नेपाली क्रिकेट टिमलाई कस्ताे प्रशिक्षक चाहिएकाे हाे ?

 असोज २३, २०७७ शुक्रबार १३:१८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) लाई खुला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्न सबै पक्षबाट सुझाव आएपछि क्यानले प्रशिक्षकका लागि दरखास्त आह्वान गरिसकेको छ ।

दरखास्तको मिति अहिले  सकिएको छ । तर अहिलेसम्म क–कसले दरखास्त दिए भन्नेबारेमा सार्वजनिक भएकाे छैन । छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ अहिले चासोको विषय बनेको छ । 

दुई दशक अगाडि श्रीलङ्काली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली वामे सर्दै थियो । श्रीलङ्काली प्रशिक्षक डायसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा भिजाउन मेहनत गरेर क्रिकेटको बलियो जग बसालेसँगै अर्का प्रशिक्षक पुबुदुले नेपाली क्रिकेटलाई नतिजा दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।

त्यसपछि नेपालले विभिन्न डिभिजनका खेललाई पार गर्दै अहिले एकदिवसीयकाे मान्यता पाएको छ । ट्वान्टी–२० विश्वकपमा पनि अनुभव बटुल्न सफल भयो, नेपाली टोली । त्यसो त अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा नेपाली टोलीलाई १३ विदेशी प्रशिक्षकले प्रशिक्षण दिइसकेका छन् ।

यस अवधिमा नेपालले अन्तर्राष्ट्रियस्तरमा ठाउँ पनि बनाउन सफल भयो । पछिल्लो समय पाएको सफलतालाई जोगाउनका लागि आउँदो दिनमा अनुभवि र नेपाली टोलीलाई धेरैभन्दा धेरै मैत्रीपूर्ण खेलको तालमेल गर्ने प्रशिक्षक खाँचो भएको धेरैले औँल्याउँदै आएका छन् । अहिलेको अवस्थामा नेपाली क्रिकेट टोलीका लागि अनुभवि र अन्तर्राष्ट्रियस्तरमा बलियो प्रभाव भएको प्रशिक्षक आवश्यक भएको बताउनुहुन्छ, पूर्वक्रिकेटर पवन अग्रवाल । 

अहिले विश्व कोरोना महामारीको चपेटामा परेको छ । क्रिकेट गतिविधि त्यति चलायमान हुन सकेका छैनन् । यो समय क्यानलाई नयाँ प्रशिक्षक खोज्ने उपयुक्त समय मिलेको छ । नेपाली टिमको प्रशिक्षक बनेर को आउँला भन्ने चासो सर्वत्र बढ्दै गइरहेको अवस्थामा पूर्वकप्तान विनोद दासले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपालका लागि विश्व क्रिकेटलाई नजिकबाट बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको बताउनुभयो ।

२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ । राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी तोकिएको छ । तर क्रिकेटको गतिविधि भने शून्य छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित गरिरहेको अवस्थामा क्यानले प्रशिक्षक र विभिन्न पदाधिकारी नियुक्तिलाई सक्दो छिटो पूरा गरी क्रिकेटलाई चलायमान बनाउन यथाशीघ्र कदम चाल्नुपर्ने आवश्यक देखिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया