उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी दर्ता

 कात्तिक ५, २०७७ बुधबार १७:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

बुधबार महासङ्घको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसाेसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदाे मङ्सिर ११, १२ र १३ गते काठमाण्डाैमा हुँदैछ । गएकाे चैत्रमा हुनुपर्ने महासङ्घको साधारण सभा तथा निर्वाचन कोरोनाका कारण स्थगित भएको थियो । पछि पटक–पटक साधारण सभा तथा निर्वाचनको मिति तोकिए पनि कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारण सभा हुन सकेको थिएन ।

गएकाे वर्ष नै बागलुङ उद्योग वाणिज्य सङ्घले ढकाललाई महासङ्घकाे वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार प्रस्ताव गरेको थियो । पछि गएकाे फागुनमा काठमाण्डौमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो । 

महासङ्घको चुनावका लागि उम्मेदवारहरुले बुधबारदेखि मङ्सिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्नेछन् । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजात मङ्सिर ४ गतेभित्र महासङ्घमा बुझाइ सक्नुपर्ने व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया