सहर छाडेपछि न मुखमा मास्क, न मनमा कोरोनाको डर

 कात्तिक १७, २०७७ सोमबार १०:४६:४७ | सन्जिता देवकोटा

दशैँमा घर जाने कि नजाने ? आफू जाँदा सँगै कोरोना पनि घर जाने पो हो कि ? सिन्धुली पुगेर घरको आँगनमा टेक्दासम्म पनि यही डर थियो ।

तर जब घर जान कोटेश्वरबाट पूर्वतिर लागेपछि जे देखेँ त्यसपछि मलाई लाग्यो कोरोना कहर त सहरमा मात्र रहेछ । 

चाडबाड नजिकिएसँगै सरकारका प्रतिनिधि र डाक्टरहरुले बारम्बार आग्रह गरेका थिए, ‘यसपालीको दशैँ जहाँ हुनुहुन्छ त्यहीँ मनाउनुहोस्, स्वास्थ्य सुरक्षाका मापदण्ड ख्याल गर्नुहोस् ।’

यात्रामा जोखिम हुन्छ, आफू घर जाँदा आफूसँगै कोरोना पनि घरमा जान सक्छ भन्ने बुझेकाले पनि योपालिको दशैँमा घर जानुभन्दा अफिसमा ड्युटी गर्ने र दशैँ मनाउने सोच पलाएको थियो । 

तर मेरो यो कुरा बुवाआमाले सुन्न पनि सक्नुभएन । ‘चाडबाडका बेला कहाँ सहरमा बस्छन् ? त्यत्रो लकडाउनमा पनि दुनियाँका छोराछोरी घर आए, तँ मात्र नआउने ? कोरोना सोरोना यहाँ छैन, यतिका घर छन्, टाढाटाढै बसौंला, तर घर त आउन पर्छ ।’ आमाले यति भनेपछि म घर आउँदा दशैँ र खुशी मात्र हैन कोरोना कोसेली पनि आउन सक्छ भनेर बुझाउन सकिनँ । घर आउँदिन कोरोना आउँछ भन्दा आमाले चित्त दुखाउनुभयो । त्यसमाथि थप केही बोलेको भए घर आउन मन नलागेर बहाना पारिस् भनेर पक्का भन्नुहुन्थ्यो । 

म कहाँ आमालाई त्यस्तो भन्न दिन सक्थें र ? घर जान मन त कति थियो थियो नि । मात्र कोरोना सङ्क्रमणको डरले घर जाउँ कि नजाउँ भन्ने दोधार भएको थियो । 

मेरो दोधारे मनले आमाको यति भनाइ पछि भने घर जाने निर्णय गर्‍यो । तर जाने कसरी ? सार्वजनिक गाडीमा यात्रा गर्ने आँट आएन । आफ्नो साधन आफैं चलाउन पनि दोधार भयो । तर आफ्नो सुरक्षा आफैं गर्नु थियो । जे होला धेरै नसोची सार्वजनिक गाडीमा यात्रा गरेर जोखिम मोल्नुभन्दा आफ्नै साधनमा घर जाने निर्णय गरेँ । 

काठमाण्डौभन्दा पर कहिले पनि स्कुटर लगेको थिइनँ । तर पनि घरसम्म पुग्न सक्छु भन्ने आँट गरेँ ।

कात्तिक ८ गते, बिहानै झोला बोकेँ । स्कुटर निकालें र कोठाबाट निस्किएँ । स्कुटर स्टार्ट गर्दै गर्दा दुईथरी डर थियो । 

पहिलो कोरोनाको ।

दोस्रो चाहिँ पहिलो पटक राजमार्गमा स्कुटरमा यात्रा गर्दाको । 

दशैँको अष्टमीको दिन भइसकेकाले पनि होला गाडीको चाप त्यती धेरै थिएन । काभ्रे भज्याङ कटेपछि रोकिएँ । बाटो छेवैको पसलमा चिया पिउन बसें । त्यो चिया पसलका साहु साहुनीको मुखमा न मास्क थियो, न त चिया पिउन जाने अरुको । 

मास्क बिनाको अनुहार हेर्ने बानी छुटेछ सायद । मास्क नलगाइ होटलमा बसेका मानिस देख्दा झसङ्ग भएँ । साहुनीलाई मुखै फोरेर भनेँ – दिदी मास्क किन नलगाउनुभएको ?

