शैलुङको मालिक को ? : शारदा कि प्रचण्ड !

 कात्तिक १८, २०७७ मंगलबार १६:४५:२२ | हरिराम शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

केही मानिसलाई आरोप र असामाजिक कुरा लाग्ला, तर केही वर्ष, केही महिना र केही दिनको चिन्तनपछि सामाजिक सञ्जालमा भन्न मन लागेको कुरा हो यो ।  

शैलुङ कन्सट्रक्शनका मालिक शारदा अधिकारी हुन्, यो कागजातले देखाउने कुरा भयो । तर अधिकारीका पनि मालिक चाहिँ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन्, यो चाहिँ व्यवहारले प्रमाणित गरेको कुरा हो । 

यसका प्रमाण र आधार धेरै छन् तर सानातिना तीन वटा उदाहरण नै पर्याप्त होलान् ।

१. लाजिम्पाटबाट प्रचण्ड शैलुङ कन्सट्रक्शनका नाममा रहेका अधिकारीका धेरैवटा घरमध्ये खुमलटारको घरमा सरेपछि चार वर्षदेखि अलपत्र सडक शैलुङले तत्काल तोडफोड गर्‍याे, फराकिलो बनायो र तत्काल रातरातभर लगाएर कालोपत्रे गर्‍याे । तर त्यहाँबाट दक्षिणको सडक भत्काएर अलपत्र छाडेको दुई वर्ष भइसक्यो । अब प्रश्न उठ्छ : शारदाप्रसाद अधिकारी नै शैलुङको असली मालिक हुन् भने प्रचण्ड बस्ने घरसम्म कालोपत्र गरेर बाँकी रहेको तीन किलोमिटरभन्दा कम सडकमा किन कुनै काम भएन ? सुनाकोठीका बासिन्दाले सडकै बन्द गरेपछि असोजभित्र पूरा गर्छु भनेर हिँडेका शैलुङका कर्मचारी किन अहिलेसम्म हराइरहेका छन् ?

२. वसन्त नेम्वाङ मन्त्री भएपछि धेरैतिरका सडक कालोपत्रे भए तर ढोलाहिटी, सुनाकोठी र ठेचोबीचको चार किलोमिटरभन्दा कम सडक कालोपत्र गराउन सकेनन् । मन्त्री नेम्वाङ यो सडकको कुरा आउनासाथ यो सडक मेरो बुताभन्दा परको हो भन्छन् रे ! आम मान्छेको सरल बुझाइ के हो भने शारदा अधिकारी मन्त्री नेम्वाङभन्दा बुतावाल होइनन् । मन्त्री नेम्वाङको बुतामाथि नेपालमा अहिले उनको पार्टीका दुई अध्यक्षमात्रै छन् भन्ने कुरा घाम झैँ उज्यालो छ । मन्त्री नेम्वाङले शैलुङका कानुनी मालिक शारदा अधिकारीबाट काम लिन नसकेको हो कि शैलुङका व्यावहारिक मालिक नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबाट ?

३. शैलुङ कन्सट्रक्शनकै नाममा सुनाकोठीको सिभिल होम्सको कोलोनीमा एउटा घर छ, जहाँ पहिले प्रचण्डका स्वर्गीय पुत्रप्रकाश र उहाँकी पत्नी विना मगरको बसोवास थियो । अहिले त्यो घरमा खानेपानी मन्त्री विना मगरले बसोवास गरेको देखिन्छ । तर घर अहिले पनि कानुनीरुपमा शैलुङ कन्सट्रक्शनकै नाममा छ । शैलुङ्को नाममा रहेको एउटा घर कार्यकारी अध्यक्षकी बुहारीले चलाउने, शैलुङका कानुनी मालिक अधिकारीको घरमा कार्यकारी अध्यक्ष आफै बस्ने भएपछि हकभोगका दृष्टिले शैलुङको असली मालिक अधिकारी कि प्रचण्ड भन्ने प्रश्न स्वतः खडा हुन्छ ।

४. काम नगरेबापत अरु दण्डित हुन्छन् तर शैलुङ कहिल्यै दण्डित हुँदैन । त्यसमाथि राज्य कोषबाट अर्ब–अर्बका सडक र मलका ठेक्का शैलुङले पाएको पाएकै छ, सिन्को भाँच्ने काम नगरे पनि ढोलाहिटी, सुनाकोठी हुँदै ठेचोसम्मको चार किलोमिटर सडक बनाउन ठेक्का लिएको ६ वर्षमा पनि काम नसक्ने शैलुङ तर काम नगरे पनि निरन्तर ठेक्कामाथि ठेक्का पाइरहने पनि शैलुङ ।

राज्यको यत्रो रकम शैलुङका कानुनी मालिक शारदाको खातामा जान्छ यो सबैलाई थाहा छ तर हकभोग चाहिँ कसले गरिरहेको छ र सबैतिरका काम अलपत्र परेका हुन् ? अनि काम अलपत्र पारिरहने शैलुङलाई प्रधानमन्त्री रहेका अर्का अध्यक्षले राज्य कोषबाट निरन्तर ठेक्का दिएर अर्का कार्यकारी अध्यक्षलाई पालनपोषण गर्ने खर्चवर्चको जोहो गरिरहनुभएको हो भन्ने कुरा पनि उहाँहरुको पार्टीको चुनाव चिह्न जस्तै छर्लङ्ग छ ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया