'आफ्नै देश फर्कन पनि मर्नै पर्ने भाे'

 असोज १४, २०७७ बुधबार ११:१९:२२ | सन्जिता देवकोटा

काठमाण्डौ – ‘एक पटक घर फर्कन पाए !’ अर्जुन लोनियाले यही कामना गर्न थालेको ८ महिना भयो । 

१० महिनाअघि रोजगारीका लागि मलेसिया पुग्नुभएका अर्जुन अहिले घर फर्कनका लागि हारगुहार गरिरहनुभएको छ । बरु नेपालबाट विदेश जान सजिलो भयो । तर विदेशबाट आफ्नै देश फर्कन गरेका हजार कोशिस बेकार भएका छन् । 

घर फर्कनकै लागि आफैं टिकट काट्न तयार हुनुभयो । नेपालमा आएपछि सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड मान्न पनि राजी हुनुभयो । तर आफूले मात्र चाहेर भएन । सम्झौता गरेर जानुभएका अर्जुनलाई अवधि पूरा नभइ कम्पनीले चेकआउट मेमो दिएन । मलेसियामा रहेको नेपाली दूतावास, पठाउने म्यानपावर कम्पनी र कन्सुलर सेवा विभागमा उजुरी दिँदा पनि उपाय लागेन ।

काम गर्न ज्यानले दिंदैन । मलेसिया पुगेपछि पायल्स र मिर्गौलाको समस्याले थलिएका अर्जुनलाई फर्कन कम्पनीले अुनमति दिएन । 

अब गर्ने के त ? यसको उत्तर उहाँले नै पाउनुभएको छैन । 

काम गर्न ज्यानले दिंदैन । मलेसिया पुगेपछि पायल्स र मिर्गौलाको समस्याले थलिएका अर्जुनलाई फर्कन कम्पनीले अुनमति दिएन । 

आफ्नै घर नवलपरासीमा उहाँ ठेला चलाउनुहुन्थ्यो । जीविका चलेको थियो । तर सुन्दर र सुखी भविष्यको कल्पनाले अर्जुनलाई मलेसिया पुर्‍यायो । बुवाले ऋण खोजिदिए । म्यानपावरलाई एक लाख १० हजार बुझाएर उहाँ १० महिनाअघि मलेसिया पुग्नुभयो । काम त सेक्युरिटीको, भनेअनुसारकै मिल्यो । तर समस्या काममाभन्दा पनि आफ्नै ज्यानमा हुन थाल्यो । मलेसिया गएको दुई महिनामै अर्जुनलाई पायल्सले सतायो । मलेसियाकै निजी अपतालमा उपचार गराउन जानुभयो ।

‘समस्या त झन झन बल्झदै गयो, हिँड्न, बस्न उठ्न हुँदैन,’ अर्जुन भन्नुहुन्छ, ‘पायल्स त उपचार गर्दा पनि ठिक होला तर मेरो त किड्नीमा पनि समस्या देखिएको छ भन्छन् डाक्टर ।’

पायल्सले पिरोलेपछि उहाँ केही समय त काममा जान पनि सक्नु भएन । तर काम नगरी परदेशको ठाउँमा कस्ले खान दिने ? काम गर्न समस्या हुन थालेपछि अर्जुनले घर फर्कने निधो गर्नुभयो ।

कम्पनीमा आफ्नो भनाइ राख्नुभयो । कम्पनीले पठाउने मनस्थिति पनि बनाएको थियो । तर त्यही बेला कोरोना महामारीले छोप्यो । जहाजहरु बन्द भए । केही समयपछि दूतावासले समस्यमा रहेका, बिरामी लगायत घर फर्कने चाहनेले फारम भर्नु भनेर खुलायो । फारम भर्नुभयो । फर्कने सूचीमा नाम पनि आयो । जब जहाजहरु नेपाली लिन मलेसिया जान थाले तब कम्पनीको मनस्थिति फेरियो । चेकआउट दिन मानेन् । 

‘सुरुमा त कम्पनीले हुन्छ पनि भनेको हो, समय बित्दै जाँदा के भयो कुन्नी, पछि भएपछि त मसँग उल्टो पो कम्पनीले पैसा माग्न थाल्यो,’ अर्जुन कम्पनीको व्यवहार सुनाउनुहुन्छ । 

कम्पनी पन्छिन थालेपछि उहाँले बरु आफैंले टिकट काट्छु, घर जाने देउ भनेर बिन्ती बिसाउनुभयो । कम्पनीको कुरा एउटै रह्यो । 

अब कम्पनीको भनाइ अनुसार घर फर्कने हो भने अर्जुनले कम्पनीलाई पैसा बुझाउन पर्ने भयो ।

कम्पनीले दुई सर्त राख्यो ।

कि त अर्जुनलाई मलेसिया लैजाँदा लागेको रकम कम्पनीलाई तिर्नुपर्ने । कि त करार अवधिभर काम गर्नुपर्ने । 

पेट भर्नका लागि नसकी नसकी काम गर्ने अवस्थामा रहेका अर्जुन कम्पनीलाई ६ हजार तिरेर फर्कने त कुरै भएन । त्यो ६ हजार तिर्न अर्जुनले थप ६ महिना काम गर्नुपर्छ । 

तर अर्जुनका लागि दुवै सर्त मन्जुर थिएनन् । किनकी कम्पनीले भनेअनुसार उहाँलाई लैजान लागेको ६ हजार रिंगिट तिर्न उहाँसँग रकम छैन । करार अवधिभर काम गरौं ज्यानलाई सञ्चो छैन । 

‘जुरुक्क उठ्दा पनि तुरुक्क आँसु झर्छ, कहाँ दुख्छ दुख्छ, मुटुमै घोच्छ, म सक्दै सक्दिनँ’ अर्जुन आफ्नो अवस्था सुनाउनुहुन्छ । 

आफ्नै खर्चमा खान अनि बस्नको व्यवस्था गर्नु पर्ने कम्पनीको नियम अनुसार बाँच्नकै लागि भए पनि अर्जुनले काम गर्नुपर्ने बाध्यता भयो । 

केही समय ओछ्यानमै भए पनि जबरजस्ती उठेर काममा जान थाल्नुभयो । तर काम गर्न उहाँलाई निकै सकस छ । 

‘दिनभरी काम गर्दा दुखाईले आँखाबाट आँसु झरिरहन्छ, कहिलेकाहीँ  त दुबै दाँत किटेर दुखाई सहन्छु,’ अर्जुन भन्नुहुन्छ, ‘उठ्दा भन्दा सुत्दा झन गाह्रो हुन्छ, म कहिले त रातभरी निदाउन सक्दिनँ।’

फटाफट हिँड्न सक्नुहुन्छ । तर अरु भैं उभिन पनि सक्नु हुन्न । खुट्टाहरु काँप्छन् । दुखिरहन्छ । ननिदाउँदासम्म दुखाइ सहन निकै गाह्रो हुन्छ । 

पेट भर्नका लागि नसकी नसकी काम गर्ने अवस्थामा रहेका अर्जुन कम्पनीलाई ६ हजार तिरेर फर्कने त कुरै भएन । त्यो ६ हजार तिर्न अर्जुनले थप ६ महिना काम गर्नुपर्छ । 

‘६ हजार तिर्न ६ महिना काम गर्दा पनि तिर्न गाह्रो होला, मेरो ज्यान रहला या नरहला छ महिनासम्म त,’ निराश हुँदै अर्जुन भन्नुहुन्छ, ‘अहिले त घरीघरी मर्छु कि जस्तो लाग्छ ।’

आफ्नै देश फर्कंन किन यति गाह्रो 

ज्यान दुखिरहँदा अर्जुनको दिमागमा एउटै प्रश्न घुमिरहन्छ – ‘आफ्नै देश फर्कन पनि किन यति साह्रो ।’

कम्पनीले गरेको व्यवहार र आफ्नो समस्यासहित उहाँले दूतावासमा पनि निवेदन हाल्नुभयो । सुरुमा त दूतावासले कम्पनीसँग कुरा गरिदिने आश्वासन दियो । तर फेरि दूतावासबाट कुरो उही आयो । 

‘पहिला त दूतावासबाट हुन्छ भन्नुभएको थियो, पछि त कम्पनीले मागेको पैसा दिने भए त्यहीअनुसार कुरा अघि बढाउँछौं भन्नुभयो, मैले त्यत्रो पैसा कहाँबाट ल्याउनु ?’ अर्जुन सरकार र दूतावाससँग प्रश्न गर्नुहुन्छ । 

अर्जुन घर फर्कनका लागि टिकट काट्न तयार हुनुहुन्छ । स्वदेश फर्किएर उपचार गर्न चाहानुहुन्छ । तर म्यानपावरलाई तिरेको एक लाख ऋणको ब्याजसमेत तिर्न नसकेको अवस्थामा कहाँबाट तिर्नु कम्पनीलाई पैसा ? 

‘पहिला त दूतावासबाट हुन्छ भन्नुभएको थियो, पछि त कम्पनीले मागेको पैसा दिने भए त्यहीअनुसार कुरा अघि बढाउँछौं भन्नुभयो, मैले त्यत्रो पैसा कहाँबाट ल्याउनु ?’ अर्जुन सरकार र दूतावाससँग प्रश्न गर्नुहुन्छ । 

दूतावासबाट कुरा पार नलागेपछि उहाँले कन्सुलर सेवा विभागदेखि म्यानपावरलाई पनि कम्पनीसँग कुरा गरिदिन अनुरोध गर्नुभयो । फोन गर्दा गर्दा पैसा सकियो । तर कतैबाट पनि सहयोग र समन्वयको कुरो आएन ।

‘दूतावास, कन्सुलर सेवा विभागदेखि म्यानपारसम्म फोन गर्दा गर्दा थाकेँ, अब त मरे पनि मर्छु जस्तो लाग्न थालिसक्यो,’ अर्जुन निराश हुँदै भन्नुहुन्छ, ‘सबैलाई आफ्नै कुरा ठूलो लाग्दो रहेछ, तर कमाउन आएको मानिस काम हुँद हुँदै पनि घर जान्छु भनेर किन रुन्छ भनेर कसैले बुझ्दैनन् ।’

घर फर्कनेको सूची निकाल्दा दूतावासले हरेक पटक उहाँको पनि नाम निकाल्छ । तर घर आउन कम्पनीले दिँदैन । 

‘विदेशमा त बस कामको वास्ता हुँदो रहेछ, बिरामी होस्, कामै गर्न नसक्ने होस् हामीलाई त बन्धक नै बनाउँदा रहेछन्, भावनाको कदर हुँदो रहेनछ’ उहाँ खुइय सुस्केरा हाल्दै भन्नुहुन्छ ।

गाउँकै ठेलागाडा ठिक

बिरामी पर्दा, कसैले दुखाईको वास्ता नगरेको देख्दा हिजोआज अर्जुनलाई लाग्छ बरु गाउँकै ठेलागाडा ठिक । 

थकाई लागे आराम गर्न पाइन्छ । बिरामी भए आफ्नाको साथ पाइन्छ । काम गर्न मन नलागेको दिन छुट्टी पाइन्छ । तर परदेशमा काम नगरे खान पाईंदैन । 

‘आफ्नो देश फर्कन  के मर्नै पर्ने हो र ?’ अर्जुन गम्भीर प्रश्न गर्नुहुन्छ । 

‘बरु नेपालमै केही गर्न बेश रहेछ, अर्काको देशमा मरे पनि यहाँ त कसैले हेर्दैनन्, यहाँको लाखभन्दा त्यहाँको १० हजार नै बेस लाग्यो मलाई त,’ अर्जुन भन्नुहुुन्छ ।

अर्जुनलाई लाग्छ वैदेशिक रोजगारीमा जान पाएजस्तै हरेक मानिसले चाहेको बेला आफ्नो घर फर्कन पाउनुपर्छ । त्यसका लागि सरकार र सम्बन्धित निकायले पहल गरिदिनुपर्छ । 

तर कमाएर देशलाई रेमिट्यान्स पठाउँदासम्म हाईहाई हुने श्रमिकका लागि दुःख परदेश आफ्नै देश परदेश भएको छ । 

‘आफ्नो देश फर्कन  के मर्नै पर्ने हो र ?’ अर्जुन गम्भीर प्रश्न गर्नुहुन्छ । 

उहाँको माग एउटै छ, ‘समस्यामा रहेका आफ्ना नागरिकलाई सरकारले स्वदेश फर्कने वातावरण जस्तो अवस्थामा पनि बनाउनुपर्छ । उहाँ हावाइ टिकट र क्वरेण्टीन खर्च पनि तिर्न तयार हुनुहुन्छ । दूतावासले कम्पनीसँग कुरा गरेर फर्काइदिने वातावरण मिलाउनुपर्ने उहाँको माग छ ।

अन्तिम अपडेट: असोज २२, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया