आईपीएल : कोलकातालाई हराउँदै बेग्ङ्लाेर तेस्रो स्थानमा उक्लियाे

 असोज २७, २०७७ मंगलबार ६:१७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेग्ङ्लाेरले पाँचाैं जित निकालेकाे छ । साेमबार भएकाे खेलमा काेलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लाेर लिगकाे तेस्रो स्थानमा उक्लिएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको बेग्ङ्लाेरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएकाे थियाे । बेग्ङ्लाेरकाे पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिक्कलले ६७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पडिक्कल ३२ रन बनाएर आउट भए । २३ बल फेस गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।

त्यसपछि फिन्च र कप्तान विराट कोहलीले पारि अघि बढाएका थिए । फिन्च व्यक्तिगत ४७ रन बनाएर आउट हुँदा बेग्ङ्लाेरको स्कोर ९४-२ रन बनाएको थियो । कप्तान कोहली र एबीडेभिलियर्सले १०० रनको अभिजित साझेदारी गर्दै काेलकातालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिलियर्सले अर्धशतकीय पारि खेले उनले ३३ बल फेस गरेर ७३ रन बनाए । उनले ६ छक्का तथा पाँच चौका प्रहार गरे । कोहलीले २९ बलमा ३३ रन बनाउँदा एक चौका प्रहार गरे । कोलकाताका आन्द्रे रसेल र प्रशिद्ध कृष्णले एक/एक विकेट लिए ।

जवाफमा कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा रोकियो । उसका तीन खेलाडीले मात्र दोहोरो अ‌ङ्क जोड्न सके । राम्रो सुरुवात गर्न नसकेको कोलकाताले २३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५१ रनमा दोस्रो विकेट गुमाएको कोलकाताले ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को गरी पेभेलियन फर्किए ।

कोलकाताको स्कोरबोर्डमा ६४ रन हुँदा उसका महत्वपुर्ण पाँच विकेट झरेका थिए । जसमा टोम बान्टोनले ८ रन बनाए भने शुभंम गिलले ३४ रनको योगदान गरे । यस्तै नितिश राना नौ रनमा आउट हुँदा इयोन मोर्गनमात्र ८ रनमा पेभेलियन फर्किए । यस्तै कप्तान दिनेश कार्तिक एक रनमा आउट हुँदा आन्द्रे रसेलले १६ रन बनाए ।

एकपछि अर्को विकेट गुमाएको कोलकाता अन्तिममा ११२ रनमा रोकियो । बलिङमा बेग्ङ्लाेरका लागि वासिङ्टन सुन्दरले दुई विकेट लिए । जितसँगै बेग्ङ्लाेरले सात खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच जित र दुई हार व्यहाेरेकाे छ । यस्तै कोलकाताले सात खेलमा चार जित र तीन हार छ । उसको ८ अंक रहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया