फेसबुकमा च्यालेन्ज गर्नेलाई च्यालेन्ज !

 असोज १०, २०७७ शनिबार ७:१८:१० | मिलन तिमिल्सिना
unn.prixa.net

अरु देश कोरोनाविरुद्धको खोप बनाउने च्यालेन्ज गर्दैछन् । जन्मेदेखि नै बहादुर उपमा पाएका हामी नेपालीलाई किन चाहियो खोप ? गुर्जो, हर्रो, बर्रो, तीतेपाती, बेसार, झारबुटी, धामीझाँक्री सबैथोक पाइने ठाउँमा खोप नाथेको के काम ?

कसैले बनाइदियो र ल्याउन सकियो भने जिउँदै भएकाले लगाउँला, मरेर जाने त गैहाल्छन् । हामीलाई वैज्ञानिक खोज, अनुसन्धान, आधुनिक विकास निर्माणसँग च्यालेन्ज गर्नु नै छैन । आफूसँग जे छ, त्यही देखाएर च्यालेन्ज गर्ने हो ।

फेसबुकमा हेर्नुहोस्, सबैसँग केही न केही छ । कोहीसँग ताली छ, कोहीसँग गाली छ । कोहीसँग श्रीमती छ, कोहीसँग साली छ । कसैको जोडी छ, जोडी नहुनेको परिवार छ, कोही पनि नहुनेको एक्लो ज्यान छ । कोही श्रीमान च्यालेन्ज भन्दै बुरुक्क उफ्रन्छन्, कोही श्रीमती च्यालेन्ज भन्दै मसक्क मस्कन्छन् । कोही आफू त सिंगल भनेर ठसक्क ठस्कन्छन् । 

नपत्याए कपलको अर्को अर्थ हेरौं न । ‘क’ भनेको ‘करमा’ ‘प’ भनेको ‘परी’ ‘ल’ भनेको ‘लम्बिएको’ बाध्यकारी सम्झौता ।

दिनरात चप्पल हानाहान गर्ने ‘कपल’ पनि ‘कप्पल च्यालेन्ज’ भन्दै फेसबुक रंगाइरहेका छन् । फेसबुकमा जति चिल्लो घसे पनि वास्तवमा कपलको आफ्नै अर्थ छ । ‘क’ भनेको ‘कहिल्यै’ ‘प’ भनेको ‘पनि’, ‘ल’ भनेको ‘लय नमिल्निे’ । तर कहिल्यै पनि लय नमिल्ने सम्बन्धलाई कपलहरु सम्झौता गर्न बाध्य छन् ।

नपत्याए कपलको अर्को अर्थ हेरौं न । ‘क’ भनेको ‘करमा’ ‘प’ भनेको ‘परी’ ‘ल’ भनेको ‘लम्बिएको’ बाध्यकारी सम्झौता । त्यसैले फेसबुकमा ‘कपल च्यालेन्ज’ गर्नेहरुले आफ्नो यस्तो बाध्यता देखाएका हुन् भनेर बुझ्दा हुन्छ । 

फेसबुकमा कप्पल अर्थात जोडी च्यालेन्ज मात्रै होइन, बाआमा र छोराछोरी च्यालेन्ज पनि सुरु भएको छ । कोही बाआमा देखाउँछन, कोही छोराछोरी । कोही घरवाली देखाउँछन्, कोही बाहिरवाली लुकाउँछन् । धन्न अहिलेसम्म ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड च्यालेन्ज भैसकेको छैन । भयो भने एउटै मान्छे कतिका च्यालेन्ज भएर दशतिर ठोक्किन्थ्यो । अनि आफ्नो असली च्यालेन्ज चाहिँ को भनेर आफैं दशफेर सोच्थ्यो । 

यसैगरी हामी नेपालीलाई फुर्सद धेरै हुन थाल्यो भने सिंगलहरुका ब्वाईफ्रेन्ड र गर्लफ्रेन्ड त सजिलै देख्न पाइन्छ नै । श्रीमानले श्रीमतीको ब्वाईफ्रेन्ड र श्रीमतीले श्रीमानको गर्लफ्रेन्ड समेत देख्न पाउँछन् । अझ डेटिङ र हनिमुन च्यालेन्ज पनि फेसबुकमै देख्न पाइएला । 

पहिले भोट नदिएर वामदेवलाई मतदाताको च्यालेन्ज । अहिले चुनाव हराउने मतदातालाई वामदेवको च्यालेन्ज ।

यी त फेसबुकमा देखिएका र देख्न बाँकी च्यालेन्जका कुरा । फेसबुकमा नदेखिएका तर हाकाहाकी भैरहेका च्यालेन्ज त कति छन् कति ! चुनाव हारेर पटकपटक सांसद बन्न खोजेर बल्लतल्ल राष्ट्रियसभामा पुग्न सफल वामदेव गौतमको कुरा गरौं । पहिले भोट नदिएर वामदेवलाई मतदाताको च्यालेन्ज । अहिले चुनाव हराउने मतदातालाई वामदेवको च्यालेन्ज । झ्यालबाट फुत्त हाम फालेर राष्ट्रियसभामा पुगेका वामदेवलाई अदालतको अर्को च्यालेन्ज । 

ओलीलाई प्रचण्डको च्यालेन्ज, प्रचण्डलाई ओलीको च्यालेन्ज । सत्तापक्षमा मन्त्री खाइरहेकाहरुलाई मन्त्री खान नपाएकाहरुको च्यालेन्ज । प्रतिपक्षमा देउवालाई पौडेलको च्यालेन्ज, पौडेललाई देउवाको च्यालेन्ज । 

गाउँ शहर, सडक बजार, गाडी, जहाज जताततै कोरोनाको च्यालेन्ज । कोरोनालाई मास्क र भौतिक दूरीको ख्याल नगर्नेहरुको च्यालेन्ज । सिमानामा छिमेकीको च्यालेन्ज । खेती किसानीमा मौसमको च्यालेन्ज । घामलाई पानीको च्यालेन्ज, पानीलाई घामको च्यालेन्ज । भर्खर बिहे गरेकालाई कोरोना र मलमासको च्यालेन्ज । 

कोरोनाले जागिर गुमाएकालाई फेरि काम पाउने च्यालेन्ज । काम भैरहेकाहरुलाई टिकिरहन च्यालेन्ज । यस्ता च्यालेन्ज कति छन् कति । तर हामी आफ्नै श्रीमान, आफ्नै श्रीमती, आफ्नै बाआमा, आफ्नै छोराछोरी देखाएर च्यालेन्ज गर्न व्यस्त छौं । यसरी च्यालेन्ज गर्नेलाई च्यालेन्ज छ – फेसबुकमा श्रीमान च्यालेन्ज गरेझैं ब्वाईफ्रेन्ड च्यालेन्ज गर्न सक्छौ ? श्रीमती च्यालेन्ज गरेझैं गर्लफ्रेन्ड च्यालेन्ज गर्न सक्छौ ? 

च्यालेन्ज नै च्यालेन्ज भन्दै रमाउनेहरुले बाढी पहिरो पीडितलाई राहत बाँड्ने च्यालेन्ज गर्न सक्छौ ?

च्यालेन्ज नै च्यालेन्ज भन्दै रमाउनेहरुले बाढी पहिरो पीडितलाई राहत बाँड्ने च्यालेन्ज गर्न सक्छौ ? आफ्नो घर बिगार्दिन र बिग्रन दिन्नँ, बिग्रिएका सम्बन्ध सुधार्छु भनेर च्यालेन्ज गर्न सक्छौ ? भ्रष्टाचार गर्दिन र हुन दिन्नँ भनेर च्यालेन्ज गर्न सक्छौ ? घरबाहिर बाढी पहिरो र भूकम्प रोक्ने च्यालेन्ज गर्न सक्छौ ? घरभित्र मुसा र बाँदर आतंक हटाउने च्यालेन्ज गर्न सक्छौ ? 

यी त अलि ठूला कुरा भए । सानै कुराको च्यालेन्ज गरौं । फेसबुकमा एउटाले जे लेख्यो त्यसकै पछि दौडिएर स्यालहुईंया गर्दिनँ भनेर च्यालेन्ज गर्न सक्छौ ?

फेसबुकमा जथाभावी लेख्दिनँ, यसलाई कामलाग्दा सूचना र जानकारी आदानप्रदान गर्ने ठाउँको रुपमा मात्रै सदुपयोग गर्छु भनेर च्यालेन्ज गर्न सक्छौ ? तपाईंलाई हाकाहाकी च्यालेन्ज गर्ने म आफैं त यस्तो च्यालेन्जमा पछि छु भने तपाईंका कुरा के गर्नु !

अन्तिम अपडेट: बैशाख ४, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया