लिबियाबाट अपहरणमा परेका सात भारतीय मुक्त

 असोज २६, २०७७ सोमबार १३:१०:५१ | रासस
unn.prixa.net

काठमाण्डाै - लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरणमुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले यस कुराको जानकारी दिनुभएको हो । उहाँले अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका जानकारी दिनुभयो ।

उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गएकाे सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए । उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उहाँले बताउनुभयो ।
भारतले गएकाे बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूतावासले उनीहरुको अवस्थाको बारेमा खोजी सुरु गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिनुभएको थियो । लिबियामा भारतको राजदूतावास नरहेकोले ट्युनिसियामा रहेको दूतावासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो । 

भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरिदिन आग्रह गरेको थियो । पछि अपहरणकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरु सकुशल रहेका भनी तस्बिर सार्वजनिक गरेका थिए । 

त्यसलगत्तै उनीहरुले ती भारतीयलाई अपहरणमुक्त गरिदिएका बताइएको छ । अपहरणको कारण र उनीहरुलाई के कसरी रिहा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया