देश भैरवी

 कात्तिक ११, २०७७ मंगलबार १३:३९:२२ | जीवन सापकाेटा
unn.prixa.net

उसलाई पहिलो पल्ट देख्दा ऊ मामाका हात समाएर तातेताते गर्दै थियो । बालकहरुको तातेताते भित्रको सुलभ सौन्दर्य र शक्तिले मलाई पहिल्यैदेखि आकर्षित गथ्र्यो । उसका मामाका हात फुस्क्याएर, मेरा हात दिँदा पुलुक्क हेरेर, उसले मेरा औँला स्वीकार गरेको थियो । धेरैबेर मेरो सहारामा उसले ताते गरिरह्यो । 

मावलीका हातबाटै काटिनुपर्ने गर्भे कपालका लट्टा, कैला नरम रौँ, कलिला ओठ, शान्त र जिज्ञासु आँखा, खित्का छोडेर हाँस्दा देखिने, मैलिइ नसकेका दुई दाँत । न हिजो, न भोलि, नितान्त वर्तमानतामा जिउने सुन्दर बालक मान्छे र उसका नरम पन्जा । हिँड्न नजानेर घिस्रिएका धुलाम्मे पैइताला, सन्तुलित हुन उसले गरेका प्रयत्न, धेरै कुरा मैले मिहिन गरी हेरेको थिएँ । समग्र बालक र अवयवका अलग अस्तित्व र सौन्दर्य बाेध भइरहेझैँ हेरिरहेँ, उसका गहिरा दृष्टि । सबैभन्दा वेशी हेरेँ, उसका कलिला हातका रेखा ।  

बालापनको त्यो चित्र “सम्यक यात्रा” शीर्षक दिएर पानी रङ्गमा उतारेँ पनि । त्यसैले पनि हुन सक्छ– उसले मभित्र आफैमा एउटा नायकत्व निर्माण गरेको थियो, पछिसम्म । 

उसलाई दोस्रो पल्ट मैले बाबु हराएको र आमा परदेशिएर हुर्किँदै गरेको कथानक भित्र बाँचिरहेको आठ वर्षीय पात्रको रुपमा देखेको हुँ । बाल सुलभता लुटिएपछि जीवन र जगतका विविधता आफै बदलिएर विभीषिका बन्दै गरेका तस्बिर झुण्ड्याइएको प्रदर्शनी जस्तै बन्दो पनि रहेछ मान्छेकै चेहरा । एउटै चेहरामा यी दुई रुप देखेर, मभित्रको म झनै हुरुक्क भएको थियो ऊसँग ।

संयोगवश पहिलोपल्ट मेरो घरमा आइपुगेको ऊ भोकाएकै हालतमा थियो । भान्छा छिरेर एउटा कचौरामा चिनी, दूध र चिउरा मिसाएर टक्र्याएँ, सुुरुमा अलिकति धक मानेको ऊ, भोकसँग जुटेपछि गतिशील देखियो । खपाखप खायो । उसको खुवाइको गहिराइ र तृप्त हुँदै गइरहेको चेहरा हेरिरहेंँ । नसोधि, फेरि उही परिकार आधा कचौरा थपिदिएँ । त्यति खाइसक्दा उसको चेहरामा आएको बदलावले ऊभित्रको सन्तुष्टि महसुुस गर्नमात्र होइन, प्रष्ट देख्न र लेख्न सकिने भइदियो । 

मान्छेको चेहरामा भोक र सन्तुष्टिको अन्तर भर्खरै उसको चेहेरामा घटित भइसकेको थियो । मभित्र एउटा तस्बिर र दुई रङ्ग चल्मलाइरहे, पछि क्यानभासमा पोखिए पनि । तर यही अन्तरबाटै गुज्रिएर  सत्तामा पुग्ने मानिसहरुले त्यो अन्तर किन भुलिदिन्छन् ? उत्पीडित, शासित र शासकबीचको अन्तर झन्–झन् आकाश जस्तो भइरहेको कसरी नदेखेझैँ गर्न सक्छन् ? कतै मान्छे नै देवता र मान्छे नै दानव त होइन ? नत्र एउटै मानिस एउटै जीवनभित्र कसरी दुई स्वरुपमा लीला रचाउँछ ? 

संवेदनाको लाशमाथि चिता जलाएर हिँड्नु नै राजनीति भइरहने कहिलेसम्म होला ?   

तेस्रो पल्ट मैले उसलाई बाल पत्रिकाको बाहिरी पातोमा पढेँ । बाह्र वर्षीय बाल चित्रकार तथा वैज्ञानिक “सम्वत् शर्मा पुरस्कृत” शीर्षकमा । स्थानीय कवाडी सामान जोरजाम गरेर उसले तयार पारेको रेल र हाइड्रोलिक डोजर प्रदर्शनी पछि जिल्ला विकास समितिबाट बाल प्रतिभा पुरस्कार पाइसकेको ऊ, पेन्सिल आर्टको माहिर चित्रकार पनि भएको थाहा पाएपछि मन थामिएन ।

भित्रैदेखि आन्दोलित भएँ । तर त्यो आन्दोलन, समाज रुपान्तरण गर्न नसक्ने नेपाली समाजका आनदोलनकै सानो रुप सावित भएरै समय गुज्रिरह्यो । 

अर्को हप्ता पछि मात्र उसलाई भेट्न पुगेँ । संयोगवश ऊ बाहिर गएको मौका परेछ । उसको चित्रकारिता र मेकानिकल प्रयोगशाला हेर्ने रहर मार्न सकिनँ र उसैका आफन्तको स्वीकृतिमा फलिका ओच्छाएर दुईतला बनाइएको घरको लिस्नु उक्लिएर माथ्लो चोटा उक्लिएँ ।

पसलेले काम लाग्छ भन्दै थुपारेका कहिल्यै काम नलाग्ने जस्ता सामानहरुको ह्रास देखियो, भुइँमा गुन्द्रीले बेरिएको ओछ्यान, निर्माणधीन मिनी रेलको भग्नावशेष र कार्टुन काटेर तयार पारिएको चार तल्ले बसको डेमो रहेछ । सरसर्ती हेरेँ उसका सपनाको मूर्तिकरण हुँदै गरेका मायालु सिर्जनाहरुलाई । भित्री मन भने उसका पेन्सिल आर्ट हेर्न तुलबुल गरिरहेको थियो । 

पेपर क्यानभासाको रोल सिरानीमुनि भेटियो । मूर्त–अमूर्त तस्बिर थिए । चार वटा तस्बिर भगवान् शिवका थिए । कतैबाट कपी गरिएको जस्तो अर्धनारीश्वर एउटा, ध्यानस्थः स्वःकाल्पनिक एउटा, ‘एलिएन’ स्वरुप दिइएको एउटा र एउटा तरुण अवस्थाको । एउटा अलि विशिष्ट तस्बिर भेटियो जुत्ताको । हालसम्म प्रयोगमा नआएको आविष्कारको प्ररम्भिक डिजाइन जसको सहायताले मानिस उढ्न सक्छ । म अवाक् थिएँ । मलाई यावत् कुरा देखाउने उसका आफन्त उसको क्षमताका विषयमा प्रवचन पनि दिँदै थिए । मेरो मन माथिंगलमा प्रश्न बन्दै गयो – के यो मानिस सामान्य मानिस हो ? यो देशमा उसलाई बाँच्ने अधिकार छ र ? 

म एक, विशिष्ट तनाव लिएर फर्किएँ । 

उसलाई भेट्न अर्को महिना फेरि गएँ ।

फेरि ऊ भेटिएन । ऊप्रतिको भावावेश बिस्तारै मत्थर हुँदै पनि गयो । त्यसपछि लामै समय ऊसँग भेट भएन । संयोगवश पनि फेरि वर्षाैँ भेट भएन ।

साँझको समय थियो । मोबाइल बज्यो, 

हेल्लो ! हेल्लो !   

हजुर म बोल्दैछु । स्वर त्यही थियो– जसले मलाई सम्यकको प्रयोगशालामा प्रवचन दियो । 

हजुर म बोल्दैछु । भन्नुस् ।

हामी मेडिकल कलेजमा छौँ । सम्यकले विष खाएर ल्याएको तीन दिन भयो । उसलाई अब राम्रो हुँदैन तर हस्पिटलले डिस्चार्ज दिनै मान्दैन ।

के भन्छ ? (म भित्रको हलचल र बाहिरको स्तब्धता एकैसाथ खपेर अडिइरहेँ) । एक्लै फुस्फुसाएँ, कस्तो मापाको रहेछ मान्छे– जे पनि सजिलै भनिदिने ? 

कुन डाक्टर हुन्, ? उसलाई हेर्ने ? 

आईसीयू को बेड नं एघार, हजुरले भनिदिनुपर्यो । पैसा पनि सकियो । 

डा छायाराम, कलेजताका साथी । चर्को घाममा मधेशबाट नुन बोकेर हिँड्नुको दुःख मेटाउने सत्पात्रको आशाले उसका बाबुले उसको नाम छाँयाराम राखिदिए । दुर्गम पहाडबाट अलि पछि मधेश झरेर दुःख सुख डाक्टर बनेपछि, दुनियाँ बदलिएको हो उसको । कथा त आम भुइँमान्छेकै जस्तै हो उसको पनि । मेडिकल कलेजमा स्थापित भएपछि वरिष्ठ भए । डक्टरलाई फोन गरेँ, तेस्रो प्रयासमा फोन उठ्यो । सामान्य औपचारिकता पूरा भएपछि ‘कम्प्लेन’ सुनाएँ । उनी अलि ‘फर्मल’ भएर जवाफ दिए – ‘योङ्ग पोइजनिङ्ग केसमा केही दिनसम्म आशा मार्नु हुँदैन ।’ 

मैले भनेँ– आर यु होपफूल ?

छैन तर..। अरु बाह्र घण्टा जति ‘अब्जर्भ’ गरेर पठाउँछु ।  

उनका कुराको आशयभित्र निहित संशयले नै पेसेन्ट पार्टीले लगाएको आरोप पुष्टि गरिसकेको थियो – यसै त नहुनु भइसकेछ । त्यसैमाथि के तनाव थपिदिनु ? मैले उनका आफन्तलाई भनिदिएँ– भोलि बिहान छोडिदिन्छन् ।

त्यो साँझ । उसका बालापन, आँखाभित्र निहित ऊर्जाको रङ्ग, उसको प्रयोगशाला, पेन्टिङ्ग आर्ट, आविष्कार र सपनाका डेमाोहरु धेरै कुरा आइरहे । उसलाई खोज्न चाहिने जति उपकरण, हेर्न चाहिने जति आकाश त दिन सकिएन, सकिएन । बाँच्न चाहिने जति स्वतन्त्रता पनि दिन नसक्ने यो समाजले  स्वेच्छिक मृत्यु आत्मसात् गरिसकेपछि पनि लुछिरहेको यो कलङ्क कसरी लेख्नु ? व्यवस्था र ठूला मान्छेहरुको जालो फनफनती घुम्न लाग्यो । उसको रेल मेरै माथिंगलभरि हिँडिरह्यो । उसको डोजरले मेरो अस्तित्वको भुइँ नराम्ररी खन्न थाल्यो । जिन्दगीमा एउटा सग्लो रात पुतना जस्तै अग्लो भएर ढल्यो । 

मरि त सक्यो । अब के नै बाँकी रह्यो र ? जिउँदै हुँदा केही गर्न सकिएन । रमिताको पात्र बन्न के जानु ? अल्छि गरेर बिहान कट्यो । साँझ फेरि फोन आयो । बिहान छोड्छन् भन्नुभएको थियो । छोडेनन् । 

“मेरो ब्रम्ह तातो भयो” फोन गरेँ । डाक्टरले उठाएनन् । मोटर चढेर एक घण्टामा हस्पिटल पुगेँ । उसकी आमा, मामा र केही आफन्त थिए । दुःखको कालो सुरुङ्गभित्र । ऊ मरेको त तीन दिन भइसकेको थियो । उसको शोकभन्दा ठूलो शोक थपिदिएको थियो– शिक्षण अस्पतालले । दुःख थपिदिएका थिए ठूला मान्छेहरुले । द्रव्य मोहले लठ्ठ एलिएनहरुले । म साँच्चै आतङ्कित भएको भएँ । 

आईसीयू गार्डलाई हप्काएँ – भित्र को–को छन् ? 

डाक्टर, बिरामी, नर्स हुन्छन् हस्पिटलमा, अरु को हुनु नि । 

अनि बिरामी भन्दै लाश राख्या छौ रे त आईसीयूमा ? बोलाऊ तिम्रा डाक्टरलाई । ऊ फटाफट भित्र पस्यो । हत्तेरी, गार्डलाई बित्थै हप्काएछु । फटाफट एक जना नर्स आएर हामीलाई भित्र बोलाएर काउन्सिेलिङ्ग रुममा बसाइन् । फटाफट चार जना सेतो कोटधारी चामत्कारिक जस्ता पात्र नजिकिए । हामीले हाम्रो कुरा नराख्दै, फटाफट उनीहरुले काउन्सिलिङ्ग सुरु गरे । 

हिजो ब्लड दिएपछि थोरै सोडियम, पोटासियम लेभलमा सुधार आएको छ ।

मैले रोकेँ – डा. छाँयाराम खोई ? 

उनीहरु बेलेनन् । 

त्यसपछि मैले भनेँ – यी विदेशी शब्द आफैसँग राख्नुस् महाशय । ऊ जिउँदै छ कि छैन ? इज द ब्रेन स्टिल एलाइभ ? 

इज द ब्रेन, लगत्तै उनीहरु लाखापाखा लागे । 

एक जना नर्स हातमा कागज लिएर आइन् र लाश बुझेको कागजमा सही गर्न अह्राइन् । उसका मामाले सहीछाप गर्र्नै लाग्दा मभित्रको म जुरुक्क गर्यो । यो यमलोकको कागज च्यातिदिऊँ ? जहाँ लाशमाथि रगत चढाइन्छ । जहाँ निष्प्राण देहसँग मजाक गरिन्छ । शोषण पनि कलात्मक हुन्छ । जुकाहरुको घोर जङ्गल यो कसरी अस्पताल भयो ? आवेग बाहिर ननिस्किँदै उसका मामाले सही गरेको कागज बोकेकी नर्स आफ्ना पुष्ट नितम्ब फर्काएर ओझेल भइ । 

म संवेदनाशून्य, विचारशून्य भएर उभिएकै बेला सबैजना बहिर निस्किसकेछन् । मानौँ हिटलरको ग्यास च्याम्बरबाट उन्मुक्त भएका कैदी हुन् । पछि लागेर म पनि खुरुखुरु निस्किएँ । 
शव वाहनमा परिचयविहीन एउटा कलाकार बोकेर उसका आफन्तहरु घरतिर जाँदै गरे । खै किन ? म पनि पछिपछि लागिरहेँ । 

मोबाइलको रिङ्ग बज्यो । उठाएँ– यार बिहानै निकालिदेऊ भनेको अल्मलिएछन् । सरी, तिमी नै आएछौ । तर एउटा मिस्ट्री बनाएर गयो ऊ, प्रायः विष सेवनका घटनामा देखिने भन्दा फरक लक्षण थियो उसको । मस्क्युरेनिक र न्युरोटक्सिक दुवै लक्षण देखिए । हामीलाई नै अलमल्याएर गयो ऊ । हस्पिटल आइपुग्दासम्म डेथ भइसकेको थिएन । तर उपचार प्रोटोकल फेलिएर रह्यो । केस यति तीव्र गतिमा बिग्रियो कि पूरै टिम शक छ । दुई प्रकृतिको विष ककटेल गरेर सेवन गरेको हुनुपर्छ । कस्तो मान्छे हो यार ऊ ? 

मैले चुपचाप सुनिमात्र रहेँ । संसार बदल्ने सम्भावना भएको एउटा कलाकार, चिकित्सकहरुलाई भ्रमित पारेर गएछ । जीवन सिङ्गार्ने उत्कट अभिलाषा सङ्कुचित पारेर आत्मदाह गर्ने, नयाँ विधि प्रयोग गरेर गएछ । म चुपचाप गुडिरहेँ । 

मेरो मौनताले डाक्टरलाई चिमोटिरह्यो शायद ! ऊ नजिककै मान्छे हो र ? हेल्लो !, किन नबोलेको ? शायद ऊ एउटा भिजिटरसँग चाहिने भन्दा वेशी समय खर्चिँदै थियो । उसको यार भित्र, मभित्रको यार एकाकार हुन मानिरहेको थिएन । मैले यत्ति भनेँ, थ्याङ्क यू डाक्टर । यार हुनुभन्दा पहिले मान्छे हुनु जरुरी हुन्छ नि । मैले मनलाई मनाउन ज्याद्रै कर पनि गरिनँ । फोन काटेर मोटरको स्पिड बढाएँ । लाग्यो ठूला भनिएकाहरुको एकाध, स–सानो ठानिएका गल्तीहरुले समग्र क्षेत्र र सामाजिक संरचना नै बदनाम भइरहेछन् ।

एउटा किशोर लाश, डुब्दै गरेको घाममुनि तुलसीको मठ छेउ सुताइयो । मलाई, मेरो सिङ्गै युगको सम्भावना निष्पट्ट सुतिरहेको अनुभव भइरह्यो । मान्छेहरु त्यो सम्भावनालाई पोलेर नदीमा बगाउने तयारी गर्दै छन् । मेरो युग पनि त यसैगरी मरिरहेछ । आखिर बिउँझाऊा कसले ? भुइँमान्छेहरुले त पोल्ने बगाउने हुन् । स्वर्गकै जस्ता प्रतीत हुने भवनभित्र मान्छेहरुले नै मान्छे चुस्ने रहेछन् । आकाश र धर्तीको बीचमा पनि कोही जन्मिएला जसले जीवनका पक्षमा केही बोलोस्, केही लेखोस् र केही खास गरोस् । यो देश जस्तो देखिएको देशभित्र प्राण भरोस् । आखिर जीवनविहीन देश कसरी अडिएला, कतिञ्जेल थामिएला ? 

बाटोमा कुदिरहँदा लाग्यो, एउटा क्षमतावान् केटोसँग बेलैमा सङ्गत गर्न सकिएन, पछुतो सधैँभरि रहने भो ।  

काजकिरिया चलिरहेको तेस्रो दिन किरियापुत्री भेट्न गएँ । उसको सुकुमार तस्बिर माल्र्यापण गरेर मन्द मन्द मुस्कुराइरहेको देखियो । उसकी आमाका आँखा नुन खुर्सानी मोलेर राखिएका निबुवाका केस्रा जस्तै थिए । आफन्त धेरै थिएनन् । मेरा आँखासँग झुम्मिएका उनका आँखाभित्र गहिरिएर हेरेँ । स्मृतिको, आक्रोशको, पराजयको संवेग, सुनिदिओस् अपेक्षाको तीव्रता महसुस गरेँ । म नजिकै गएँ । उनले छेवैको चकटी देखाएर इसारा गरिन् । 

चकटी सारेर म छेवैमा बसेँ । उनी भक्कानिइन्– आफ्नै सपनाको काजकिरिया गरेर शेष जीवन म कसरी बाचुँ ? अब किन बाचुँ ...?  

मभित्रको समय अवचेतन भएर बगेछ । संवेदना शून्यता र विचार शून्यताको स्थिरता जस्तो । एक मृत्युबोध जस्तो । समयको सङ्कुचन अनुभूत भए जस्तो । 

म जानुपर्थ्याे, ऊ गयो । झुक्यायो । के पाप गरेँ ? के खप्नुपर्‍याे ? अब कसको मुख हेरेर जिउने ? किन जिउने ? भावना र विचारहरु तीव्रतासँग दोहोरिँदै आइरह्यो । रुवाइ कारुणिक आवाज बनेर आइरह्यो । मलाई उनको रुवाइ मत्थर पार्न मन लागेन । रोइरहून्, यो रुवाइ, यो नाद विश्व व्यवस्थाको विश्व चेतनाको माइक्रो चिप्सभित्र पभ बी, एम बी, जीबी मा होइन हज्जारौँ टीबी भन्दा स्पेसमा रेकर्ड होस् । आखिर रुवाइको उस्तै आवाजले एउटा सीमा पार गरेपछि अवश्य जन्मनेछ – फेरि भैरव । 

आमाहरुको रुवाइको, जीवन सङ्गीनीहरुको करुणाको यो नाद, लय र आवाज अक्षर र शब्द, पुँजीवादी भाष्यहरुभित्र पुरिँदै–पुरिँदै गइरहेको यो कालो भुमरीभित्रबाट देश निकाल्ने भैरवीको गर्भाधान हुन अझै बाँकी होला ? म आकाशतिर फर्केर रुवाइ सुनिरहेँ ।   

अन्तिम अपडेट: पुस ११, २०७७

जीवन सापकाेटा

जीवन सापकाेटा​ जीवनसिटी अस्पताल, नवलपुरका कार्यकारी निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया