हुम्लाका विद्यालयमा धमाधम पठनपाठन हुँदै

 कात्तिक १३, २०७७ बिहिबार १२:४२:५७ | रासस
unn.prixa.net

 हुम्ला - हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन सुरु गरेको छ ।

झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन सुरु गरिएको हो । लामो समय लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढेको कुरा बिर्सिने भएका कारण पढाइ सञ्चालन गर्न अनुमति दिएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो । वडा नं ६ लिमीका दुई विद्यालयमा बाह्रै महिना नियमित पठनपाठनका लागि अनुमति दिएको र अन्यका लागि बुधबार दिइएको अध्यक्ष लामाले बताउनुभयो 

नाम्खा गाउँपालिकाको केन्द्र रहेको याल्वाङाको महाबौद्ध माध्यमिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी अन्तरपालिका र शिक्षक जिल्ला बाहिरका भएका कारण पीसीआर अनिवार्य गरीएको हो । विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर कक्षा सुरु गरिएको हो । कात्तिक ७ गते विद्यालय व्यवस्थापन समितिले १२ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको भए पनि बुधबार शिक्षक, विद्यार्थी र अभिभावकले छलफल गरेका कारण कक्षा सञ्चालन नभएको हो । 

महाबौद्ध माध्यमिक विद्यालयले कक्षा पाँचदेखि माथिका कक्षा १२ सम्मका लागि पठनपाठन हुने भएको छ । त्यही पालिकामा १६ वटा सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) मा एक हजार ६० जना विद्यार्थी अध्ययनरत रहेका छन् । अन्य विद्यालय पनि एक/दुई दिनमा सञ्चालनमा आउने भएका छन् । 

यस्तै हुम्लाको तल्लो क्षेत्रका ताँजाकोट र अदानचुली गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका सामुदायिक विद्यालय यही कात्तिक १६ गतेदेखि पढाइ सुरु गर्ने भएका छन् । कात्तिक ११ गत बसेको गाउँ कार्यपालिकाको बैठकअनुसार गाउँपालिकाभरिका सबै सामुदायिक विद्यालय खोल्ने निर्णय भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनुभयो ।

लामो समयदेखि विद्यालय बन्द रहेकाले अदानचुली गाउँपालिकाभरिका सम्पूर्ण सामुदायिक विद्यालयलाई कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठनपाठन सुरु गर्न शिक्षकरकर्मचारीलाई आ–आफ्नो विद्यालयमा हाजिर हुन पत्राचार गरेको अध्यक्षले बताउनुभयो । सावधानी अपनाएर गाउँपालिकाका सबै विद्यालय सञ्चालन गरिने भएको छ । 

यस्तै जिल्लाको खार्पुनाथ, ताँजाकोट र सर्केगाड गाउँपालिकाले कात्तिकदेखि पढाइ सञ्चालन गर्ने तयारीमा जुटेको खार्पुनाथ गाउँपालिकाले जनाएको छ । हुम्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु भएर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न हुने गर्छ ।

तीन महिना हिउँदे बिदा हुने भएका कारण यहाँका स्थानीय तहले धमाधम विद्यालय सञ्चालन गर्ने तयारीमा जुटेका छन् । मङ्सिरमा वार्षिक परीक्षा हुने भएका कारण कोरोनाबाट बच्ने सुरक्षा सावधानी अपनाउँदै पढाइ सञ्चालन गर्ने भएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया