हिमालय र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य
माघ १४, २०७७ बुधबार
उफ...
उनी आउँथिन्
मेरो निदरीमा सपना बनेर
उनी आउँथिन्
मेरो बिपनीमा सपना नै बनेर
कल्पनामा मलाई चुर्लुम्म डुबाई भन्थिन् !
असम्भव छैन कल्पना र कोसिस गर ।
मैले देख्ने सपना
त्यति ठूली पनि थिइनन्
त्यति सानी पनि त पटक्कै होइनन् !
उनी साथ थिइन् मेरो, उनी नै सहयोग,
उनी प्रेरणा र हौसला पनि थिइन् ।
हैसियत बिर्सिंदा मैले आफ्नो आफैंले
अहंकारलाई भत्काउने शक्ति पनि थिइन् ।
सपनाले दिएको मिठो पाहुर,
मैले साथी सङ्गीहरुमा पनि बाँडेको थिएँ ।
तर केही दिनअघि... !
मैले मेरो सु–सज्जित सपनालाई
भताभुङ्ग देखेको थिएँ
लथालिङ्ग देखेको थिएँ ।
आशाका किरणरुपी रेसाहरु
हराउँदै गए जस्तो,
भरोसाका डोरी चुँडे जस्तो ।
सम्भावनाका पर्खालबाट ढुङ्गा घर्किए जस्तो !
सोचें !
सपना, सपनामै सीमित हुन्छिन् कि ?
अन्ततोगत्वा....
अकस्मात आज !
मेरो सपनाको दुःखद निधन भएको छ ।
मेरो सपनाले अल्पायुमै मृत्युवरण गरेकी छिन् ,
कहिल्यै उठ्नै नसक्ने गरी गर्लम्म ढलिन् मेरी सपना ।
उनी दिवंगत भएकी छिन् !!
म उनको मृत्युको मर्मले भन्दा पनि
शरमले भावविह्वल भएको छु !
म लज्जित छु ।
साथीसङ्गीका बीचमा
नामर्द, पानीमरुवा, र लाचारी जस्ता
उपमाले सजिन्छु कि ?
त्यसैले त
एउटा फूलको थुङ्गा चुडेर
हार्दिक श्रद्धाञ्जली भन्न पनि सकिनँ,
मैले मेरो सपनालाई ।
उफ... सपना भयावह हुँदोरहेछ !!