भारतको सहयोग लिएर भए पनि चीनसँगको सीमा सुरक्षा गर्नुपर्छ : सरिता गिरी

 असोज २४, २०७७ शनिबार १३:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ : पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनुभएको छ । 

गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताउनुभएको हो । गिरीले चीन सिमानामा रहेका स्तम्भ अनुगमन गर्न गएको नेपाली टोलीलाई चिनियाँ पक्षले नेपालकै भूमिमा पसेर अश्रु ग्यास प्रहार गरेको र नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घाइते भएको दाबी गर्नुभएको छ । 

यस घटनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन गिरीको माग छ । भारतले मिचेको नेपाली भूमिसहित नेपालले नयाँ नक्सा जारी गर्दा गिरीले आपत्ति जनाउनुभएको थियो । देशकाे हितविरुद्ध अभिव्यक्ति र क्रियाकलाप गरेको भन्दै उहाँलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । 

गिरीले भन्नुभएको छ, ‘नेपाल सरकारले मुलुकको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुँदै गइरहेको छ । सगरमाथा माथि पनि चीनले अधिपत्य जमाइसकेको कुरा  संचारमाध्यममा आएका छन तर सरकारले यस विषयबारे पनि अहिलेसम्म मौनता धारण गरेको छ । हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाइ रहेको छ । यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को भारतसंँगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिइ पनि सिमानाकाे सुरक्षा गर्न माग गर्दछु ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • NEPALI

    Oct. 11, 2020, 12:44 p.m.

    जबर्जस्ती मुख छाड्न मनलाग्ने ....

  •  0 Reply

तपाईको प्रतिक्रिया