खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बाग्लुङ - वर्षा रोकिएर हिउँदको सुरु भएसँगै बागलुङका अधिकांश टापुहरु मनमोहक देखिएका छन् ।
कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका बस्तीका सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । साविकका जिल्ला विकास समितिको पहुँच कम हुँदा प्रतिफल लिन सकिने जिल्लाका कयौं टापुका नत प्रचार हुन्थ्यो नत प्रवर्द्धन नै ।
राज्यको पुनः संरचना भएर गठन भएका पालिकाले आफ्ना क्षेत्रका यस्ता टापुका पहिचान, प्रचार र प्रवर्द्धन थालेका छन् । बाग्लुङमा यस्ता टापुका प्रवर्द्धनमा युवा पुस्ताको सक्रियता पनि लोभलाग्दो छ । केही दिनअघि पत्रकार र पर्यटन प्रवर्द्धनमा सक्रिय ‘घुमन्ते समूह’मा आबद्ध युवा समूह जिल्लाको जैमिनी नगरपालिका-७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोट पुग्यो ।
त्यहाँबाट देखिने हिमश्रृंखला र सूर्योदयको चर्चा सेलाएको छैन । घामको सुनौलो किरण हिमालमा पोखिँदाको दृश्यले युवालाई लालाहित बनायो । उनीहरु फर्किएपछि पस्किएका सामग्रीले हाँडीकोट पुग्ने इच्छा देखाएको बताउनुहुन्छ पत्रकार, सज्जनकुमार सिंह ।
पर्यटनको प्रबल सम्भावना भएर पनि हाँडीकोट ओझेलमा परेको उहाँको भनाइ छ । पर्यटकीय हाँडीकोटबाट सूर्योदय र सूर्यास्तसँगै मनोरम हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भू-भाग देखिन्छन् ।
जडिबुटी, वन पैदावर, दुर्लभ चरा र वन्यजन्तुको बासस्थान हाँडीकोटको अर्को विशेषता हो । दुई हजार १९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीय बताउँछन् ।
जैमिनीले पदमार्ग र सडक मार्गमार्फत हाँडीकोट जोड्ने प्रयास गरेको छ । हरेक वर्ष पदमार्गको लागि लगानी भैरहेको र बृहत योजना बनाएर हाँडीकोट विकासमा लागेको नगर उपप्रमुख लिला राना बताउनुहुन्छ ।' यो जैमिनीको आर्थिक समृद्धिको आधार पनि हो', उहाँले भन्नुभयो ।
बागलुङको बरेङ, गुल्मीको कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाको सिमानामा पर्छ कौडेको धुरी । हाँडीकोट जस्तै कौडेको धुरी पनि सूर्योदय र हिमश्रृंखला देखिने दक्षिण बागलुङको अर्को टापु हो । केही दिनअघि त्यही टापुबाट पहिलोपटक बरेङ गाउँपालिका स्वास्थ्य संयोजक पदमबहादुर पुनले सूर्योदय देख्नुभयोे ।
दुई हजार १०० मिटरको उचाइमा रहेको सिग्दी ‘होम स्टे’देखि करिब दुई घण्टाको पदयात्रापछि कौडेको धुरी पुगिन्छ । बिहान ६ बजेर १९ मिनेटमा कौडे पुगेका पुनलगायत युवाले पूर्वी छितिजमा उदाएको सूर्य र पश्चिम क्षितिजमा अस्ताउँदै गरेको चन्द्र एकैपटक देखे, जुन दृष्य निकै मनमोहक थियो ।
पछिल्लो समय कौडेमा पुग्न चाहनेको निकै ठूलो जमात छ । त्यहाँबाट पर्वत, स्याङ्जा, पोखरा, पाल्पा, बुटवल, अर्घाखाँचीसम्मका भू-भाग देखिन्छन् । कुनै बेला बाइसे/चौबिसे राजाले त्यस क्षेत्रबाट शासन चलाएको इतिहासमा उल्लेख छ भने लडाइँ गर्दा आफूहरु सुरक्षित रहने बङ्करहरु र आफ्ना सेनाहरु परेड खेल्ने ठाउँको अवशेष पनि रहेको छ ।
जडीबुटी र वन पैदावरका दृष्टिले पनि कौडेको धुरी धनी छ । दुर्लभ चराचुरुङ्गी र मृग, बँदेलजस्ता वन्यजन्तुको बासस्थान रहेको तथा २ हजार ६५० मिटरको उचाइमा अवस्थित कौडेको लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको स्थानीय बताउँछन् । बरेङ गाउँपालिकाले कौडेको विकासका लागि हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ ।
'विनियोजित रकमले पदमार्ग निर्माण गरिएको छ तर पर्याप्त भएन', सिग्दी सामुदायिक घरबासका अध्यक्ष हिराबहादुर पुन भन्नुहुन्छ,'यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी, शौचालय र खाजा खानेसम्म ठाउँ छैन, होमस्टेदेखि नै व्यवस्था मिलाउने गरेको छ ।'
स्थानीय सरकारको लगानी र युवाको सक्रियताले पर्यटकीय टापुहरुको बिस्तारै प्रचारप्रसार र पहिचान हुन थालेको कौडेको धुरी पुग्नुभएका प्रकाश छन्त्याल बताउनुहुन्छ । 'अथाह सम्भावना छन्, तर बेवास्ता भैरहेको छ', छन्त्याल भन्नुभयो्,'कौडे र हाँडीकोटजस्ता धुरी बिदा मनाउनेका लागि उपयुक्त गन्तव्य हुन् ।'
सरकारका तीनै तहले यस्ता पर्यटकीय क्षेत्रमा लगानी बढाउनुपर्ने घरबासका अध्यक्ष पुन बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।