‘यहाँ चिसो हावा चल्छ, यही हावाले उडाउँछ कोरोना सोरोना, मास्कले उल्टो सकस हुन्छ, किन लगाउनु मास्क ?’ चिया पसल दिदीको जवाफ सुनेर मेरो मुख बन्द भयो । बिस्तारै सिन्धुली, रामेछाप, ओखलढुङ्गा लगायत पूर्व हिँडेका गाडीहरु पनि आइपुगे ।

गाडी भरीभराउ देखिन्थे । सहचालकले लगाएको मास्कले मुख मात्र छोपेको, यात्रुको पनि मास्क लगाउने तरिका उस्तै । कतिले त लगाएकै थिएनन् । चिया पिउन झण्डै २० मिनेट रोकिंदा बाटोको छेवैमा बसेर गाडीहरु नियाल्दा म अचम्ममा परेँ । 

न मास्क, न त भौतिक दूरी । सरकारले सार्वजनिक गाडीमा अनिवार्य गरेको फेससिल्ड त परको कुरा ।

सरकारले सार्वजनिक गाडीमा स्वास्थ्यका मापदण्ड अनिवार्य भनेको छ । दशैँको मुखैमा सार्वजनिक गाडीमा यात्रा गर्नेलाई फेससिल्ड पनि अनिवार्य भनेर सरकारले निर्णय सुनाएकै हो । 

गाउँ जाने गाडी सहरबाट गाउँतिर गुडेपछि कोरोना चाहिँ काठमाण्डौमै छुट्यो होला त ?

तर त्यो नियम न त यातायात व्यवसायीले टेरे, न त यात्रुले नै । व्यवसायीले त टेरेनन्, यात्रुले त आफ्नो सुरक्षा आफैं गर्नु पर्ने हो नि । बेपरवाह यात्रु देख्दा मलाई लाग्यो सायद कोरोना सङ्क्रमणको जोखिम बुझाउन पो सकिएन कि । 

विभिन्न ठाउँबाट एउटै गाडीमा यात्रा गरेका मानिस मानिसबीचमा एउटा मास्क पनि नलगाउनुको कारण के होला ? आफूले आफैंसँग प्रश्न गरेँ ‘सरकारले सार्वजनिक गाडीमा अनिवार्य गरेको फेससिल्ड र स्वास्थ्यका मापदण्ड कस्का लागि होला ?’

गाउँ जाने गाडी सहरबाट गाउँतिर गुडेपछि कोरोना चाहिँ काठमाण्डौमै छुट्यो होला त ?

यात्रुको मात्र होइन गाडी रोकिने ठाउँमा चटपटे, पानीपुरीदेखि पानी बेच्न बस्नेको मुखमा पनि मास्क थिएन । 

यो सबै दृश्य देख्दा लाग्यो, सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड नागरिकले थाहै पाएनन् कि ? थाहा पाएर पनि पालना गरेनन् कि ? जे होस् उनीहरुले सरकारलाई टेरेनन् । तर पक्कै पनि यसरी यात्रा गर्नेले आफू र आफ्नो परिवारलाई भने जोखिममा पारे । 

यसैगरी यात्रा गरेर सबैजना आफ्नो गाउँघर गए, दशैँ मनाए । दशैँमा आफन्त गाउँघर आउँदा सायद मेरा बुवाआमा जस्तै उनीहरुका पनि परिवार पनि खुशी भए । तर यसरी यात्रा गरेर गाउँ पुगेका तपाईँहाम्रा आफन्तले कोरोनाको जोखिम चाहिँ कति बढाए होलान् ?

‘गाउँमा पनि न मास्क, न त कोरोनाकाे डर’

कोरोना सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका सबै स्वास्थ्य मापदण्ड पूरा गरेर नै मैले यात्रा गरेको थिएँ । घर पुग्नुभन्दा केही तल मेरो स्कुलको साथीसँग भेट भयो । उसँग दूरी कायम गरेर नै कुराकानी गरेँ । उसले भन्यो, ‘मोटायौ कि के हो, मास्क खोलन ।’

मैले इन्कार गरेँ । मोटाएको त हो तर म मास्क चाहिँ खोल्दिन ।

‘तिमी मास्क खोल्न डराउँछौं, हिजो साँझ काठमाण्डौबाट आइपुगेकाहरुले रातभरी रक्सी खाएर नाचेर उल्का छ, कोरोना त काठमाण्डौमै छोडिहाल्यौ नि,’ उसले ठट्टा गर्दै सुनाएको गाउँको तितो यथार्थले मनमा चिसो पस्यो । 
उसले थप्यो – ‘पढेलेखेकै मानिसले काठमाण्डौबाट गाउँ आएपछि गरेको लापरवाही देखेर म आफैं छक्क परेको छु ।’

उसको कुरा सुनेरपछि म पनि छक्क परें । 

झण्डै साँढे पाँच घण्टाको यात्रापछि घर पुगेँ । मास्क बिना बुवाआमाको अनुहार देख्दा मन हल्का भयो । तर कोरोनाको हटस्पट बनेको काठमाण्डौबाट गाउँ पुगेकी म आफैंलाई भने आफैंसँग डर थियो । 

मेरो कारणले घरमा अरुलाई सङ्क्रमण नहोस् भनेर सचेत थिएँ । गाउँघरमा कसैको घरमा गइनँ । आफ्नो घरमा पनि खाना खाँदा होस् या बारीमा काम गर्दा म आफैं सचेत भएर दूरी कायम गरेँ । टीका लगाउँदाबाहेक अरुबेला ७० वर्ष लाग्नुभएका हजुरबुवाको छेउमा परिनँ ।

काठमाण्डौ छँदा म सोच्थें, योपालि त घरमा पनि कोही टीका लगाउन नआउलान् । तर यस्तो काठमाण्डौमा हुनेले मात्र सोच्ने रहेछन् कि जस्तो लाग्यो । घरमा आउनुपर्ने आफन्त सबै आए ।

तर गाउँमा दशैँको रौनकमा कोरोनाले कति पनि असर गरेको देखिनँ । काठमाण्डौबाट जानेहरुको मुखबाट मास्क उत्रिसकेको थियो । काठमाण्डौमा जस्तो आफ्नै कोठामा बस्ने, अरुकोमा नजाने, अरुलाई पनि नबोलाउने र भेटघाट नगर्ने नियम त काठमाण्डौमा मात्र रहेछ । काठमाण्डौमा त्यही नियम मानेर गाउँ पुगेकाहरु निस्फिक्री गाउँ डुलेका, आफन्त भेट्ने साथीभाइ जम्मा हुने, रक्सी पिउने, तास खेल्ने, नाचगान गरिरहेका थिए । 

बुझेर हो या नबुझेर मेरो गाउँ सिन्धुलीमा सहरबाट गएकालाई स्वागत गर्न आफन्त र गाउँलेहरु हिच्किचाएको देखिनँ । 

काठमाण्डौ छँदा म सोच्थें, योपालि त घरमा पनि कोही टीका लगाउन नआउलान् । तर यस्तो काठमाण्डौमा हुनेले मात्र सोच्ने रहेछन् कि जस्तो लाग्यो । घरमा आउनुपर्ने आफन्त सबै आए ।

हुन त ठाउँ अनुसार नागरिक सचेत होलान् । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा अपनाएकै होलान् । तर मेरो गाउँमा भने न मास्क, न त भौतिक दूरी । यस्तो लाग्यो,  कोरोनाको कहर त मास्क लगाउने सहरमा मात्र रहेछ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया