शिकारीले मारे चार गैँडा

 कात्तिक २२, २०७७ शनिबार १७:५९:१७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चितवन राष्ट्रिय निकुञ्जमा साउनयता  शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार  शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।
  
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृतावस्थामा फेला परेको थियो । टाउकामा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र त्यस क्षेत्रमा माउ र बच्चा गलेका अवस्थामा फेला परेको छ ।

दुवैको खाग तस्करले लगेको बरालले बताउनुभयो । एउटै समयमा तस्करको आक्रमणको निशानामा तीन वटै गैँडा परेको अनुमान छ । माउ र बच्चाको खाग लगेकोे भए पनि अर्को गैँडाको लान नसकेको बताइन्छ । यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर मात्र फेला परेको छ । बरालले झण्डै छ महिनाअघि तस्करले मारेर खाग लगेको हुन सक्ने बताउनुभयो । सो गैँडा गएकाे आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीको अनुमान छ ।

निकुञ्जमा  शिकारीले  चार वर्षयता गैँडा मार्न सकेका थिएनन् । विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए । गएकाे वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए ।

निकुञ्जमा  शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशनसमेत दिनुभएको छ । बरालले भन्नुभयो, “हामीले दक्ष जनशक्ति माग गरेका छौँ ।” सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । एकाएक  शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ ।

प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिनुभयो । निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उहाँको भनाइ छ । निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ ।

सन् २०१५ को गणनानुसार नेपालमा ६ सय ४५ गैँडा  छन् । यसमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन् । त्यस वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा  शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया