म पनि खेलाडी हुँ, खेलाडीको पीडा बुझेको छु : हरि खड्का

 कात्तिक ४, २०७७ मंगलबार २०:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मङ्गलबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा खड्काले यस्ताे बताएका हुन् ।

‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ । देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको छु । त्यसैले खेलाडीको पीडाबारे मलाई राम्रोसँग थाहा छ’, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान समेत रहेका सदस्य खड्काले भने, ‘खेलाडीको पीडालाई सही ठाउँमा राख्न म हरदम प्रयासरत रहने छु । सबैको साथ र सहयोग पाएमात्र त्यो सम्भव छ ।’

खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउँदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेल क्षेत्रमा केही गर्ने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।

कार्यक्रममा खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले खड्का नियुक्तिले सिङ्गो खेलाडी जगतले गर्वको अनुभूति गरेको बताउँदै लामो समयदेखि खेलकुद क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसँग अनुरोध गरे ।

यस्तै खेलाडी सङ्घका मानार्थ अध्यक्ष दीपक विष्टले खड्कालाई सदस्यमा नियुक्त गरेकोमा खेलाडी सङ्घमात्र नभइ सारा नेपाली खेलाडीलाई खुसी तुल्याएको धारणा व्यक्त गरे ।

खड्कालाई गएकाे असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक गोलकर्तामध्येका एक हुन् । खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका छन् । त्यति नै गोल निराजन रायमाझीको नाममा पनि छ ।

खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्वप्रशिक्षक पनि हुन् । नेपालमै गएकाे मङ्सिर १५ देखि २४ गतेसम्म भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिएका थिए । खड्का अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अन्तर्गत महिला विभाग प्रमुख पनि हुन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया