पारिश्रमिक निर्धारणपछि महिला क्रिकेटर उत्साहित

 असोज ८, २०७७ बिहिबार १८:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ-   नेपाल क्रिकेट संघ (क्यान) ले  गएको मङ्गलबारको  बोर्ड बैठकमा महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको थियो । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भएका थिए । पुरुष क्रिकेटरलाई भने यसअघि नै ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको सङ्घको निर्णयबाट महिला क्रिकेटरले सुरुवात राम्रो भएको प्रतिक्रिया दिएका छन् । 

भदौ दोस्रो हप्ताका लागि तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको झण्डै तीन हप्तापछि मङ्गलबार चितवनमा सम्पन्न भयो । साधारण सभाको मिति तय हुँदा बैठकमा खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगायतका विभिन्न विषय पारित भए । योसँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई आउँदो दिनमा अझै व्यावसायिक बनाउन र अभिवृद्धिको लागि महिला खेलाडीलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागतयोग्य भएको बताइन् । महिला क्रिकेटमा लागेको लामो समयपछि महिला क्रिकेटले आउँदो दिनमा फड्को मार्ने उनले अपेक्षा गरिन् । 

त्यसो त नेपालको महिला क्रिकेट टोलीलाई दक्षिण एसियामा बलियो टिमका रुपमा हेरिन्छ तर प्रचुर सम्भावना हुँदाहुँदै पनि उपेक्षित रहँदैे आएको छ । न्यून अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । साँघुरो पूर्वाधारका बावजुद पनि महिला क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो छाप छोडिरहेका छन् । कप्तान रुबिनाले भने जस्तै उपकप्तान सीता राना मगरले पनि ग्रेडिङ गरी महिला खेलाडीलाई पारिश्रमिक प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिइन् । 

अन्तर्राष्ट्रिय नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को लामो प्रतिबन्धपछि फुकुवा भएको क्यानले आउँदा दिनमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । कप्तान रुबिनाले नेपाली महिला क्रिकेटको स्तर बढाउन आउँदा दिनमा अन्तर्राष्ट्रियस्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताइन् । 

नेपालमा महिला क्रिकेटरको तुलनामा पुरुष क्रिकेटले फड्को मारिसकेको छ । तर महिला टोली पनि कम छैन । मौका र यथेष्ट प्रतियोगिताबाट अनुभव पाए नेपाली महिला क्रिकेटले नेपालको नाम चम्काउनेमा कुनै शङ्का छैन । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया