चालित पाँच स्यानिटाइजर कम्पनीको उत्पादन बन्द गर्न निर्देशन दिएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया