बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ मध्ये ५ खेलाडीमा काेराेना सङ्क्रमण

 कात्तिक १४, २०७७ शुक्रबार १५:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घले प्रारम्भिक चरणका लागि बोलाइएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिनुभयो । अहिले पाँचै जना आइसोलेशनमा रहेका छन् ।

मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाई अभ्यास गराइरहेका छन् । गएकाे चैतमा सरकारले लकडाउनको घोषणा गरेसँगै खेलकुद क्षेत्र ठप्प भएकाे थियो, जसमा फुटबल पनि परेको थियो ।

दक्षिण एसियाली देश बङ्गलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरे पनि सरकारको अनुमति नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन । तर सरकारले दशैँलगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारदेखि प्रशिक्षण आरम्भ गरेको हो । खेल कात्तिक २८ र मङ्सिर २ गतेका लागि तय भएका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया