दिनेश कार्तिकले केकेआरको कप्तानी छाडे, इयन मर्गनलाई जिम्मेवारी

 असोज ३०, २०७७ शुक्रबार १७:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दिनेश कार्तिकले कोलकाता नाइट राइडर्स (केकेआर) को कप्तानी इयन मर्गनलाई सुम्पिएका छन् ।

आईपीएल २०२० को बीचैमा कप्तानी छोड्दै दिनेश कार्तिकले अब आफ्नो ब्याटिङ र टिमको लागि धेरैभन्दा धेरै योगदान दिन ध्यान केन्द्रित गर्ने बताएका छन् । 

कोलकाता नाइट राइडर्सका सीईओ वेन्की मैसुरको तर्फबाट निकालिएको एक विज्ञप्तिमा भनिएको छ, ‘हामी भाग्यशाली छौँ कि हामीसँग दिनेश कार्तिक जस्ता टिम लिडर छन्, जो टिमलाई सबैभन्दा अघि राख्छन् । उनी जस्ता कुनै व्यक्तिका लागि यस्तो निर्णय लिनु निकै हिम्मतको कुरा हो ।’  

इयन मर्गनको कप्तानीमा इङ्ग्ल्याण्डलाई सन् २०१९ को क्रिकेट विश्व कप जिताएका थिए । आईपीएल २०२० मा मर्गन नाइट राइडर्सको तर्फबाट सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा छन् । उनले सात खेलमा ३५ को औसतमा एक सय ७५ रन बनाएका छन् भने दिनेश कार्तिकले १५ दशमलव ४२ को औसतमा एक सय आठ रन बनाएका छन् । 

अहिलेसम्म उपकप्तान रहेका इयन मर्गन टिमको कप्तानी गर्न इच्छुक रहेको कोलकाताको तर्फबाट निकालिएको विज्ञप्तिमा भनिएको छ । 

दिनेश कार्तिकलाई आईपीएल २०१८ भन्दा अघि कोलकाताले सात करोड ४० लाख भारतीय रुपैयाँमा किनेको थियो । गएको वर्ष कोलकाता प्लेअफमा पनि पुगेको थिएन, चौथो नम्बरमा नै रहेको थियो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया