आईपीएल २०२० : शारजाहमा रनकाे वर्षा, २ खेलमा ८०० भन्दा धेरै रन

 असोज १२, २०७७ सोमबार १५:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) मा शारजाह स्टेडियममा लगातार रन बनिरहेको छ ।

छोटो स्टेडियम र ब्याटिङको लागि सहज पिच भएका कारण छक्काको वर्षा भइरहेको छ । यो स्टेडियममा आइतबार भएको दोस्रो खेलमा कुल २९ छक्का प्रहार भयो । यतिमात्र होइन, दोस्रो पटक दुवै पारीमा दुई सयभन्दा धेरै रन बन्यो । 

यसअघि यही मैदानमा राजस्थानले दुई सय १६ रन बनाउँदा चेन्नईले दुई सय रन बनाएको थियो, त्यही आइतबारको नवौँ खेलमा पञ्जाबले दुई सय २३ रन बनाउँदा राजस्थानले दुई सय २६ रन बनायो । अर्थात् मात्र दुई खेलमा शारजाहमा अहिलेसम्म आठ सयभन्दा धेरै रन बन्यो । 

तथ्याङ्कका अनुसार शारजाहमा अहिलेसम्म खेलिएको दुई खेलमा कुल ६२ छक्का प्रहार भएको छ । जबकि बाँकी दुई स्टेडियम आबुधाबी र दुबईमा खेलिएको सात खेलमा ६५ छक्का प्रहार भएको छ । यसलाई जोड्दा प्रतियोगितामा अहिलेसम्म एक सय २७ छक्का प्रहार भएको छ । 

गज्जबको कुरा त के छ भने राजस्थान टिमले दुवै खेल यही मैदानमा खेलेको छ । उसले चेन्नईविरुद्ध पहिलो खेलमा १७ र पञ्जाबविरुद्ध दोस्रो खेलमा १८ छक्का प्रहार गरेको छ । राजस्थानले एक्लै यस मैदानमा ३५ छक्का प्रहार गरेको छ । 

दुवै खेलमा गरेर सन्जु समसनले १६ छक्का प्रहार गरेका छन्, जो यस प्रतियोगितामा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।   

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया